शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ईश्वर पोखरेलको ६ बुँदे वक्तव्य :  ‘ रअ’ का हाकिमहरु भेट्न तँछाड मछाड गर्नेहरु नायक बन्न खोजे

मोदीको विशेष दूतका रूपमा सामन्त गोयल नेपाल आएको दावी
मङ्गलबार, ११ कात्तिक २०७७, १३ : १०
मङ्गलबार, ११ कात्तिक २०७७

उपप्रधानमन्त्री मन्त्री ईश्वर पोखरेलले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्त गोयल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रूपमा प्रधानमन्त्री केपी ओलीसित भेट तथा संवादका लागि आएको दावी गरेका छन् । उनले नेपाल सरकारको परराष्ट्र मन्त्रालयको जानकारी तथा स्वीकृतिमा गेयल नेपाल आएको दावी गर्दै काठमाडौंस्थित भारतीय राजदूतावासले औपचारिक रूपमा त्यसको जानकारी गराउँदै आवश्यक पत्राचार र  पहल गरेको बताएका छन् । 
प्रधानमन्त्री केपी शर्मा ओलीले सामन्त गोयलको टोलीसित गरेका छलफलका टिपोट  परराष्ट्र मन्त्रालयमा समेत सुरक्षित रहेको भन्दै उनले भेटमा विगत केही समयदेखि असहज बन्नपुगेको नेपाल–भारत सम्वन्ध र खासगरी सीमा समस्याको समाधानमा केन्द्रीत रहेको बताएका छन् । 

तर,  भेटवार्तालाई अतिरञ्जित गर्ने काम भएको भन्दै उनले आफ्नो ६ बुँदे वक्तव्यमार्फत भनेका छन्, ‘विगत केही समयदेखि केही असहज बन्न पुगेको नेपाल भारत सम्बन्धलाई यही अवस्थामा रहन दिनु नहुने मान्यताका साथ गरिएको यो पहल र प्रयत्नलाई एक स्वरमा खासखास खालका मानिसहरूद्वारा किन विरोध भइरहेको छ ? तिनीहरूले किन विरोध गरिरहेका छन् ?  यसलाई अघि सारेर प्रम केपी शर्मा ओली र उहाँले नेतृत्व गरेको सरकारको विरोधमा किन खनिदैछन् – ती मानिसहरू ? कारणहरू राम्ररी बुझिएको छैन । अहिले धेरै कुरा किन गर्ने ! उहाँहरूले वास्तविकता नबुझी  पूर्वाग्रह राखेर वा विरोधका लागि विरोध गर्नुपर्छ भन्ने अस्वस्थ्य मानसिकता बोकेर यी सबै काम गरिरहनु भएकोछ भन्ने कुरा ठोकेर भन्न सकिन्छ ।’

केपी शर्माओली र उनले नेतृत्व गरेको सरकारका विरूद्ध केही मानिसहरू अहिले विशेष निर्लज्जतापूर्वक लागेको आरोप लगाउँदै उनले उनीहरुको विगतमाथि पनि प्रश्न उठाएका छन् ।  ‘जो विगतमा छिमेकीको न्यानो काखमा सुतेर देशका विरूद्ध गतिविधिहरू गरिरहेका थिए । विगतमा भारतको ‘ रअ’ का हाकिमहरूसित भेट गर्न  तँछाड मछाड गर्दै यिनै मान्छेहरू छिमेकी मुलुक पुग्दथे , त्यहाँ खुसामदका बिन्ती–बोली बिसाउँथे । विडम्बना ! अहिले उनीहरू समेत राष्ट्रियताको बोलीमा लोली मिसाउँदै ओलीले नेतृत्व गरेको सरकारका विरूद्ध बृहद गोलबन्दीको नायक बन्ने प्रयत्न गरिरहेका छन् ।’, पोखरेलले भनेका छन् ।  

राष्ट्रियता, स्वतन्त्रता, सार्वभौमिकता, स्वाभिमानमा आँच पुग्ने कुनै पनि कुरासित सम्झौता हुनै नसक्ने भन्दै पोखरेलले  यिनै कुरालाई शीरमा राखी राष्ट्रको दीर्घकालीन हितमा लाग्ने कुरामा कहीं कतैबाट पनि वर्तमान सरकारले आँच पुग्न नदिने बताएका छन् । 

प्रधानमन्त्रीसँग ‘रअ’ का प्रमुखको भेट - प्रायोजित कुप्रचार र वास्तविकता
———————————————
(१) भारतीय गुप्तचर संस्था -‘रअ’ का प्रमुख सामन्त गोयल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकाे विशेष दूतका रूपमा प्रधानमन्त्री केपी ओलीसित भेट तथा संवादका लागि आए र  फर्किए । 
(२) नेपाल सरकारको परराष्ट्र मन्त्रालयको जानकारी तथा स्वीकृतिमा उनी नेपाल आएका हुन् । काठमाण्डौंस्थित भारतीय राजदूतावासले औपचारिक रूपमा त्यसको जानकारी गराउँदै आवश्यक पत्राचार र  पहल गरेको थियो । 
(३) प्रधानमन्त्री केपी शर्मा ओलीले सामन्त गोयलको टोलीसित केके विषयमा कुरा गर्नुभएको थियो ? बातचितमा प्रम ओलीसित रहनुभएका प्रतिनिधिहरूले जिम्मेवारीपूर्वक सुनेका छन् - टिपोट गरेका छन् । परराष्ट्र मन्त्रालयमा समेत वार्ताको औपचारिक टिपोट सुरक्षित छ । 
(४) वातचितमा प्रम ओलीले विगत केही समयदेखि असहज बन्नपुगेको नेपाल- भारत सम्वन्ध खासगरी सीमा समस्यासित र नयाँ नक्सा प्रकाशनसित गाँसिएका विषयमा केन्द्रित रहेको थियो ।  त्यहाँ नेपालले राख्दै आएका अडानहरू  पुन: जानकारी गराइएको थियो र समाधानका लागि नेपालका तर्फबाट स्पष्ट दृष्टिकोण प्रस्तुत गरिएको थियो । र, वार्ताद्वारा नै तथ्य तथा ऐतिहासिक प्रमाणहरूका आधारमा देखापरेका समस्याहरूको समाधान खोजिनुपर्ने समाधान प्रस्तुत गरिएको थियो । त्यहाँ गोयल ( हरू ) का तर्फबाट नेपालका प्रमको प्रस्तुतिलाई सकारात्मक रूपमा लिदै अविलम्ब वार्ताद्वारा समाधानका लागि अघि बढ्नुपर्ने भनाइ राखिएको थियो । नेपाल - भारतका बीचमा कुनै समस्या छन् भने तिनलाई संवादका माध्यमबाट हल गर्न सकिन्छ भन्ने अकाट्य निष्कर्षमा पुगिएको थियो । 
(५)  विगत केही समयदेखि केही असहज बन्न पुगेको नेपाल-भारत सम्बन्धलाई यही अवस्थामा रहन दिनु नहुने मान्यताका साथ गरिएको यो पहल र प्रयत्नलाई एक स्वरमा खासखास खालका मानिसहरूद्वारा किन विरोध भइरहेको छ ? तिनीहरूले किन विरोध गरिरहेका छन् ?  यसलाई अघि सारेर प्रम केपी शर्मा ओली र उहाँले नेतृत्व गरेको सरकारको विरोधमा किन खनिदैछन् - ती मानिसहरू  ? कारणहरू राम्ररी बुझिएको छैन । अहिले धेरै कुरा किन गर्ने ! उहाँहरूले वास्तविकता नबुझी  पूर्वाग्रह राखेर वा विरोधका लागि विरोध गर्नुपर्छ भन्ने अस्वस्थ्य मानसिकता बोकेर यी सबै काम गरिरहनु भएकोछ भन्ने कुरा ठोकेर भन्न सकिन्छ । प्रोटोकललाई ख़्याल नगरिएको, मर्यादाको पालना नगरिएको, छिमेकी मुलुकको जासूसी संस्थाको योजनामा संचालित हुन खोजेको, वार्ताका विषयहरूलाई रहस्यमा राखिएको, राष्ट्रियता र स्वाधीनतामा आँच पु-याइएको आदि भनेर आरोप लगाउने काेशिस भइरहेकाे छ । अर्थात्, यी सबै कुरा गरेर कम्युनिस्ट पार्टीको सरकार विरूद्धमा एउटा गलत खालकाे बहस सिर्जना गर्न खोजिदैछ । दुर्भाग्य ! कम्युनिस्ट पार्टीकै कतिपय नेताहरू समेत यस अभियानमा संलग्न हुन खोजेका देखिदैछन् । 
(६) यतिबेला एउटा कुरा सबैले ख़्याल गरौं - केपी शर्माओली र उहाँले नेतृत्व गरेको यस सरकारका विरूद्ध ती मानिसहरू अहिले विशेष निर्लज्जतापूर्वक लागेका छन् , जो विगतमा छिमेकीको न्यानो काखमा सुतेर देशका विरूद्ध गतिविधिहरू गरिरहेका थिए ! विगतमा भारतको ‘ रअ’ का हाकिमहरूसित भेट गर्न  तँछाड मछाड गर्दै यिनै मान्छेहरू छिमेकी मुलुक पुग्दथे , त्यहाँ खुसामदका बिन्ती - बोली बिसाउँथे । विडम्बना ! अहिले उनीहरू समेत राष्ट्रियताको बोलीमा लोली मिसाउँदै ओलीले नेतृत्व गरेको सरकारका विरूद्ध बृहद गोलबन्दीको नायक बन्ने प्रयत्न गरिरहेका छन् !!  
याद रहोस् ! राष्ट्रियता, स्वतन्त्रता, सार्वभौमिकता, स्वाभिमानमा आँच पुग्ने कुनै पनि कुरासित सम्झौता हुन सक्तैन ! यिनै कुरालाई शीरमा राखी राष्ट्रको दीर्घकालीन हितमा लाग्ने कुरामा कहीं कतैबाट पनि आँच पुग्न दिइने छैन । विदेशीको काखको न्यानोमा सुत्न पल्केकाहरूको कथित राष्ट्रवादलाई चिनौं, सजग हाेअाैं र सरकारले चालेका स
ही कदमहरूलाई साथ र समर्थन गराैं !!!

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप