बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

घिचुवा ज्वाइँ र गँड्याहा सासू

आइतबार, १४ मङ्सिर २०७७, ०७ : १८
आइतबार, १४ मङ्सिर २०७७

एउटा गाउँमा बडेमानको गाँड भएकी एउटी बूढी थिई । उसका आफ्नो भन्नु एउटी छोरी र एक जना ज्वाइँ मात्र थिए । तिनीहरू पनि परदेश गएका थिए । बूढीको लोग्ने पहिले नै मरिसकेको थियो । बूढी एक्लै एउटा छाप्रोमा बसेर दुःखसुख गरी खाइरहेकी थिई ।

एक दिन गाउँमा ठूलो हुन्डरी मच्चियो । बूढीको छाप्रो पनि हावाले उडाएर भताभुङ्ग पारिदियो । बूढी घरबारविहीन भई । बूढीले गाउँका सबै मानिसहरूकहाँ गएर हात जोड्दै रुँदै आफ्नो दुःख बेसाई– “लौन बाबा ठाकुरे हो । मलाई ओतसम्म लाग्न हुने एउटा कटेरो उभ्याइदेओ, मलाई विपत्ति प–यो । लौन मेरा विधाता हो, म शरण परेँ ।”

यस अवस्थामा गाउँका सबै मानिसहरूले बूढीको उद्धार गर्नु नै आफ्नो धर्म ठाने । कसैले वनको लाथ्रो, कसैले ढुङ्गा, कसैले बाँस, कसैले के, कसैले के गरेर हारगुहार गरी बूढीको निमित्त एउटा ससानो घरजस्तो बनाइदिए । बूढी खुसी भई फेरि खेतीपाती गरेर खान थाली ।

धेरै दिनपछि बूढीका छोरीज्वाइँ परदेशबाट आइपुगे । ती छोरीज्वाइँ दुवै एक दिन बूढीलाई भेट्न आए । त्यो दिन छोरीज्वाइँलाई बूढीले खुसी हुँदै खानेपिउने कुराको बन्दोबस्त गरी ।

भात खाने बेला भयो । बूढीले पहिले ज्वाइँलाई भात पस्की र लाजले खास्टोले गाँड छोपछाप पारेर ज्वाइँलाई भान्सामा डाकी– “ज्वाइँ ! भान्सा गर्न आउनुहोस् ।” भोकले आकुलव्याकुल भएको ज्वाइँ खबर पाउनासाथ खुसी भएर हातखुट्टा र मुख धोई भान्सामा गयो । बूढीले भातको थाल अगाडि सारिदिई । ज्वाइँ सपासप भात खान थाल्यो । चार गाँसमै उसले एक थाल भात सक्यो । बूढीले फेरि भात थप्दै भनी– “ज्वाइँ अलिकति भात थपूँ कि ?” ज्वाइँ चाहिँले भन्यो, “अलिकति मात्र” तर बूढीले बडाबडा दुई डल्ला भात ज्वाइँको थालमा लडाइ दिई । ज्वाइँ चाहिँ फेरि बोल्दै नबोली भकाभकी खान थाल्यो ।

फेरि चार गाँस खाँदा थालको भात सकियो । बूढी मनमनै भन्नथाली– “छिः कस्ता घिचुवा ज्वाइँ ? जति खाए पनि नअघाउने । तीन जनालाई भनेर पकाएको भात सकिन आँटिसक्यो ।” बूढी अफ्ठ्यारोमा परी । अब के थप्ने ? भाँडामा पनि भात सिरीखुरी हुन आँटिसक्यो, ज्वाइँलाई पुगेको छैन । बूढीले भात थप्ने विचारले फेरि सोधी– “ज्वाइँ भात थपूँ कि ?” यति नै बेला ज्वाइँ चाहिँलाई एक्कासि पुइँक्क पाद आयो । लाज मान्दै उसले भन्यो– “खोइ सासू, आज मलाई के भो ! पेट अलि गडबढ भएको छ । यो भुइँको सर्दी घुस्यो कि ? खान पनि बडै रुचेन । अलिकति थप्नुस् त ।” बूढीले बडाबडा दुई डल्ला भात थालमा लडाइ दिई । ज्वाइँ चाहिँ फेरि भकाभकी खान थाल्यो ।

बूढीलाई मनमनै झोँक चल्न थाल्यो, आफ्नो अपमान गरेर ज्वाइँले पादेकोमा । एक मनले ज्वाइँलाई सर्दी नै लागे छ कि ? भन्ने पनि ठानेर ऊ चुपै लागी । बूढीले हेर्दाहेर्दै फेरि ज्वाइँको थालमा भात सकियो । अब भने बूढीलाई आच्छु आच्छु प–यो । अब के गर्ने ? थपूँ भने भाँडामा भात सकिइ सकेको थियो । बूढीको पालो जुक्ति खियाई । मुखले भात सकियो नभनेर उसले भाँडा बजाएर जनाउ दिई । उसले डाडुपनिउँले भाँडा बजाउन थाली । भाँडाको त्यति आवाज आएपछि बल्ल ज्वाइँले भात सकिएको खबर पाएजस्तो ग–यो । अनि उसले यताउति हेर्दै अघाउन्जेल भात खान नदिएको झोँक निकाल्दै भन्यो– “सासू यो घर बनाउन कति दिन ल्याग्यो ?” बूढीले भनी– “दुई हप्ता ज्वाइँ !” फेरि ज्वाइँ चाहिँले सोध्यो– “अनि काठपात कुन जङ्गलको ल्याउनुभयो ? अनि बनाउनेहरू को नि सासू ?” बूढीको पालो भनिदिई– “त्यही घिचुवा वनको काठपात, बनाउने चाहिँ पदुवाहरू नै थिए ।” ज्वाइँ चाहिँको पालो भनिहाल्यो– “अनि त घर यस्तरी गाँडेगुँडे भएछ त ।”

सासू र ज्वाइँको यति भनाभन भएपछि दुवैजना त्यहाँबाट उठेर भागे । त्यसपछि सासू र ज्वाइँको भेट भएन ।

(यो लोककथा तुलसी दिवसद्वारा सम्पादित, नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित नेपाली लोककथा २०३२ बाट साभार गरिएको हो ।)

तुलसी दिवसको परिचय

तुलसी दिवसको जन्म विसं १९९८ साउनमा धनकुटा जिल्लास्थित ठाडो बजारमा भएको हो । उनी पिता महाप्रसाद जोशी र माता चण्डिकादेवीको कोखबाट जन्मिएका हुन् । उनका आमाबुबाले राखिदिएको नाम भने तुलसीप्रसाद जोशी हो । धनकुटाको गोकुण्डेश्वर हाइस्कुलबाट अध्ययन सुरु गरेका उनले धनकुटा डिग्री कलेजबाट नेपाली साहित्यमा स्नातकोत्तर गरेका थिए । त्यसपछि जापान तथा अमेरिकाका विभिन्न विश्वविद्यालयबाट भाषा, संस्कृति र लोकसाहित्यका क्षेत्रमा विशेषज्ञता हासिल गरे । उनले त्रिचन्द्र कलेज र पद्मकन्या क्याम्पसमा लामो समय प्राध्यापन गरे । साथै विभिन्न देशक महत्त्वपूर्ण पदमा रही भाषा र संस्कृतिका क्षेत्रमा काम गरेका छन् । उनी संस्कृतिक काउन्सिलर दिल्ली, भारत), वर्ल्ड कङ्ग्रेस अफ पोएट्स (सदस्य), अथिति प्राध्यापक (टोकियो विश्वविद्यालय, जापान), ब्रिटिस काउन्सिलको भिजिटङ फेलो, जापान फाउन्डेसन फेलो प्राप्त गरेका छन् ।

तुलसी दिवसको विशेष खोजअनुसन्धानको क्षेत्र भनेको नेपाली लोकसाहित्य हो । उनले विभिन्न जातिका संस्कार र संस्कृतिका बारेमा खोज गरेका छन् । यसरी उनले नेपाली साहित्यको भाषालाई लोकभाषासँग सम्बन्ध स्थापित गराउन महत्त्वपूर्ण योगदान दिएका छन् । लोकसाहित्य क्षेत्रका उनका कृति निम्न छन् :

नेपाली लोक कथा (२०३२),

नेपालका बाजाहरू (२०३४)

नेपाली लोककथा केही अध्ययन (२०३५)

प्रदर्शनकारी धिमाल लोक संस्कृति (२०३५)

धिमाल लोकधर्म र संस्कृति (२०३९)

तुलसी दिवसका कविता (२०४०)

फोकटेल्स फ्रम नेपाल (सन् १९९७)

तुलसी दिवसकी कविताएँ (न्युदिल्ली, सन् १९९७) ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तुलसी दिवस
तुलसी दिवस
लेखकबाट थप