बुधबार, १० पुस २०८१
ताजा लोकप्रिय

सडेको अवस्थामा किशोर र किशोरीको शव फेला

शनिबार, १५ कात्तिक २०७७, ११ : २६
शनिबार, १५ कात्तिक २०७७

कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ मालुमेलास्थित जङ्गलमा आज बिहान दुई जनाको शव भेटिएको छ । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार जङ्गलमा कैलालीको गोदावारी नगरपालिका–११ का १५ वर्षीय टेकबहादुर कोली र १६ वर्षीय सीता साउदको शव भेटिएको हो ।

दुवै जना गत असोज २८ गतेदेखि परिवारको सम्पर्क बाहिर रहेको र आज बिहान जङ्गलमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए। 

“दुवै जना २८ गतेदेखि परिवारको सम्पर्क बाहिर रहेको बुझिन आएको छ” प्रवक्ता थापाले भने, “ घटनास्थल नजिकै सल्फास नामक विषादीको बट्टा पनि भेटिएको छ ।” 

घटनाको विस्तृत अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय झलारी र कृष्णपुरको गुलरीया प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ । प्रहरीले कोलीको शव सडिसकेको अवस्थामा भेटिएको जनाएको छ ।

त्यसैगरी,  कञ्चनपुरको महाकाली नदीमा आज बिहान भीमदत्त नगरपालिका–६ का २३ वर्षीय सरोज चौधरीको शव भेटिएको छ । गत मङ्गलबार साथीहरुसँग दोधारा चाँदनी झोलुङ्गे पुल घुम्न गएका बेला नुहाउने क्रममा चौधरी बेपत्ता भएका थिए ।

प्रहरी प्रवक्ता थापाका अनुसार झोलुङ्गे पुलबाट करिब दुई सय मिटर दक्षिण चौधरीको शव भेटिएको हो । बेपत्तापछि प्रहरी र स्थानीयवासी खोजी कार्यमा जुटेपनि चौधरीको अवस्था पत्ता लगाउन सकेका थिएनन् । 

आज बिहान भने नदीमा माछा मार्ने क्रममा शव भेटिएको हो । प्रहरीले आवश्यक कानूनी प्रक्रिया पूरा गरेर शव आफन्तको जिम्मा लगाउने जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप