केन्द्रीय संस्करण

धरान चिनाउने धामः दन्तकाली

person explore access_timeकात्तिक ११, २०७७ chat_bubble_outline0

पूर्वको प्रसिद्ध शक्तिपीठ  दन्तकाली मन्दिरको यस वर्षको नौरथामा भेटी घटेको छ । धरान–१४ विजयपुर डाँडास्थित  मन्दिरमा ५१ वर्षदेखि दशैँको नौ दिन ठूलो मेला लाग्ने गरेको थियो । दैनिक पाँच हजारभन्दा बढी मानिस घुम्न तथा पूजाआजा गर्न आउने गरेका थिए । 

यस  वर्ष कोरोना महामारीका कारण संघीय तथा स्थानीय सरकारले मन्दिरमा पूजाराधनामा बन्देज लगाएपछि  नौरथामा मात्र मन्दिरलाई झण्डै रु ६ लाख घाटा भएको मन्दिरका मूल पूजारी विश्वराज खनालले जानकारी दिए । प्रदेश नं १ को धरानमा अधिक कोरोना संक्रमण फैलिएको छ ।
 संक्रमित र मृत्यु हुनेको संख्या बढ्दो छ । सोही कारणले बडादशैंमा नित्यपूजा तथा विशेष पूजामा पुजारीबाहेक कसैलाई पनि प्रवेश गर्न नदिइएको भएको धरान उपमहानगरपालिका १४ नं  अध्यक्ष कृष्ण भट्टराईले जानकारी दिए। 
उनका अनुसार दन्तकालीमा यस पटक विगत जस्तो नवरात्रिको बढाइँ भएन । फूलपातीको पनि विधि मात्र पूरा गरियो । यसैगरी बलि पनि मन्दिर समितिका तर्फबाट मात्र गरिएको छ । मन्दिरका तर्फबाट र वडा कार्यालयले सूचना प्रकाशन गरी मन्दिरमा नजान र घरमै पूजा गर्न भक्तजन तथा सर्वसाधारणलाई आग्रह गरिएको थियो । 
‘दशैंको नौरथामा घुम्न आउने तथा पूजा गर्न आउनेबाट मात्र दैनिक रु ५०÷६० हजार आम्दानी हुने गरेको थियो’, मूल पुजारी खनालले भने, ‘यस वर्ष कोही आउन पाउनु भएन । हाम्रो आम्दानी गुम्यो ।’ 

मन्दिर परिसरमा नौरथामा मात्र दैनिक एक लाख भन्दा बढीको पूजा सामग्री, खेलौना, मन्दिरका चिनारी तस्वीर, नरिवल, बेलुनलगायत सामग्री बिक्रीबाट आम्दानी हुने गरेको थियो ।  कोरोनाका कारण मन्दिर परिसरमा व्यवसाय गर्दै आएका व्यापारीको पनि व्यापार चौपट भएको स्थानीयवासी दुर्गा भुजेलले बताए । मूल पुजारी खनालका अनुसार महाअष्टमीमा भक्तजनले बोका, राँगा र  हाँसको बलि दिने गरेका थिए । एक सयदेखि दुई सयसम्म पशुपक्षीको बलि दिँदै आए पनि यस वर्ष भक्तजन आएनन् ।  विधि र प्रक्रिया पु¥याउन नौ दिन नै दैनिक पशुबलि दिने गरिन्छ । अन्य समयमा पनि १५÷१५ दिनमा बोकाको बलि दिने परम्परा छ ।
 सात महिनादेखि सर्वसाधारणलाई मन्दिर प्रवेशमा रोक लगाइएका कारण  आम्दानी शून्य हुँदा व्यवस्थापन समिति घाटामा गइरहेको पुजारी खनालले बताए । 
 सत्ययुगमा पार्वतीको दाँत पतन भएका स्थानमा दन्तकाली माताको उत्पति भएको किंवदन्ती पाइन्छ । यो कुरा श्रीस्वस्थानी कथामा समेत उल्लेख गरिएको छ । यहाँ बलि दिँदा र  पूजाराधना गर्दा मनमा चिताएको पुग्ने विश्वासले हजारौँ भक्तजनले टाढाटाढाबाट आएर पशुपक्षि बलि दिने तथा पूजाराधना गर्ने गरेको स्थानीयवासी भुजेलले बताए ।
धरानको विजयपुरमा पिण्डेश्वर बाबा, बुढासुब्बा मन्दिर तथा पञ्चकन्या मन्दिर पनि छन् । यी कुनै मन्दिरमा आउने भक्तजन दन्तकाली मन्दिरको दर्शन नगरी फर्कँदैनन् । 

दन्तकाली मन्दिर गुठीअन्तर्गत सञ्चालन हुँदै आएको छ । यहाँका आम्दानी पुजारीले व्यवस्थापन गर्दै आएका छन् । बाहिरबाट भक्तजनले प्रवेश नपाएपछि यस वर्ष पाँच पुजारीले पूजाराधना गरेका छन् । दैनिक फूलपाती, धुप, बत्ती बाल्ने काम पुजारीले गर्दै आएका छन् । सामान्य रुपमा पनि महिनामा रु १५÷२० हजार खर्च व्यवस्थापन समितिले व्यहोर्दै आएको पुजारी खनालले बताए । लकडाउनले आम्दानी नभए पनि परम्परा धानिरहेको मन्दिर गुठी व्यवस्थापन समितिका संयोजक रमेश खनालले बताए । महिनामा दुई  बोका बलि चढाउने चलन  छ । महिनामा रु २० हजार सामान्य खर्च हुने गरेको छ । धरानलाई चिनाउने धाममा उपमहानगरपालिकाको उपस्थिति र सहयोग भने शून्य रहेको पुजारी खनालले बताए । यस्तो समस्या परेका बेला त सहयोगको अपेक्षा गरिए पनि केही राहत नपाएको उनको भनाइ छ । 

महाभारतकालीन इतिहास बोकेको र पछिल्लो समयमा किरात राजधानीका रुपमा रहेको विजयपुर धरान उपमहानगरको शिर मानिन्छ । पाँच सय वर्ष पहिले बङ्गालका राजाले जीर्णाेद्धार गरेको पिण्डेश्वर मन्दिरका अभिलेख पढ्दा पुरातात्विक, पौराणिक एवं ऐतिहासिक महत्व देखिन्छ  । हालको आधुनिक धरान शहर रहेका स्थानमा शुरुमा घना जङ्गल रहेको र  फँडानीका क्रममा काठ चिर्ने आरावालाले तयार गर्ने गरेको धरान (धराप) बाट नै आजको धरान शहरको नामकरण भएको भन्ने भनाइ छ । 
विजयपुरमा धेरैअघिदेखि बसोबास भए तापनि विसं १९५० तिर घनाजङ्गल फँडानी गरेर समतल क्षेत्रमा सानो बस्तीबाट शुरुआत भएको धरान विसं १९५९ मा तत्कालीन राणा प्रधानमन्त्री  चन्द्रशम्शेरले चन्द्रनगर (हाल पुरानो बजार) र विसं १९९० तिर जुद्ध शम्शेरले जुद्ध नगर (हालको नयाँबजार) बसालेको  पाइन्छ ।  

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.