शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मुकेश चौरसिया हत्या प्रकरणः पूर्वसभासद गुप्तासहित १२ जनाविरुद्ध जाहेरी दर्ता

बिहीबार, १३ कात्तिक २०७७, १६ : ५१
बिहीबार, १३ कात्तिक २०७७

सत्तारुढ दल नेकपाका पर्साका जिल्ला सदस्य तथा विन्दाविसिनी गाउँपालिकाका सचिव मुकेश चौरसियाको हत्याको जाहेरी एकसाता पछि दर्ता भएको छ । बिहीबार चौरसियाको हत्या अभियोग लागेका पूर्व सभासद राजकुमार गुप्ता सहित १२ जनाविरुद्ध पर्सा प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमार्फत जाहेरी दर्ता गरेको हो । 

पर्सा प्रहरीले एक सातादेखि जाहेरी लिन अस्वीकार गर्दै आएपछि पूर्वमन्त्री समेत रहेका नेकपा स्थायी समिति सदस्य मातृकाप्रसाद यादवको अगुवाईमा विरोध तथा धर्ना कार्यक्रम हुँदै आएको थियो । आज पर्सा प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय मार्फत जाहेरी लिएको नेकपा वीरगञ्‍ज महानगरपालिकाका इन्चार्ज रहवर अन्सरीले जानकारी दिए । 

प्रहरीले जाहेरी नलिएपछि मृतकको शव एक सातासम्म परिवारले बुझ्‍न अस्वीकार गर्दै आएको थियो ।  यता जाहेरी दर्तासंगै अब शव बुझ्‍ने र शुक्रबार बिहान पोष्टमार्टम गर्न तयारी भएको अन्सारीले बताए । मृतकको शुक्रबार नै अन्त्यष्टि गरिने समेत अन्सारीले बताए । 

विन्दावासिनी गाउँपालिकाका सचिव समेत रहेका जिल्ला सदस्य चौरसियाको शव नारायणी अस्पतालमा राखिएको छ । झडप भएकै दिन प्रहरीले नेकपा पर्साका नेता राजकुमार गुप्ता सहित ४ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको थियो । राजनीतिक दवावमा गुप्तालाई छाडिएको भन्दै नेकपा पर्साले चरणवद्वरुपमा जाहेरी दर्ताका लागि दवाव दिन धर्ना सहितका विरोध कार्यक्रमहरु गर्दै आएको थियो । 

प्रहरीले उक्त घटनामा संलग्न रहेको आरोपमा हनिफ मियाँ गद्दी, सोकदिन मियाँ गद्दी र देवा सहनीलाई प्रहरीले पक्राउ गरिसकेको छ भने मुख्य योजनाकार भनिएका पूर्वसांसद गुप्तालाई प्रहरीले घटना लगत्तै पक्राउ गरी बिहीबार राति नै ‘माथिको आदेश’मा छाडेको थियो ।

यस्तै झडपमा सामान्य घाइते भइ नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचारार्थ भर्ना भएका उत्तम तिवारी र चिन्टु तिवारी अस्पतालबाटै फरार भएका थिए । उनीहरुमाथि पनि चौरसियाको हत्याको आरोप छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप