केन्द्रीय संस्करण
कोरोना अनुभव

स्वाब परीक्षणमै लापरवाहीको यो हद, अनि किन नबढोस् कोरोना संक्रमितको संख्या !

सरकारको लाचारीले संक्रमण घट्ने होइन, दिन दुगुना रात चौगुना बढ्नेमा कुनै शंका छैन ।

person explore access_timeकात्तिक १४, २०७७ chat_bubble_outline0

 

 

 

नवरात्रिको तेस्रो दिन अर्थात् कार्तिक ३ गते सोमबार हिन्दु धर्मावलम्बीहरुको घर–घरमा एवं मन्दिरमा दुर्गा भवानीका ९ रुपमध्येको एक अर्थात् चन्द्रघण्टा देवीको पूजाअर्चना हुँदै थियो । मजस्ता कोरोनाले भेटेकाहरु संक्रमणमुक्त हुने दिनको प्रतीक्षामा थियौँ । होम आइसोलेशनमा बसेको पनि १६ दिन भइसकेको थियो ।

दसैँ भित्रिसकेका कारण कोरोनामुक्त भएर दसैँ मनाउने सोच थियो र पुनः परीक्षण गराउन अलि विश्वासिलो ल्याब कुन होला भन्दै इन्टरनेटमा खोज्न थालेँ ।

टेकुस्थित सेन्ट्रल ल्याबको लाइन छिचोलेर परीक्षण गराउन सक्ने ताकत शरीरमा थिएन । निजी ल्याब मै जाने निर्णय गर्दै लाजिम्पाटस्थित घर नजिकै रहेको सूर्य डाइग्नोस्टिक सेन्टरमा फोन लगाएँ । ‘अहिले हामीले तिनकुनेस्थित कान्तिपुर हस्पिटलबाट स्याम्पल कलेक्सन गरेका छौँ, त्यहीँ गएर दिनुस्’ भन्ने जवाफ आयो । सोही अनुसार तिनकुने पुगेँ । त्यहाँ अस्पतालको गेटबाटै लाइन थियो, ४०/५० जना जति । ‘चोक्टा खान आएकी बुढी झोलमा डुबेर मरी’ झैँ भयो । आफैदेखि रिस उठ्यो । लाइन छल्न र संक्रमणको जोखिम कम गर्न भन्दै हिँडेकी म लगभग ३० मिनेटभन्दा बढी लाइनमा बसेँ । तर अन्य ल्याब, अझ सरकारी ल्याबमा भन्दा धेरै कम हो यो लाइन । नागरिकले घण्टौँ लाइन लाग्नुपर्ने पीडा झेल्दै आइरहेका छन्, जहाँबाट संक्रमणको जोखिमसमेत अत्याधिक हुन्छ ।

एउटा मास्क किनेर लगाउन नसक्ने जनता, जो दुई हजार तिरेर पिसीआर गरी विदेश जान लाग्दैछन् । मन भरिएर आयो । ती अनुहारको माया लाग्यो । मनमनै सरकारलाई धिक्कार्न थालेँ । सरकारले परीक्षण निःशुल्क गरिदिने हो भने जनताको कति कल्याण हुनेथियो होला ! अनि व्यापारका नाममा ‘पोजेटिभ र नेगेटिभ’को खेल पनि पक्कै कमी हुने थियो ।

यत्रतत्र मास्क फालिएको छ भने लाइनमा बस्ने कोही पिच्चपिच्च थुक्दै छन् । होइन, यस्तो गर्नु हुन्न भन्ने थाहा नभएको होला त यस्ता युवाहरुलाई ? कि थाहा भएर पनि हेलचक्य्राई हो यो ? कतिलाई भन्नु ! सबै उस्तै थिए । संक्रमित को, नसंक्रमित को, केही पत्तो थिएन । न दुरी कायम, न सबैले मास्क लगाएका । मास्क लगाउनेमध्ये पनि कतिले त चिउँडोमा लगाएका । कतिको नाकमुख पनि राम्रोसँग नढाक्ने खालको मास्क । भिडमा देखिएका प्रायः अनुहार विदेश जान कोरोना रिपोर्ट अनिवार्य भएकाले पिसीआर गर्न आएकाको थियो । एउटा मास्क किनेर लगाउन नसक्ने जनता, जो दुई हजार तिरेर पिसीआर गरी विदेश जान लाग्दैछन् । मन भरिएर आयो । ती अनुहारको माया लाग्यो । मनमनै सरकारलाई धिक्कार्न थालेँ । सरकारले परीक्षण निःशुल्क गरिदिने हो भने जनताको कति कल्याण हुनेथियो होला ! अनि व्यापारका नाममा ‘पोजेटिभ र नेगेटिभ’को खेल पनि पक्कै कमी हुने थियो ।

बाहिरै गार्डले फारम राखेका थिए । त्यहीँबाट फारम लिएर अरुसँगै मैले पनि भर्न थालेँ । फारममा व्यक्तिगत विवरण भर्नुपर्ने थियो । एकजना अधवैंसे पुरुष ‘मिलेर बस्नुस्’ भन्दै आए । ‘यहाँ दुरी कायम गर्नु पर्दैन ? यस्तै हो सधैँ ?’ भनेर मैले सोधेँ । ‘जहाँ गए पनि यस्तै हो हजुर’ भन्दै उनी यताउता गर्न थाले । उनी सायद कुनै म्यानपावरबाट पिसीआर परीक्षण गराउन पो आएका थिए कि ! पछि बाहिर निस्किएर ती पुरुषसँग कुरा गर्न खोजेँ तर उनी फेला परेनन् ।

गार्डले ४÷४ जनालाई भित्र पठाइरहेका थिए । मेरो पालो आयो । म संक्रमित थिएँ, त्यसैले मानिसहरुबाट छलिँदै अलि टाढा बस्ने कोसिस गरिरहेकी थिएँ । तर ठाउँ अलिकति खाली देखिनेबित्तिकै पछाडिका मानिस टाँसिने गरी नजिक आइपुग्थे । ‘अलि पर बस्नुस् न’ भन्दा कसले मान्ने ? सबैलाई छिटो स्वाब दिएर निस्किन नै हतार ।

भित्र पनि उही पारा । एकजना फटाफट जानुस् भन्दै कराउन थाले । उनलाई सोधेँ– पेमेन्ट कता गर्ने ? खै काउन्टर ?

अलि झोक्किदै उनले ‘भित्रै हुन्छ’ भने । न कुनै सूचना, न कुनै संकेत । एउटा ढोकाबाट छिर्ने, अर्कोबाट निस्किने रहेछ । ढोकामा रिपोर्ट संकलन र जानकारीका लागि भनेर फोन नम्बर टासिएको थियो र सँगैको भित्तामा ‘कोरोनाको लक्षण र यसबाट बच्ने उपाय’ बारेको जनचेतनामुलक पोस्टर टासिएको थियो ।

१० मिनेट कुरेपछि ल्याबमा छिर्ने पालो आयो । सोचेँ, यो भिडमा १० मिनेटमा मैले सतर्कता नअपनाएको भए कतिजनालाई सर्ने थियो होला ! हुन त १६ दिन आइसोलेशनमा बसेर जोखिमयुक्त समय पार गरिसकेकी थिएँ र ढुक्क थिएँ मबाट अरुलाई सर्दैन भनेर ।

स्वाब संकलन गर्ने कोठामा छिरेँ । कान्तिपुर अस्पतालको तल्लो फ्लोरको एउटा कोठा, त्यो अस्थायी स्वाब संकलन केन्द्र थियो । दुईजना नाम लेख्न र पैसा संकलनमा बसेका थिए । उनीहरुले मास्क, पन्जा र फेस सिल्ड लगाएका थिए । मेरो फारम, परीक्षण शुल्क लिए र एउटा भौचर दिए । मैले सोधेँ– तपाईहरुले कसरी ट्रयाकिङ गर्नुहुन्छ ? फारममा त म संक्रमित हो कि होइन अनि यो पहिलो, दोस्रो वा कतिऔं पटकको परीक्षण केही सोधिएको छैन, न तपाईहरुले विवरण लिनुभयो ?

अनिमात्र झस्किँदै उनीहरुले सोधे– तपाई बिरामी हो ?

मैले ‘हो’ भनेँ । मेरो फारममा कुन्नि के लेखे, अनि ‘भित्र गइहाल्नुस्’ भन्दै हतार गरे । त्यहाँबाट म अर्को ढोकाभित्र छिरेँ ।

कान्तिपुर अस्पतालको तल्लो फ्लोरको एउटा कोठा, त्यो अस्थायी स्वाब संकलन केन्द्र थियो । दुईजना नाम लेख्न र पैसा संकलनमा बसेका थिए । उनीहरुले मास्क, पन्जा र फेस सिल्ड लगाएका थिए । मेरो फारम, परीक्षण शुल्क लिए र एउटा भौचर दिए । मैले सोधेँ– तपाईहरुले कसरी ट्रयाकिङ गर्नुहुन्छ ? फारममा त म संक्रमित हो कि होइन अनि यो पहिलो, दोस्रो वा कतिऔं पटकको परीक्षण केही सोधिएको छैन, न तपाईहरुले विवरण लिनुभयो ? अनिमात्र झस्किँदै उनीहरुले सोधे– तपाई बिरामी हो ?

भित्र पिपीई लगाएका एकजना युवक र एकजना युवती खै के कुराकानी गरिरहेका थिए । तीनवटा फलामका कुर्ची थिए । एकातिर किटका खोलहरुको चाङ थियो भने अर्कोतिर अलि थोत्रो टेबल । स्वाब संकलन गर्ने भाँडो त्यहीँ थियो तर बिर्काे खुल्लै थियो । ‘बस्नुस्, उता हेर्नुस्’ भन्दै फटाफट नाकबाट स्वाब निकाले ती युवकले । पहिलोपटक स्वाब दिँदाभन्दा विल्कुलै फरक ढंगले लिइएको थियो । पहिला किटको एक भाग नाकभित्र ३० सेकेन्ड जति राखेर नहल्लाई निकालिएको थियो अनि थ्रोटको पनि लिइएको थियो । तर यो पटक स्वाब निकाल्न दुई सेकेण्ड पनि लागेन । अलि असहज भयो मलाई । उनीहरुलाई यो मेरो दोस्रो वा पहिलो परीक्षण केही थाहा छैन । स्वाब लिँदा पनि उनीहरुबीच गफ चलिरहेको थियो । मैले ‘यत्ति हो र ?’ भनेर प्रश्न गरेँ । ‘हो, भइसक्यो, फटाफट निस्किनुस्’ भने । अचम्म मान्दै म बाहिरिएँ । बाहिर लाइन उस्तै थियो ।

बाटोभरि मनमा कुरा खेल्यो, यतिधेरै संक्रमितको संख्या बढ्नुको पछाडि परीक्षण विधि नै प्रमुख कारण हो अनि दोस्रो वा तेस्रो पटक परीक्षण गराउनेलाई पनि बारम्बार संक्रमितको सूचीमा सामेल गराइरहनु अर्को कारण हो । मजस्ता कयौं मानिस होलान्, जो दोस्रो पटक परीक्षण गराइरहेका छन्, जो यसअघि नै संक्रमितको संख्यामा गणना भइसकेको छ । उसले पुनः परीक्षण गराएको हो भन्ने जनाउ नगरी रेकर्ड राख्ने हो भने पोजेटिभ रिपोर्ट आएको खण्डमा फेरि संक्रमितको संख्यामा उसको गणना दोहोरिने हुन्छ । मेरो देशको बेथिति कहिल्यै नहट्ने भयो । मनमनै आफ्नै देश र राज्यका जिम्मेवार टाउकाहरुलाई गाली गर्दै फर्किएँ ।

पुनः पोजेटिभ ?

साथीभाइ, आफन्त लगायत प्राय संक्रमितहरुले १४÷१५ दिनपछि रिपोर्ट नेगेटिभ आएको भन्दै सुनाउँथे । सोही आधारमा आफ्नो पनि नेगेटिभ रिपोर्ट आउनेमा ढुक्क थिएँ । सामान्य रुघाखोकी अनि थकानबाहेक अरु समस्या थिएन । यसले पनि ममा ‘अब निको हुन्छु’ भन्ने आत्मविश्वास थियो ।

स्वाब दिएको २४ घण्टा भइसकेकाले ल्याबको नम्बरमा तारन्तार फोन गरेँ । त्यहाँ दिइएकोमध्ये दुईवटा नम्बरमा फोन गयो तर उठेन । अन्य नम्बरमा सम्पर्क हुन सकेन । साँझ ५ बजेतिर बल्ल फोन उठ्यो र केही छिनमा रिपोर्ट आउने बताइयो । मैले आफ्नो भौचरमा रहेको रजिष्ट्रेसन नम्बरको आधारमा ल्याबको साइटमा गएर हेरेँ, रिपोर्ट पुनः पोजेटिभ । विश्वास गर्न अलि गाह्रो भयो ।

आइसोलेशनमा बसेको १७ दिन भइसकेको थियो । महामारी, क्वारेन्टिन, आइसोलेशन, संक्रमणलगायतबारे भएका अध्ययन अनुसन्धानबारे आफूले पनि अध्ययन गर्दै आइरहेकी थिएँ । चिकित्सक, विज्ञहरुसँग समाचार संकलन गर्दा कुराकानी भइरहेकाले अब मेरो शरीरमा रहेको भाइरस निष्क्रिय भइसकेकोमा म ढुक्क थिएँ ।

आइसोलेशनमा बसेको १७ दिन भइसकेको थियो । महामारी, क्वारेन्टिन, आइसोलेशन, संक्रमणलगायतबारे भएका अध्ययन अनुसन्धानबारे आफूले पनि अध्ययन गर्दै आइरहेकी थिएँ । चिकित्सक, विज्ञहरुसँग समाचार संकलन गर्दा कुराकानी भइरहेकाले अब मेरो शरीरमा रहेको भाइरस निष्क्रिय भइसकेकोमा म ढुक्क थिएँ । अब अरुलाई सार्न नसक्ने भएकाले आइसोलेशनबाट निस्किने विचार गरेँ । परिवारले पनि यसबारे बुझेकाले निस्किन सुझाउनुभयो र १७ औँ दिनको साँझबाट परिवारसँगै बसेँ तर, सतर्कता अपनाउन भने छाडिनँ ।

यसरी शुरु भएको थियो कोरोना संक्रमणको चक्र

असोज ५ गते साँझ भिनाजुमा संक्रमण पुष्टि भयो । भिनाजुलाई एक्कासी ज्वरो आएपछि परीक्षण गरिएको थियो । दिदी, भान्जा, भान्जीको भने रिपोर्ट नेगेटिभ । घरमा सबैजनामा डर र चिन्ता मडारियो । उता भिनाजु अघिल्लो दिनदेखि नै होम आइसोलेशनमा बस्नुभएको थियो । ज्वरो बढेपछि भोलिपल्टै ह्याम्स अस्पताल भर्ना हुनुभयो । तीन दिनको अस्पताल बसाइपछि उहाँ पुनः होम आइसोलेशनमा फर्कनुभयो ।

भिनाजु होम आइसोलेशनमा बसेपछि औषधि, सरसामान किनमेल गर्ने र पुर्याउने काम हामीले सावधानीपूर्वक नै गरिरहेका थियौँ । दुरी कायम गर्ने, मास्क, स्यानिटाइजरको प्रयोग गरेका थियौँ । यतिकैमा असोज १० गते मेरो श्रीमानमा पनि हल्का लक्षण देखियो, परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भयो । उहाँलाई तुरुन्तै दिदीकै घरमा भिनाजुसँगै आइसोलेशनमा राखियो ।

दुवैजनाको हेरविचार दिदीले गर्दै आउनुभएको थियो । यतिकैमा भन्जीमा घाँटी दुख्ने समस्या देखियो र परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भयो । भान्जीलाई पनि होम आइसोलेशनमै राखियो । यतिबेलासम्म दिदीमा पनि कोरोना कै जस्तो लक्षण देखिएको र भान्जालाई पनि लक्षण देखिएर निको भइसकेको थियो । लाग्यो– सबैमा संक्रमण छ ।

दुवैजनाको हेरविचार दिदीले गर्दै आउनुभएको थियो । यतिकैमा भन्जीमा घाँटी दुख्ने समस्या देखियो र परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भयो । भान्जीलाई पनि होम आइसोलेशनमै राखियो । यतिबेलासम्म दिदीमा पनि कोरोना कै जस्तो लक्षण देखिएको र भान्जालाई पनि लक्षण देखिएर निको भइसकेको थियो । लाग्यो– सबैमा संक्रमण छ ।

आइसोलेशनमा रहेकाको हेरविचार दिदी एक्लैले गरिरहनु भएको छ । यही बीचमा छोरीलाई तीन दिनसम्म रुघा लाग्यो । तीन दिन बाहिर निस्किन नदिइ हेरविचार गरेँ । उनी निको भइन् । आमालाई पनि टाउको दुख्ने लक्षण देखिएर निको भइसकेको थियो ।

चिकित्सकको सुझावअनुसार असोज १८ गते हाम्रो सपरिवारकै स्वाब परीक्षण भयो । घरमा एकजनामा संक्रमण देखिएपछिबाटै हामीले विशेष सतर्कता अपनाएका थियौँ । ठुलो परिवार, बालबालिका वृद्ध बाआमा भएकाले हामी विशेष सतर्कताका साथ घरमा पनि मास्क, स्यानिटाइजर, बाहिरबाट आउनासाथ नुहाउने, कपडा बदल्ने गरेका थियौँ । बिहान–बेलुका घरलाई डिसइन्फेक्ट गर्ने, भान्सा तथा परिवारका अगाडि मास्क अनिवार्य लगाउने गरिरहेका थियौँ ।

१९ गते रिपोर्ट आयो र गाडी चालकसहित सबैको रिपोर्ट नेगेटिभ तर मेरो र आमाको पोजेटिभ । त्यतिबेलासम्म हामीमा कुनै लक्षण थिएन । चिकित्सकले हामीलाई होम आइसोलेशनमा बस्न सुझाउनु भयो । सोहीअनुसार हामी होम आइसोलेशनमा बस्यौँ ।

६ वर्षीय छोरी पनि आइसोलेशनमा

विगत सात महिनादेखि रातोपाटीका अधिकांश सहकर्मीले घरबाटै काम गर्दै आइरहेका छौँ । म कहिलेकाहीँ अन्तर्वाताको लागि मात्रै बाहिर निस्किए पनि प्रायः घरबाटै काम गर्छु ।

कोरोनाभाइरस समुदायस्तरमा फैलिइसकेकाले प्रायः फलफूल, तरकारी तथा खाद्यान्नलगायतका सामान खरिद गर्नुपर्दा डिजिटल पेमेन्टलाई हामीले प्राथमिकता दिएका छौँ । ममा संक्रमण पुष्टि भएपछि छोरी निकै आत्तिइन् । तत्कालै डा. रविन्द्र पाण्डेलाई फोन गरेँ । उहाँसँग कोरोना संक्रमणका अनेकन विषयमा पहिला पनि धेरै छलफल हुँदै आएका थिए । बच्चालाई साथमा राख्दा हुने जोखिमबारे उहाँसँग छलफल गरेँ । सम्भव भएसम्म सँगै नराख्न र राख्नै परेमा छुट्टै सुत्ने र मास्क अनिवार्य गर्नुपर्ने सुझाव दिनुभयो । मैले सोही अनुसार गरेँ । र, डा. पाण्डेले आइसोलेशनमा बस्दा अपनाउनुपर्ने सतर्कता, खानपानलगायत स्वास्थ्यअवस्थाबारे समयसमयमा सुझाइरहनुभयो ।

ममा संक्रमण पुष्टि भएपछि छोरी निकै आत्तिइन् । तत्कालै डा. रविन्द्र पाण्डेलाई फोन गरेँ । उहाँसँग कोरोना संक्रमणका अनेकन विषयमा पहिला पनि धेरै छलफल हुँदै आएका थिए । बच्चालाई साथमा राख्दा हुने जोखिमबारे उहाँसँग छलफल गरेँ । सम्भव भएसम्म सँगै नराख्न र राख्नै परेमा छुट्टै सुत्ने र मास्क अनिवार्य गर्नुपर्ने सुझाव दिनुभयो ।

सुरुको अवस्थामा संक्रमण सर्ने जोखिम बढी भएकाले एकै पटक दुईवटा मास्क प्रयोग गरेँ । रातमा भने एउटामात्र । मैले आइसोलेशनमा बसेपछि सरसफाइमा विशेष ध्यान दिएँ । दिनको दुईपटक आफू बसेको फ्लोर स्यानिटाइज गर्ने, सफा गर्ने, हरेक दिन आफ्नो र छोरीका सम्पूर्ण कपडा, टावेल बदल्ने र धुने । भाँडा आ–आफ्नो प्रयोग गर्ने, धुने, सुकाउने गरेँ । त्यसैगरी, फोहोर व्यवस्थापनमा पनि विशेष ध्यान दिएँ । फोहोर जम्मा गरेको प्लास्टिकको झोलालाई राम्रोसँग बाँधेर बाहिर घाम आउने स्थानमा राख्ने र तीन दिनपछि फोहोर लिन आउँदा पठाउने गरेँ ।

आइसोलेशनमा बसेको तेस्रो दिन साँझबाट रुघा लाग्न सुरु भयो । अब छोरीलाई सर्ने हो कि भन्ने चिन्ता बढ्यो । डबल मास्क र मास्कभित्र एक लेयर टिस्यू पेपर राखेर प्रयोग गर्न थालेँ, ता कि हाछ्यू गर्दा वा खोकी लाग्ने बित्तिकै टिस्यू डिस्पोज गरिहाल्न सजिलो होस् । त्यसको दुई दिनपछिबाट जिउ दुख्ने, भित्रभित्रै ज्वरोले गालेको जस्तो हुन थाल्यो । ज्वरो आएन तर पसिना आउने, थकाइ लाग्ने र रुघा अझ बढ्यो । ज्वानोको सुप, भेजिटेवल सुप अनि कागती पानीलगायत खाँदा तीन दिनपछि बिस्तारै रुघा सामान्य भयो । तर, मैले यो अवधिमा एउटा सिटामोल पनि खाइनँ ।

मैले कोरोना संक्रमितका अनुभवहरु लेख्दै आएको थिएँ । उनीहरुमा समाजले संक्रमणभन्दा ठुलो पीडा दिएको र यसबाट बाहिर निस्किन निकै कठिन भएको गुनासो थियो । समाजले संक्रमित र संक्रमितका परिवारसँग गर्ने व्यवहार सामाजिक यातनाकै रुपमा भोग्नुपरेको यथार्थलाई सुन्दै अएको थिएँ । आफूमा संक्रमण भएपछि कता कता त्यही डर पलायो । तर छरछिमेकको व्यवहार सोचेभन्दा फरक आयो । उहाँहरुले यसलाई सहज रुपमा लिनुभयो । यसले पनि हामीलाई यसबाट बाहिर निस्किन सहज भयो ।

हेलचक्य्राई नगरौँ

कोरोनाभाइरसको संक्रमण सामान्य हेलचक्य्राईले पनि सर्ने रहेछ भन्ने थाहा भयो । हुन त हामीले निकै सतर्कता अपनाइरहेका हुन्छौँ । तै पनि कहिलेकाहीँ कहाँनिर चिप्लिइन्छ, भाइरसले छोइहाल्ने रहेछ ।

बुवा ७५ वर्ष पार गरिसक्नु भएको छ । उहाँलाई ब्लड प्रेसर, सुगरलगायतका समस्या छन् । हरेक दिन औषधि लिनुहुन्छ । घरमा बिहानको भान्सा मैले नै सम्हाल्दै आएकी थिएँ । बिहान कागती पानीदेखि ब्रेक फास्ट, खाना, खाजा, साँझको दुधसम्म बुवालाई मेरै हातले दिँदै आएकी थिएँ । संंक्रमण पुष्टि भएको दिन बिहान पनि आफैले ढिँडो बनाएर बुवाआमालाई खाना दिएकी थिएँ । बाहिर धेरै एक्सपोज हुने भएकाले घरमा भान्सामा मास्क र पटक पटक हात धुने अनि दिनमा दुई पटक आफ्ना कपडा बदल्ने गरेकी थिएँ । जसका कारण परिवारका अन्य सदस्यमा संक्रमण सर्न पाएन ।

अहिले हामी परिवारका ६ जना नै कोरोनामुक्त भएका छौँ । परिवारमात्र बसेर दसैँ मनायौं । कति अस्पतालको शैय्यामा छटपटाइरहेका छन् त कति संक्रमणका कारण आइसोलेशनमै हुँदा दसैँको कुनै रौनक भएन होला । संक्रमितको पीडा अर्को संक्रमितले मात्र बुझ्न सक्छ । म ती सवै संक्रमितहरुको अवस्था कल्पना गर्दै बसेँ ।

प्रोटोकलअनुसार यदि संक्रमितमा सामान्य लक्षण छन् र निको भइसकेको छ अथवा लक्षण छैन भने १४ दिनको आइसोलेशनपछि सामान्य जीवनमा फर्कन सकिन्छ । त्यसपछि कोरोना संक्रमण सर्ने सम्भावना शून्य हुन्छ । अहिले धेरैजनामा अन्यौल देखिएको छ कि नेगेटिभ नआएसम्म बारम्बार परीक्षण गराइरहने । चिकित्सक तथा विज्ञहरुकाअनुसार एकपटक संक्रमण भइसकेको व्यक्तिमा भाइरसका मृत सेलहरु बाँकी नै रहने हुँदा कतिलाई बारम्बार परीक्षण गर्दा पनि पोजेटिभ रिपोर्ट आउने गर्छ तर त्यो सक्रिय भाइरस नभएर त्यसको अवशेषमात्र हो । त्यसले फेरि केही असर गर्दैन र अरुमा सर्दैन पनि ।

र, प्रोटोकलअनुसार यदि संक्रमितमा सामान्य लक्षण छन् र निको भइसकेको छ अथवा लक्षण छैन भने १४ दिनको आइसोलेशनपछि सामान्य जीवनमा फर्कन सकिन्छ । त्यसपछि कोरोना संक्रमण सर्ने सम्भावना शून्य हुन्छ । अहिले धेरैजनामा अन्यौल देखिएको छ कि नेगेटिभ नआएसम्म बारम्बार परीक्षण गराइरहने । चिकित्सक तथा विज्ञहरुकाअनुसार एकपटक संक्रमण भइसकेको व्यक्तिमा भाइरसका मृत सेलहरु बाँकी नै रहने हुँदा कतिलाई बारम्बार परीक्षण गर्दा पनि पोजेटिभ रिपोर्ट आउने गर्छ तर त्यो सक्रिय भाइरस नभएर त्यसको अवशेषमात्र हो । त्यसले फेरि केही असर गर्दैन र अरुमा सर्दैन पनि । यसबारे आम नागरिक सचेत हुन जरुरी छ । गहिरो लक्षण नहुने संक्रमितले दुई हप्ताको आइसोलेशन पुरा गरेर बाहिर निस्किन मिल्ने विज्ञहरुले बताइरहेका छन् । दुई हप्तापछि मानिसको शरीरमा भाइरस कमजोर भइसक्ने भएकाले अन्यमा सार्ने क्षमता राख्दैन त्यसैले पनि संक्रमितले त्रासमा बस्नु पर्दैन ।

२६ दिनपछि टीकाको तेस्रो दिन् अर्थात् द्वादशीको दिन नेपाल मेडिसिटी अस्पताल पुगेर परीक्षण गराएँ । दोस्रो पटक परीक्षणमा जाँदाको अस्तव्यस्तता देखेकी मैले मेडिसिटीमा निकै व्यवस्थित र सहज रुपमा परीक्षण गराएँ । संक्रमित हो या होइन ? कतिऔं पटकको परीक्षण हो ? रक्त समूह, सबैको रेकर्ड राखिएको थियो । सोही साँझ फोनमार्फत रिपोर्ट नेगेटिभ आएको जानकारी गराइयो र अस्पतालले रिपोर्ट ईमेलसमेत गरेको थियो ।

अहिले आएर साथीहरु आफन्तहरुले भोगेको समस्या सुन्दा अवाक भएकी छु । अस्पतालमा बेड नपाउँदाको पीडा, औषधि नै नपाएर ६ हजार पर्ने औषधिलाई २२ देखि ४० हजारसम्म तिरेर ब्ल्याकमा किन्नुपर्दाको पीडा । सरकारले कोरोना संक्रमितको उपचार नगर्ने भन्दै हात उठाइसकेको छ । संक्रमणको अवस्था दिन प्रतिदिन भयावह बन्दै गइरहेको छ । यस्तो अवस्थामा संक्रमण न्यूनीकरण र संक्रमितको उपचारलाई सहज बनाउनु पर्नेमा सरकार भने जनतालाई आफ्नो उपचार आफै गर्न भन्छ । यस्तो लाचारीले संक्रमण घट्ने होइन, दिन दुगुना रात चौगुना बढ्नेमा कुनै शंका छैन ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.