बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

भूकम्प पीडितलाई घर बनाउन लालपुर्जा दिइने

मङ्गलबार, ११ कात्तिक २०७७, ०८ : ४५
मङ्गलबार, ११ कात्तिक २०७७

जग्गाधनी प्रमाणपुर्जा नभएका तनहुँका २७ भूकम्प पीडित घरधुरीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिने भएको छ । अव्यवस्थित जग्गामा बसोबास गर्दै आएका र विसं २०७२ को भूकम्पले घर क्षति भएका घरधुरीलाई स्थायी घर बनाउन उनीहरु बसोबास गरेकै ठाउँको जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउने तयारी छ ।

    सङ्घीय सरकारको मन्त्रिपरिषद्को निर्णयानुसार त्यस्ता भूकम्प पीडितलाई स्थायी आवास बनाउन जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउन लागिएको हो । तनहुँमा जग्गाधनी प्रमाणपुर्जा नभएका भूकम्प पीडितको सङ्ख्या धेरै भए पनि पहिलो चरणमा २७ घरधुरीलाई लालपुर्जा उपलब्ध गराउन लागिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइका प्रमुख जयप्रकाश गुप्ताले जानकारी दिए ।

    उक्त कार्यका लागि प्रतिनिधिसभाका सदस्यको संयोजकत्वमा समिति गठन गरिएको छ । जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदले ६÷६ महिना संयन्त्रको संयोजकको भूमिका निर्वाह गर्नेछन् । सोहीबमोजिम असोजदेखि आगामी ६ महिनाका लागि तनहुँ क्षेत्र नं १ का सांसद कृष्णकुमार श्रेष्ठ उक्त समितिको संयोजक बनेका छन् । 

    सांसद श्रेष्ठका संयोजकत्वमा केही दिनअघि बसेको २७ घरधुरी बैठकले भूकम्प पीडितलाई स्थायी आवास निर्माणका लागि प्रमाणपुर्जा उपलब्ध गराउने निर्णय गरेको थियो । बाँकी जग्गाधनी प्रमाणपुर्जा नभएका घरधुरीलाई पनि क्रमशः पुर्जा उपलब्ध गराइनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप