बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझीको त्यो दसैँ

सोमबार, १० कात्तिक २०७७, ०९ : ४०
सोमबार, १० कात्तिक २०७७

समय बित्दै जाँदा दसैँ पनि आई पुग्यो । पहाड घर नगएको १० वर्ष भइसकेको थियो । दसैँको मौका छोपी घर गयौं । शक्तिलाई पहाडको घर र बसोबास देखाउनु पनि थियो । गाउँमा भएका दाजुभाईसँग टीकाको अवसरमा भेट भयो । लामो अवधीपछि पहाड घर पुग्ने मौका परेकामा खुशी लाग्नु स्वभाविक नै थियो ।

घर पुगेपछि केही बाल्यकालिन सम्झना ताजा भएर आए ।

केटाकेटी हुँदाको कुरा । हाम्रो घरदेखि केही पर खोप्रा बा आमा को घर थियो । खोप्रा बा आमा हाम्रो घर आउँदा ज्यादै खुशी हुन्थ्यौँ । खोप्री आमा हामीलाई निकै माया गर्थिन । आएपछि उनलाई फर्किन दिँदैनथ्यौँ । खोप्रा बा ८५ वर्ष नाघिसकेका थिए ।

एक दिन भैँसी दुहुँदा लातीले हानेछ । पुरै दाहिने पिँडुला हाडबाट छुट्टिन पुगेछ । म एसएलसी दिएर घरमै बसिरहेको थिए । हामी सबै हेर्न गयौं । अत्याधिक रक्तस्रावले मर्ने अवस्थामै पुगेका थिए । गाउँघरका औषधीमुलो गर्नेले जुडिबुटी खुवाए । उनको नलीखुट्टाबाट छुट्टिन लागेको पिँडुलालाई बाँधबुँध पारियो ।

सबैले आशा मारिसकेका थिए । उनको अझै बाँच्ने दिन बाँकी रहेछ । भोलिपल्ट रगत थामियो । मेरा बुबालाई घाउ सफा गर्न आउँदो रहेछ । बुबाले भोजपुरमा पोटास, घाउमा प्रयोग हुने गज, खाने पेनिसिलिन चक्की, मल्हम र कपाल लिन पठाउनु भयो ।

औषधी आएपछि बुबाले घाउ खोल्न, सफा गर्न, औषधी लगाउन र पट्टी बाँध्न सिकाउनु भयो । पहिलो दिन आफैँ बसी घाउ सफा गरी औषधी लगाउने कार्य गर्न मलाई लगाउनुभयो । त्यसपछि प्रत्येक दिन खोप्रा बाको घाउ सफा गर्ने, मल्हमपट्टी बाँध्ने काम मेरो भयो ।

घाउ सफा गर्ने पानी तताई राखेको हुन्थ्यो । म जाना साथ कुनै अलमलबिना ड्रेसिङको काम सुरु भइहाल्थ्यो । घाउ भयानक थियो । केही दिनसम्म खोल्दा आफैँलाई भाउन्न हुन्थ्यो । पछि बिस्तारै ठिक हुँदै गयो । मेरो पनि बानी पर्दै गयो ।

खोप्रा बालाई भिटामिनका रुपमा नौनी घ्यु र मह ख्वाइयो । त्यसबखतको गाउँको प्रदूषणरहित वातावरणले घाउन विकृति आएन । अहिले भए ज्यादै शक्तिशाली एन्टीबायोटिकमा राखेर लामो उपचार गराउनु पर्दथ्यो होला ।

गाउँघरमा दसैँमा टीका लगाउँदा वा कुनै कारण आशीष दिँदा ठूलोठूलो मानिस सुब्बा हुनु भन्थे । खोप्रा बालाई पनि यसभन्दा अरु कुरा थाहा थिएन । मेरा बुबा त सुब्बा भइसकेको मान्छे । यसैले घाउ सफा गरी मल्हमपट्टीको काम सकिएपछि बुबाभन्दा पनि ठूलोठूलो मानिस हुनु भन्दै आशीष दिँदै प्रत्येक दिन मेरो गोडा ढोग्थे । यसो नगर न भन्दा खोप्रा बा मान्दैनथे । ढोग्न नदिने भए गोडा छुन दिँदैनथे । हामीलाई गोडा छुवाउनुहुँदैन, पाप लाग्छ भन्ने उनको मान्यता थियो ।

उनको घाउ निको हुन करिब डेड महिनाजति लाग्यो । निको भएपछि म पढ्न काठमाडौं आउने चाँजो मिल्यो । आत्मादेखि नै आएको र दिएको आशीष लाग्छ भन्छन् । मलाई खोप्रा बाले जति आत्मादेखि आशीष सायद कमैले दिए होलान ।

म दसैँमा घर जाँदा खोप्रा बा बितेको तीन वर्ष भइसकेको रहेछ ।

म गाउँ पुगेको भोलिपल्ट नै खोप्री आमासँग भेट्न गएँ । एकछिन मलाई देखेर खुबै रोइन् । अनि, फेरि हामीलाई कुशल देखेर सुमसुम्याउँदै खुशी र स्नेह एकसाथ प्रकट गरिन । हिँडडुल गर्न सक्ने रहिछिन् । उनले नै मौका मिलाई मान्नु पर्ने मान्यजनकहाँ शक्तिलाई पुर्‍याइदिइन् ।

मलाई सामान्य लेखपढ सिकाउने पण्डित नन्दीकेशर बितिसक्नु भएको रहेछ । मैले बीकम पास गर्दा खुबै खुशी हुनु भएको थियो अरे । उहाँको परलोकपछि परिवार नै गाउँ छाडेर मधेसतिर झरेछ ।

दसैँँको बिदा सकिन लाग्यो । पूर्णिमाको भोलिपल्ट अदालतमा हाजिर हुनु पर्ने । त्यसैले त्रयोदशीका दिन खोटाङतर्फ लाग्यौँ । मलाई किन हो, त्यसपटक गाउँ छाड्दा ज्यादै नरमाइलो लाग्यो ।

रायमाझीको न्यायपालिकामा चार दशक मेरा सम्झना पुस्तकबाट । साङ्ग्रिला पुस्तक प्रा.लि. ले यो पुस्तक भर्खरै बजारमा ल्याएको हो । 

रायमाझी २०६६ बैशाख २५ गतेदेखि ०६६ मंसिर २८ गतेसम्म सात महिना प्रधानन्यायाधीश भएका थिए । लोकसेवा आयोगबाट शाखा अधिकृतमा नाम निकालेर उनी २०२७ साल जेठ ९ गते न्याय सेवामा प्रवेश गरेका थिए । सर्वोच्च अदालतमा करिब १७ महिना इजलास सहायकको काम सम्हालेपछि २०२८ सालको मध्यमा रायमाझी खोटाङ जिल्ला अदालतको न्यायधीश भएका थिए । यसपछि उनी पर्वत, कपिलवस्तु, जुम्ला, सिराहालगायत जिल्लाको न्यायधीश, पुनरावेदन अदालत जनकपुर, हेटौंडा, पाटनको न्यायधीश, मुख्य न्यायधीश हुँदै रायमाझी सर्वोच्च अदालतको न्यायधीश र प्रधानन्यायाधीश भएका थिए । रायमाझी न्यायलयभित्र इमान्दार र स्वच्छ छवीका प्रधानन्यायधीशका रुपमा स्थापित छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप