शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

मोटोपन समस्या र निराकरणको उपाय

बिहीबार, १३ कात्तिक २०७७, १४ : ३०
बिहीबार, १३ कात्तिक २०७७

मोटोपन विकसित देशको मात्र समस्या नभई नेपाल जस्ता विकासशील देशका लागि पनि जन स्वास्थ्यको ठूलो समस्याको रूपमा देखा पर्दै गइरहेको छ । मोटोपन हुँदा शरीरमा बोसो अत्यधिक मात्रामा जम्मा हुन्छ । यो केवल सौन्दर्यसँग सम्बन्धित समस्या मात्र नभई स्वास्थ्य समस्याका रूपमा रहेको गम्भीर चिकित्सकीय समस्या हो । उच्च क्यालोरीयुक्त, गुलिया, कार्बोनेटेड चिसो पेय, पत्रु खाना, चिल्लो पदार्थ, बढी खाना खानु, तयारी खाना खानु, कम मात्रामा शारीरिक क्रियाकलाप गर्नु, ऐस आरामको जिन्दगी बिताउनु आदि कारणले बढी भएको क्यालोरी बोसोको रूपमा शरीरमा जम्मा हुन थाल्छ र यो अवस्था बढ्दै गए मोटोपन विकसित हुन्छ । मोटोपनका कारण टाइप २ को मधुमेह, मुटु रोग, रगतमा चिल्लोको मात्रा बढ्नु, उच्च रक्तचाप र क्यान्सर जस्ता विभिन्न रोग लाग्न सक्छन् । त्यसकारण विश्व स्वास्थ्य सङ्गठनले मोटोपनलाई पनि एक दीर्घ रोगका रूपमा वर्गीकरण गरेको छ ।

रोगको अवस्था 
मोटोपन मापन गर्न विश्व स्वास्थ्य सङ्गठनले बडी मास इन्डेक्सको सूत्र तयार गरेको छ । यसमा शरीरको तौल केजीमा लिने र उचाइलाई मिटरमा लिई सूत्र प्रयोग गरी परिणाम निकालिन्छ । यदि परिणाम १८.५ भन्दा कम आए कम तौल भएको, १८.५ देखि २४.९ आए सामान्य तौल, २५ देखि २९.९ आए मोटोपनको प्रथम अवस्था, ३५ देखि ३९.९ आए मोटोपनको दोस्रो अवस्था र ४० भन्दा बढी आए अत्यधिक मोटो र मोटोपनको तेस्रो अवस्था भन्ने बुझिन्छ । यही आधारमा संसारका केही मुलुकमा मोटोपनको समस्या हेर्ने हो भने २०११ को तथ्याङ्कअनुसार भारतमा १६ प्रतिशत, मेक्सिकोमा ७० प्रतिशत, जापानमा ३ प्रतिशत र अमेरिकामा ३४ प्रतिशत बढी मोटोपन भएका मानिस छन् र यो तथ्याङ्क निकै बढ्दै गइरहेको अवस्था छ । मोटोपनका कारण सन् २००२ को विश्व स्वास्थ्य सङ्गठनको प्रतिवेदनमा ५८ प्रतिशतमा मधुमेह, २१ प्रतिशतमा मुटुको गम्भीर रोग र ८ देखि ४२ प्रतिशतमा विभिन्न क्यान्सर देखिएका थिए ।
यसका साथै अधिकांश मोटोपनका बिरामीमा कलेजोको समस्या, हाडजोर्नीको समस्या, हाड र मांसपेशीको समस्या, एलर्जीका विभिन्न समस्या, पेट र आन्द्राका समस्या, पित्तथैलीका समस्या, मिर्गौलाका समस्या, बाँझोपन तथा यौन समस्या, पिसाबसँग सम्बन्धित समस्या, अनिद्रा, सास बढ्ने वा दमको समस्या र मानसिक समस्या (डिमेन्सिया) जस्ता आदि समस्या उत्पन्न भएको देखिन्छ । मोटोपनको समस्या केवल वयस्कमा मात्र होइन बच्चाहरुमा पनि दिनप्रतिदिन बढ्दै गइरहेको देखिन्छ । यो २१औं शताब्दीमा जनस्वास्थ्यमा ठूलो चुनौतीको रूपमा देखापरेको कुरा विश्व स्वास्थ्य सङ्गठनले बताएको छ ।

मोटोपनका कारण
मोटोपन बढ्नुमा व्यक्तिगत वा आन्तरिक कारण र बाह्य वातावरणीय कारण बढी जिम्मेवार छन् । यो वंशाणुगत, व्यावहारिक, पाचन (मेटाबोलिज्म), हर्मोनको प्रभाव, खानपानको बानी व्यवहार, कम शारीरिक क्रियाकलाप र बढी ऐस आरामको जीवन बिताउने प्रक्रियासँग सम्बन्धित छ । मोटोपन हुने अन्य मुख्य कारण यसप्रकार छन्–
̵    अस्वस्थकर खानपिन ः बढी क्यालोरीयुक्त खाना खानु, फलफूल र तरकारी कम खानु, तयारी खाना बढी खानु, उच्च क्यालोरीयुक्त कार्बोनेटेड पेय पदार्थ खानु, धेरै परिमाणमा खाना खानु, छिटो छिटो खाना खानु, खाना खान नियन्त्रण गर्न नसक्नु आदि ।
̵    निष्क्रिय जीवनशैली ः खाएको क्यालोरी खपत गर्न विभिन्न शारीरिक क्रियाकलाप गर्नुपर्नेमा कुनै गतिविधि नगरी बस्नु, कम्प्युटर वा स्क्रिनमा मात्र दिन बिताउनु र बसिरहनु मोटोपनको प्रमुख कारण हो ।
̵    शारीरिक रोग र विभिन्न औषधिको सेवन ः जोर्नी दुख्ने जस्ता समस्याका कारण हिँड्डुल गर्न वा शारीरिक क्रियाकलाप गर्न नसक्दा तौल बढ्न सक्छ । यसैगरी डिप्रेसन, मधुमेह, मानसिक रोग, उच्च रक्तचापका औषधि वा स्टेरोवाइड औषधिहरु सेवन गर्दा पनि मोटोपन विकसित हुनसक्छ ।
̵     सामाजिक तथा आर्थिक तत्त्वहरु ः समाजको खाना खाने बानी र परिकारहरु, आर्थिक अवस्था उच्च हुनेहरु, खाना बनाउने प्रचलन, चाडपर्वहरु, मनोरञ्जनका क्रियाकलाप, साथीभाइसँगको सङ्गत, परिश्रम गर्ने सामाजिक बानी व्यवहार जस्ता आदि तत्त्वहरुले पनि उच्च क्यालोरी सञ्चित हुनपुग्दा मोटोपन बढ्न सक्छ ।
̵    विभिन्न हर्मोनको प्रभाव ः भोक लगाउने ग्रेहलिन र भोक दबाउने लेप्टिन जस्ता हर्मोनको असन्तुलन भएमा वा ती हर्मोनले राम्रो सन्तुलित तवरले काम गर्न नसक्दा भोक लाग्ने र भोक लाग्दा बढी खाना खाइने भएकाले मोटोपन बढ्न सक्छ ।
̵    गर्भावस्था ः गर्भवती अवस्थामा मोटोपन बढ्न सक्छ र बच्चा जन्मेपछि कम हुनथाल्छ तर स्तनपान गराउँदा पनि मोटोपन घटेन भने समस्याको रूपमा रहिरहन सक्छ ।
̵    धूमपान परित्याग गर्दा ः धूमपान त्याग गर्नासाथ स्वास्थ्यमा राम्रो प्रभाव पर्ने भएकाले खाना रुच्ने हुँदा तौल बढ्न सक्छ ।
̵    निद्रा ः प्रशस्त निदाउन नसक्दा वा बढी मात्रामा सुत्दा यी दुवै अवस्थामा हर्मोनमा परिवर्तन आई भोक बढ्छ र तौल बढ्न सक्छ ।
–तनाव ः बढी तनाव हुँदा उच्च क्यालोरीयुक्त तयारी वा पत्रु खाना खाने भएकोले यसबाट तौल बढ्न सक्छ ।
̵    पेटभित्रका किटाणुहरुको भूमिका ः पाचन प्रणालीमा हुने फाइदाजनक किटाणुहरुले खानाको उपस्थिति अनुसार कार्य गर्ने भएकाले तौल बढाउनमा भूमिका निर्वाह गर्न सक्छन् ।
–तौल घटाउन पहिला गरिएका प्रयास ः तौल घटाउन पहिला प्रयास गरेको र हाल नगरेको अवस्थामा झन् बढी क्यालोरी सञ्चित हुनथाल्छ र तौल बढ्न सक्छ आदि ।

मोटोपनका जटिलताहरु
मोटोपनका कारण शरीरमा विभिन्न खालका रोग देखापर्ने र जटिल अवस्था आउने सम्भावना हुन्छ । मोटोपनबाट हुनसक्ने केही जटिलता यस प्रकार छन्–
̵    मुटुरोग र हृदयाघात ः मोटोपन तथा उच्च रक्तचापबीच सबैभन्दा घनिष्ठ सम्बन्ध हुने, रगतमा चिल्लोपन वा कोलेस्टेरोल बढ्ने जस्ता कारणले जटिल मुटुरोग तथा हृदयाघातको समेत सम्भावना हुन्छ ।
̵    दोस्रो प्रकारको मधुमेह ः रगतमा हुने सुगरको मात्रा नियन्त्रण गर्न इन्सुलिनको उत्पादनमा समस्या हुने भएकाले वा पर्याप्त उत्पादन नहुने भएकाले दोस्रो प्रकारको मधुमेहको अवस्था हुन सक्छ ।
̵    केही क्यान्सरहरु ः मोटोपनका कारण पाठेघर, पाठेघरको मुख, पाठेघरको भित्री तह, अण्डाशय, स्तन, ठूलो आन्द्रा, मलद्वार, भोजननली, कलेजो, पित्तथैली, प्याङ्क्रियाज, मिर्गौला र प्रोस्टेट ग्रन्थीको क्यान्सरको सम्भावना हुन्छ ।
̵    पाचनमा समस्या ः अम्लपित्त बढ्ने, कलेजो र पित्त थैलीमा आउने समस्याका कारण पाचनमा समस्या उत्पन्न हुनसक्छ ।
̵    स्त्रीरोग तथा यौन समस्या ः मोटोपनका कारण महिनावारी चक्र बिग्रने, बाँझोपन हुने आदि हुन्छ भने पुरुषमा नपुँसकता हुनसक्छ ।
̵    निद्रामा समस्या ः मोटोपन बढेमा राम्रो निद्रा नपर्ने, सास बढ्ने, घुर्ने, सास रोकिने आदि हुँदा निद्रामा समस्या देखापर्छ जसले विभिन्न शारीरिक तथा मानसिक समस्या ल्याउँछ ।
̵    हाडजोर्नीसम्बन्धी समस्या ः बढी मोटोपन हुँदा खुट्टाका जोर्नी, काँध, ढाड आदिमा भार बढी पर्न जाँदा हाडजोर्नी र नसासम्बन्धी विभिन्न समस्या देखापर्न सक्छन् ।
̵    अन्य ः माथि उल्लेखित समस्या बाहेक मोटोपनका कारण मस्तिष्कमा असर परी डिप्रेसन, डिमेन्सिया र विस्मरणको समस्या आउने, अशक्तता, यौन समस्या, आफैँलाई सरम हुने र हीनताबोध हुने, समाजबाट अपहेलित हुने र काममा प्रगति हुन नसक्ने जस्ता आदि समस्या देखापर्छन् ।

मोटोपनको उपचार र रोकथाम
मोटोपन जस्तो गम्भीर समस्याको समयमै उपचार वा रोकथाम गर्न नसके विभिन्न जटिल रोगको सामना गर्नुपर्ने भएकाले यो समस्याको उपचार र रोकथामका लागि निम्न उपाय अपनाउन सकिन्छ–
̵    आहार उपचार विधि ः तौल घटाउन योजना बनाई एक दिनमा ५०० देखि १००० क्यालोरी मात्र प्राप्त हुनेगरी खानाको तालिका अनुसार खाना खानुपर्छ ।
̵    शारीरिक क्रियाकलाप ः कम्तीमा ६ महिनाभित्र तौल घटाउने गरी योजनाबद्ध ढङ्गले शारीरिक क्रियाकलाप वा व्यायाम गर्नुपर्छ ।
̵    बानी व्यवहार ः खाना खाने तरिकाममा परिवर्तन र व्यायाम दुवै अँगाल्ने, तनाव व्यवस्थापन गर्ने, समस्या समाधान गर्ने, सामाजिक उत्प्रेरणा र सहयोग प्राप्त गर्नेजस्ता कुराले तौल नियन्त्रण हुन सक्छ ।
̵    संयुक्त उपचार पद्धति अपनाउने ः भोजन, व्यायाम तथा तनाव व्यवस्थापनका तरिका एकैसाथ अपनाउनाले र जीवनशैलीमा परिवर्तन ल्याउनाले छिटो मोटोपन घटाउन सकिन्छ ।
̵    केही औषधिहरुको प्रयोग ः अर्लिस्टाट, डेक्स्फेनफ्लुरामिन, सिबुट्रामिन, फेन्टरमाइन जस्ता केही औषधिको प्रयोग गरेर पनि ६ महिनाभित्र तौल घटाउन सकिन्छ तर यी औषधिका प्रतिकूल असर हुनसक्छन् र सबै औषधि भरपर्दा छैनन् ।
̵    तौल घटाउने शल्यक्रिया ः चिकित्सकीय जटिलता देखापरेमा शल्यक्रिया पनि गर्न सकिन्छ । यसका लागि आमाशयको थैली सानो बनाउने शल्यक्रिया जस्ता विधि अपनाउन सकिन्छ ।
समग्रमा
मोटोपन जस्तो जनस्वास्थ्यको जल्दोबल्दो समस्या समाधान गर्न बच्चा अवस्थादेखि नै ध्यान दिनु जरुरी छ । एरोबिक अभ्यास कम्तीमा पनि दैनिक १ घण्टा सानैदेखि गर्ने, खानपिनमा ध्यान दिने, खानाको तालिका बनाई क्यालोरी हिसाब गरेर खाने, अनावश्यक धेरै र पटक पटक नखाने, तयारी खाना नखाने, तौलको पटक पटक अनुगमन गर्ने, खाना खाने बानी व्यवहार परिवर्तन गर्ने, ऐस आराममा मात्र नरहने, बढी चिल्लो, गुलियो, नुनिलो र बढी क्यालोरीयुक्त खाना नखाने, फलफूल, तरकारी, पानी खानमा बल गर्ने, नियमित शारीरिक परीक्षण गर्ने जस्ता उपाय अपनाई तौललाई सन्तुलन राख्न सकिन्छ । यसबाट भविष्यमा आउनसक्ने मुटु, मिर्गौला, पेट, कलेजो, मधुमेह, क्यान्सर, श्वास प्रश्वासका गम्भीर स्वास्थ्य समस्याबाट बच्न सकिन्छ । अतः सबैले आफ्नो तौल नियन्त्रण गर्न आजैदेखि सजग हुनु जरुरी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरनाथ पाण्डे
नरनाथ पाण्डे
लेखकबाट थप