शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बंगलादेशको मलः ‘आकाशको फल, आँखा तरी मर’

शुक्रबार, १४ कात्तिक २०७७, १६ : १०
शुक्रबार, १४ कात्तिक २०७७

काठमाडौँ । मुलुकमा रासायनिक मलको अभाव भइरहेको समयमा सरकारले बंगलादेशबाट युरिया मल सापटी ल्याउने निर्णय ग¥यो । तर उक्त निर्णय भएको महिनौँसम्म पनि किसानका लागि बंगलादेशको मल ‘आकाशको फल, आँखा तरी मर’ भनेसरह भइरहेको छ ।

धान बालीका लागि युरिया मलको अभाव हुँदा सरकारले बंगलादेशबाट सापटीस्वरुप मल ल्याएर भएपनि किसानलाई उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो । त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीदेखि लिएर कृषि तथा पशुपक्षी विकास मन्त्री घनश्याम भुसालले पनि जोडबल गरेका थिए ।

तर किसानले अहिलेसम्म पनि मल पाउन सकेका छैनन् । धान बालीका लागि ल्याउने भनिएको युरिया मल धान भित्र्याउने बेलासम्म पनि आइपुगेको छैन । यतिबेला धान काटेर गहुँ छर्ने बेला भएको छ । बंगलादेशको मल गहुँ छर्ने सिजनमा पनि नआउने देखिएको छ ।

कृषि मन्त्रालयले बंगलादेशबाट मल ल्याउन बल्ल प्रक्रिया सुरु गरेको छ । गत भदौ १६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशका प्रधानमन्त्री शेख हसिनासँग टेलिफोन वार्ता गर्दै युरिया मल पैंचोमा ल्याउने सहमति गरेका थिए । त्यसपछि कृषि मन्त्री भुसालले बंगलादेशबाट १५ दिनभित्र मल ल्याउने प्रतिक्रिया दिएका थिए ।

असोज १ गते बसेको मन्त्रिपरिषद्को बैठकले बंगलादेशबाट मल ल्याउन कृषि मन्त्रालयलाई सहमति दिएको थियो । मन्त्रिपरिषद्ले सहमति दिएको पनि डेढ महिना भइसक्यो तर बल्ल मन्त्रालयले प्रक्रिया सुरु गरेको छ ।

मन्त्रालयका एक सहसचिवका अनुसार बंगलादेशबाट मल ल्याउनका लागि औपचारिक सहमति हुन बाँकी छ । मन्त्रिपरिषद्ले मल ल्याउन सहमति दिए पनि बंगलादेशसँग सहमतिपत्रमा हस्ताक्षर हुन बाँकी छ । सहमतिपत्रको ड्राफ्ट बिहीबारमात्र कानुन मन्त्रालयमा पठाइएको छ । कानुन मन्त्रालयले सहमति दिएपछि मात्र बंगलादेशलाई सो पत्र पठाएर औपचारिक रुपमा हस्ताक्षर हुन्छ । दुवै देशबीच सम्झौतापत्रमा हस्ताक्षर भएपछि मात्रै सापटीको मल बंगलादेशबाट ल्याउने प्रक्रिया सुरु हुन्छ ।

यता कृषि सामग्री कम्पनी लिमिटेडले टेण्डर गरी मल ल्याउने कम्पनी चयन गरिसकेको छ । मल ल्याउने सम्बन्धमा दुई सरकारबीच सम्झौतापत्रमा हस्ताक्षर नहुँदै कृषि सामग्री कम्पनीले मल ढुवानी गर्ने कम्पनी चयन गरेको हो ।

दुवै देशका प्रधानमन्त्रीस्तरमा सापटी मलको विषयमा कुराकानी भए पनि कृषि मन्त्रालय अन्तर्गत प्रक्रियागत विषय टुंगिएको थिएन । दुई मन्त्रालयबीच कुरा टुंगिन बाँकी रहेकै बेला बंगलादेशबाट ५० हजार मेट्रिक टन मल तत्कालै आउँदैछ भनि हल्ला सुरु भयो । तर बगंलादेशको कृषि मन्त्रालयले केही दिन अघिमात्र सापटीमा मल दिने सहमति जनाएको छ । प्रधानमन्त्रीस्तरमा कुरा भए पनि बंगलादेशको कृषि मन्त्रालयले सापटीमा मल दिन चाहेको थिएन किनकि बंगलादेशसँग पनि पर्याप्त मल थिएन । नेपालले आफ्नो मल खरिद गरोस् भन्ने बंगलादेशको चाहना थियो । बंगलादेशको कृषि मन्त्रालयले नेपाललाई मल बिक्रीकै पहल गरेको थियो ।

कृषि मन्त्रालयले सापटीमा मल ल्याउन मन्त्रिपरिषदले सहमति दिएको हुनाले अहिले नै खरिद गर्ने अवस्था नरहेको जानकारी बंगलादेशको कृषि मन्त्रालयलाई पठाएको थियो । त्यसपछि बल्ल बंगलादेशले नेपाललाई सापटी दिने मल खरिद गरेको छ । नेपाललाई दिने मल खरिद गरेर ठिक पारेपछि मात्र बंगलादेशले नेपालसँग सम्झौतापत्रमा हस्ताक्षर गर्न लागेको हो ।

सबै प्रक्रिया पुरा भएपछि कम्तीमा १५ दिनदेखि एक महिनाभित्रमा बंगलादेशबाट मल नेपाल आइपुग्ने मन्त्रालयको दाबी छ । यो मल आइपुग्दा सम्भवतःगहुँ तथा तरकारी बालीका लागि पनि प्रयोग गर्नुपर्ने समय टरिसक्ने देखिएको छ । यो मल आगामी वर्ष धानका लागि नै प्रयोग हुने सम्भावना रहेको मन्त्रालय स्रोतको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप