शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मटिहानीका नगर प्रमुखकै संलग्नतामा सांघातिक आक्रमण !

बिहीबार, १३ कात्तिक २०७७, १७ : ५८
बिहीबार, १३ कात्तिक २०७७

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिकाका नगर प्रमुखको उपस्थितिमै भएको आक्रमणमा परी तीनजना घाइते भएका छन् । मटिहानी नगरपालिकाका प्रमुख हरि मण्डलको उपस्थितिमा विजय दशमीको रात भएको सांघातिक आक्रमणमा मटिहानी नगरपालिका–८ बस्ने ५७ वर्षीय विजय चौधरी, मटिहानी नगरपालिका–८ बस्ने ४८ वर्षीय जितेन्द्र चौधरी र मटिहानी नगरपालिका–७ बस्ने ५३ वर्षीय गणेशप्रसाद साह घाइते भएका हुन् ।

घाइतेमध्ये विजय चौधरी उपचारपछि डिस्चार्ज भएका छन् भने बाँकी दुई जनाको अवस्था गम्भीर रहेकोले काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको जनाइएको छ ।

यसरी भयो घटना

कार्तिक १० गते राति मटिहानी नगरपालिका–७ मा दुई पक्षबीचको विवादले उग्ररुप लियो । विवाद साम्य पार्न प्रहरीको टोली मध्यस्थताका लागि पुगेको थियो । सो क्रममा प्रहरीको टोलीमाथि नै हातपात भएपछि प्रहरीले लाठी चार्ज गरेको स्थानीयवासीहरुको भनाइ छ ।

उपचारपछि घर फर्किएका विजय चौधरीले मटिहानी नगर प्रमुख हरि मण्डलकै उपस्थिति तथा प्रत्यक्ष संलग्नतामा घटना भएको आरोप लगाएका छन् । चौधरीले नगरप्रमुख मण्डल पक्षधर र अर्को गुटबीच विजय दशमीको राति अन्दाजी ९ बजे भएको विवादको क्रममा प्रहरीको लाठीचार्जबाट दुवै पक्षबाट केही व्यक्ति घाइते भएका बताए ।

उनले भने ‘घाइते भएका व्यक्तिहरुलाई सान्त्वना दिएर फर्किने क्रममा राति साढे १० बजे हामीमाथि नगर प्रमुख मण्डलको उपस्थितिमा सांघातिक आक्रमण भयो ।’

उनले अगाडि भने, ‘घटनास्थलबाट घर फर्किदै गर्दा मटिहानी नगर प्रमुखसहित २०/२५ जनाको समूह आएर एकाएक गालामा थप्पड लगाए, शैलेन्द्र मण्डल भन्ने व्यक्तिले मेरो घाँटीमा छुरा प्रहार ग¥यो, तर छुरा घाँटीको छेउमा मात्रै लागेकोले धन्न म बाँचे ।’

घाइते दुई जनाको शरीरको विभिन्न भागमा छुरा प्रहार भएको उनको भनाइ छ ।

केही दिन यता नगरमा भएको विकास तथा कामहरुको प्रगतिबारे आफूले वडा वडामा गएर जागरण अभियान चलाएकोले अत्तालिएर नगर प्रमुखले आफूहरुलाई आक्रमण गरेको हुन सक्ने उनको भनाइ छ ।

नगर प्रमुख मण्डल भने उक्त घटनामा आफ्नो संलग्नता नरहेको बताउँछन् । उनले आफ्नो पक्ष र अर्को पक्षका कार्यकर्ताबीच विवाद भएको स्वीकार गरे पनि आफूले कसैमाथि आक्रमण नगराएको दावी गरे ।

उनले भने, ‘विपक्षीहरुले राजनीतिक प्रतिशोधका कारण मेरो नाम लिएका हुन सक्छन्, बरु मेरै पक्षका ६ जना मान्छे घाइते भएका छन्, अनि मेरै उपस्थितिमा सांघातिक आक्रमण गराइएको भन्नु हास्यास्पद भएन र ?’

उनले दुई पक्षबीच हात हालाहाल मात्रै भएको, तर छुरा प्रहार नभएको दावी गरे ।

महोत्तरीका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले घटनाबारे अनुसन्धान भइरहेको बताए । घटना भएको ३ दिन बित्दासमेत कसैलाई पक्राउ नगरेको भन्दै नेकपा महोत्तरीका ईन्चार्ज राजु खड्का सहितको टोलीले जिल्ला प्रहरी कार्यालय महोत्तरीको ध्यानाकर्षण गराएको छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप