मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

परेवा संरक्षण गर्दै गाउँपालिका

सोमबार, १० कात्तिक २०७७, ११ : १३
सोमबार, १० कात्तिक २०७७

पाँचथरको कुम्मायक गाउँपालिका यासोक बजारमा रहेको परेवाको गुँड तथा त्यहाँ रहेका परेवाको संरक्षणमा जुटेको छ । गाउँपालिकाको केन्द्र रहेको ऐतिहासिक यासोक बजारको मध्यभागमा अवस्थित परेवाको गुँड मर्मत सम्भार तथा त्यहाँ रहेका परेवाको संरक्षणका लागि गाउँपालिकाले समिति नै गठन गरेको हो ।

यस्तै परेवा मार्ने वा नास्ने काम गरे जरिवाना गर्ने निर्णय समेत गाउँपालिकाले गरेको छ । यासोक बजारमा रहेको परेको गुँड संरक्षण, परेवाको संरक्षण, परेवालाई दाना व्यवस्थापनलगायत कार्य गर्न गाउँपालिकाले पशुपक्षी विकास शाखाका प्रमुख कोविद सुब्बाको संयोजकत्वमा १० सदस्यीय समिति गठन गरेको छ भने गाउँपालिका उपाध्यक्ष सीता आचार्यको संयोजकत्वमा चार सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ ।

गठित समितिले दैनिक दुई पटक चारो हाल्ने, परेवाको रेखदेख गर्ने, विक्री वितरण तथा मास्ने कार्य रोक्ने जिम्मेवारी पाएको छ । परेवा मारे वा घाइते बनाए रु ५०० जरिवाना गर्ने अधिकारसमेत सोही समितिले पाएको गाउँपालिकाको पशुपक्षी विकास शाखाका नायव प्राविधिक सहायक जीवन खड्काले वताए । परेवाको संरक्षण र आहारका लागि दानपेटिका समेत राखिएको छ । उक्त दानपेटिकामा हालसम्म रु छ हजार २५५ सङ्कलन भएको छ । परेवाको सङ्ख्या अत्यधिक हुने भएकाले परेवाका बच्चा भने विक्री गर्न दिइएको छ । परेवाका बच्चाको प्रतिजोडी मूल्य रु २५० तोकिएको छ ।

यासोक बजारको दुईतर्फ कुम्मायक र कुस्सायक धार्मिकस्थल रहेका छन् । यहाँ दर्शनार्थीले उडाउने परेवा संरक्षणका लागि विसं २०२३ मा परेवाको गुँड स्थापना गरिएको थियो । हालसम्म उक्त गुँड र परेवा संरक्षणको काम स्थानीयवासीले गर्दै आएकामा पछिल्लो पटक गाउँपालिकाले उक्त कार्यको जिम्मेवारी लिएको हो । संरक्षण अभावमा गुँड जीर्ण बनेको थियो भने परेवा मासिने अवस्थामा पुगेका थिए । यासोकमा रहेको परेवाको गुँड यहाँ पुग्ने पर्यटकहरुको आकर्षणमा पर्ने गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप