शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मुकेश चौरसिया मृत्यु प्रकरण : किटानी जाहेरी दर्ताका लागि पाँचौँ दिन पनि आन्दोलन

किटानी जाहेरी दर्ता नगरे देशव्यापी आन्दोलन
मङ्गलबार, ११ कात्तिक २०७७, १५ : ४६
मङ्गलबार, ११ कात्तिक २०७७

नेकपा पर्साका जिल्ला सदस्य तथा बिन्दवासिनी गाउँपालिका सचिव मुकेश चौरसियाको मृत्यु भएको पाँच दिन बित्दा पनि आफन्तले शव बुझ्न अस्वीकार गर्दै आएका छन् । उनको शव पाँच दिनदेखि वीरगञ्जस्थित नारायणी अस्पतालमै राखिएको छ ।

नेकपा पर्साले मुख्य योजनाकार सहित हत्या आरोपीलाई कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा किटानी जाहेरी दर्ता गर्न खोज्दासमेत बेवास्ता गरेपछि स्तानीयस्तरमा पर्साका प्रहरी उपरीक्षक गंगा पन्त र सरकारविरुद्ध आन्दोलन भइरहेको छ ।

मृतक चौरसियाका परिवारजनले जिल्ला प्रहरी कार्यालय पर्सामा किटानी जाहेरी दर्ता गराउन खोज्दा प्रहरीले बेवास्ता गरेको नेकपा पर्साको आरोप छ ।
शुक्रबारदेखि नै जिल्ला प्रहरी कार्यालय पर्सामाथि किटानी जाहेरी दर्ताका लागि दबाबस्वरुप आन्दोलन हुँदै आएको छ । प्रहरीले किटानी जाहेरी दर्ताका लागि आनाकानी गर्दै आएको छ ।

सो घटनाका मुख्य योजनाकार नेकपा पर्साका जिल्ला सदस्य तथा पूर्व सांसद राजकुमार गुप्ता रहेको र उनकै कारण जिल्ला सदस्य मुकेश चौरसियाको मृत्यु भएको नेकपा वीरगंज महानगरपालिकाका ईन्चार्ज रहबर अन्सारीको आरोप छ । उनका अनुसार विन्दवासिनी गाउँपालिकाको कार्यक्रममा पूर्व सांसद राजकुमार गुप्तालाई मुकेश चौरसियाले नबोलाउँदा उनले योजनावद्ध ढंगले कार्यक्रमस्थलमै आक्रमण गराएका हुन् ।

यता नेकपा स्थायी समिति सदस्य मातृकाप्रसाद यादवले घटनाको किटानी जाहेरी दर्ता नगरे जिल्ला, प्रदेशसहित देशैभर आन्दोलनका गर्ने चेतावनी दिए । पूर्वमन्त्री समेत रहेका यादवले भने, ‘प्रहरीले अब जाहेरी दर्ता नगरेमा हामी आन्दोलनलाई थप विस्तार गर्दै जानेछौँ ।’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण हत्याराहरुको अगाडि प्रहरी मुकदर्शक बनेको आरोप लगाए ।
नेकपा पर्सा विन्दवासनी गाउँपालिका कमिटीको गत बिहीबार आयोजित सपथ ग्रहण कार्यक्रममा पार्टीका दुई पक्षबीच झडप हुँदा नेकपा गाउँ कमिटी सचिवसमेत रहेका जिल्ला सदस्य मुकेश चौरसियाको मृत्यु भएको थियो ।
प्रहरीले उक्त घटनामा संलग्न रहेको आरोपमा हनिफ मियाँ गद्दी, सोकदिन मियाँ गद्दी र देवा सहनीलाई पक्राउ गरिसकेको छ भने मुख्य योजनाकार भनिएका पूर्व सांसद राजकुमार गुप्तालाई प्रहरीले घटना लगत्तै पक्राउ गरे पनि राति नै छाडेको थियो ।

झडपमा समान्य घाईते भइ नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचारार्थ भर्ना भएका उत्तम तिवारी र चिन्टु तिवारी अस्पतालबाटै फरार भएका छन् । उनीहरुमाथि पनि चौरसियाको हत्याको आरोप छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप