शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लम्साल दाजुभाइले बनाए स्वचालित सेनिटाइजर मेसिन : रोबोटपछि अर्को फड्को

शुक्रबार, १४ कात्तिक २०७७, १९ : ३७
शुक्रबार, १४ कात्तिक २०७७

बुटवल । गत वर्ष रोबोट बनाएर चर्चा कमाएका बुटवलको कालिका मानवज्ञान माविमा अध्ययनरत लम्साल दाजुभाइले विद्यालय बन्द भएको समय सदुपयोग गर्दै स्वचालित सेनिटाइजर मेसिन बनाएका छन् । कक्षा १० मा अध्ययनरत विशाल लम्साल र कक्षा १२ का कपिल लम्सालले लकडाउनको अवधिमा स्थानीय बजारमै पाइने कच्चा पदार्थ प्रयोग गरेर स्वचालित सेनिटाइजर मेसिन बनाएका हुन् ।

गुल्मी मालिका गाउँपालिका–६ फूलबारीबाट अध्ययनका लागि बुटवल आएका कपिल र विशाल लम्सालले अध्ययनसँगै प्रविधि निर्माणमा आफ्नो प्रतिभा प्रस्फुटन गरेका हुन् । लम्साल दाजुभाईले गतवर्ष नेपाली, हिन्दी र अंग्रेजी भाषामा बोल्न सक्ने, हिँडडुल गर्ने र इलेक्ट्रोनिक पङ्खा, बिजुली बत्ती अफ/अन गर्न सक्ने ईरिसा रोबोट बनाएका थिए ।

स्कुल बन्द भएको समयलाई अवसरको रूपमा परिणत गर्दै कोरोना संक्रमणको यो परिस्थितिमा अत्यावश्यक सामान बनाएको कपिल लम्सालले रातोपाटीलाई बताए । ‘गतवर्ष हामीले रोबोट बनाएका थियौँ । अहिले स्थानीय कञ्चा पदार्थ प्रयोग गरेर स्वचालित सेनिटाइजर मेसिन बनाएका छौँ,’ उनले भने ।

उनीहरुलाई स्वचालित सेनिटाइजर मेसिन बनाउन कालिका मानवज्ञान माविले सुरुमा सहयोग गरेको थियो । अहिले व्यावसायिक रुपमै उत्पादन गर्न थालेको र बजारमा सेनिटाइजर मेसिनको माग भईरहेको उनले रातोपाटीलाई बताए । कालिका माविका शिक्षक युवराज कँडेलले प्रतिभाशाली दाजुभाइलाई विद्यालयले सक्दो सहयोग गरेको बताए ।

लम्साल दाजुभाइले बनाएको सेनिटाइजर मेसिनको माग अहिले विभिन्न गाउँपालिकामा भईरहेको छ । ३ देखि १० हजार रुपैयाँसम्म मूल्य पर्ने उक्त मेसिन गुल्मीमा ५ वटा बिक्री भइसकेको छ भने अझै ६ वटाका लागि अर्डर आएको उनीहरु बताउँछन् । हाल गुल्मी मालिका माध्यमिक विद्यालय, अर्जै माध्यमिक विद्यालय, फुलबारी प्राथमिक विद्यालय, धुर्कोट गाउँपालिका, मालिका गाउँपालिका–६, अर्जै स्वास्थ्य चौकीमा उक्त मेसिन जडान गरिएको कपिलले बताए । रुपन्देहीका विभिन्न विद्यालयमा समेत आफूहरुले बनाएको मेसिन प्रयोग भएको उनको भनाइ छ ।

कसरी बनाउछन् मेसिन ?

कोरोना संक्रमणबाट जोगिने उपायस्वरुप लम्साल दाजुभाइले एकमहिनाको प्रयासमा विद्युतबाट चल्ने स्वचालित मेसिनमा आफ्नै आईडिया प्रयोग गरेका हुन् । ६ इन्चको पीभीसी पाइप काटेर डिजाइन निकाली त्यसमा मोटर जोडेर अल्ट्रासोनिक सेन्सरसहित आडिनो आईसी प्रोग्रामिङ गरेर उक्त मेसिन तयार गरिएको कपिलको भनाइ छ । 

उक्त मेसिनमा साढे २ लिटरदेखि ५ लिटरसम्म सेनिटाइजरको झोल राख्न सकिन्छ ।कोरोना संक्रमणको जोखिमको बेलामा सेनिटाइजरको बोतल नछोई हात सेनिटाइज गर्न सकियोस् भनेर स्वचालित मेसिन बनाएको उनीहरुको भनाइ छ ।

सेनिटाइजरबाहेक स्याम्पु, साबुनलगायतका तरल पदार्थ झार्नका लागि समेत यो मेसिन उपयोगमा ल्याउन सकिने उनीहरु बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप