केन्द्रीय संस्करण
साहित्य

ठूला पदमा हामी बस्ने हामी मात्रै ठूला

तिमीहरु ता जुत्ता ह्वौ, हामी श्रीपेच, ठूला

भीमनिधि तिवारीका कालजयी रचना : चाडबाड (२०२७ दसैं)

person explore access_timeकात्तिक १०, २०७७ chat_bubble_outline0

 

 

 

उत्तर, दक्षिण, पश्चिमपट्टि तीनै दाउ खुला
च्याँखे उत्तिकै वैरिन्छन् कुनै साना, ठूला
आलाकाँचा पत्रकारको ढाँचाकाँचा देख्ता
कोजाग्रत पूर्णिमामा गुप्त जूवा मारे झैँ लाग्छ

जति जति शिक्षा बढ्छ उति बेकारी
जति जति बेकारी बढ्छ उति क्रान्तिकारी
कहाँ जाने, के गर्ने, शिक्षितवर्गको दिमाग
लक्ष्मीपूजा, ताइताप्केमा सेल घुमेझैँ लाग्छ


कसैको पनि यो सिद्धान्त भन्ने पहिचान छैन
कुन धर्म, कुन परम्परा, कुन संस्कृति, ज्ञान छैन
बहु जन, बहु रूप, बहु वय, बहु भेष
भाइटीकामा नव रङ्गी टीका लाएझैँ लाग्छ


आफू जन्मेको साल पनि भन्न नहुने गोप्य
पेटभित्र के छ के छ आँत पाइनसक्नु गोप्य
हिजोआजका केटीको शुभ विवाह त मलाई
कुष्माण्ड नवमीमा कुभिण्डो दान गरेझैँ लाग्छ


कालेको कानमा साउती गरूँ, पाकेको पिप ह्वास्स गन्हाउँछ
गोरेको कानुमा सुटक्क भन्न, बज्र बहिरो सुन्दैन
कल्लाई भनूँ, कल्लाई भनूँ, यो बजारको भाउबेसाहा
हरिबोधिनी एकादशी, घाँटीमा पिँडालु कोक्याए झैँ लाग्छ

बेपत्ताका मानिस झ्वाट्ट माथि शिरमा पुग्छन्
हेर्दाहेर्दै तुरुन्त फेरि तल पुच्छरमा झर्छन्
उन्नति र अवनतिको के छ र यहाँ ठेगान ?
वैकुण्ठे चतुर्दशीमा वैकुण्ठे खेलेझैँ लाग्छ

एक बित्ताको देशमा कति पो काम होला र !
मिलेर बसौँ भने के ठाम नहोला र ?
हरेक टोलका ठूला घर–अड्डा र कर्मचारी
बालाचतुर्दशी, पशुपतिको वनमा सतबीउ छरेझैँ लागे

सैँतीस सालको साहित्य सेवाले न कसैलाइ रिझाउनै सकियो
न त एकतीस वर्षको नोकरीमा कौडी कमाउनै सकिएछ
न त एक दर्जन छोराछोरीको बाबु नै बन्न सकियो
सारा जीवन त पुसको आइतबार झैँ अलिनो पो लाग्छ


अध्ययनमा लगन छैन, अनुशासनमा आसन छैन,
स्थिर चित्तवृत्ति छैन, समयको पनि पालन छैन,
भविष्यको उज्ज्वल आशा, राष्ट्रका कर्णधार
विद्यार्थीहरु माघे सङ्क्रातिमा काँचो खिचडी छड्केझैँ लाग्छ

हामी ‘कवि’ भनेर कवि–संमेलनमा कुदेको देख्दा
हामी ‘कथाकार’ भनेर कतै कतै कुर्लेको सुन्दा
हामी ‘नाटककार’ भनेर रङ्गमञ्चमा कड्केको हेर्दा
श्रीपञ्चमीमा नानीले ‘कपुरी क’ नचिने झैँ लाग्छ

१०
हामीलाई काम चाहिएको छ, एक पेट माम चाहिएको छ,
शीत, वर्षा ओत लाग्ने एउटा ठाम चाहिएको छ
नवरात्रीको चण्डी जस्तो उही पुरानो भाषण सुन्दा
शिवरात्रीको जागरणमा झप्प झप्प उँघ लागेझैँ लाग्छ
११
उता हेर्छु एक गाँसको निम्ति पसिना बहिरहेछ
यता हेर्छु सिनेमाको खहरेमा धनराशि बहिरहेछ
यस्तै वैषम्यको विषालु हावा सर्वत्र नै फैलिरहेछ
अनि त आफ्नो मुटु फागुपूर्णेमा चीरदाह गरेझैँ लाग्छ

१२
मान्छे सबै मुडुला छन् सधैँ मलामी जस्ता
घर पनि मुडुला हुँदैछन् इन्जिनियर जस्ता
कोठा, चोटा हुन्छन् जलाम्मे लम्बे झरीमा
घोडेजात्रा, जाँडको नयाँ घ्याम्पो फुटेझैँ लाग्छ

१३
झरना रोएर गइरहेछन्, खानी गुम्सेर बसिरहेछन्,
वनको अकाल मृत्युमा जीवजन्तु तड्पिरहेछन्,
सहानुभूत हृदयले यति दुई शब्द लेख्दा पनि
मातातीर्थे औँसीमा आमाको मुख हेरेझैँ लाग्छ
१४

ठूला पदमा हामी बस्ने हामी मात्रै ठूला
तिमीहरु ता जुत्ता ह्वौ, हामी श्रीपेच, ठूला
राणाको त्यो साँढा नीति पछारिएको देख्ता
अक्षय तृतीया, शीतल ! सर्बत पिएझैँ लाग्छ

१५
सूचनाले हिंसा रोकेको छ तापनि
हिसा त भइ नै रहेछ– यता पनि, उता पनि
परीक्षकले परीक्षार्थीको कापी रेटेको देख्दा
बुद्धजयन्तीमा बुद्धकै आत्मा छटपटाएझैँ लाग्छ

१६  
पहाड, तराई यहीँ छन्, लेक, बेँसी यहीँ छन्
युरोप, अमेरिका यहीँ छन्, चीन, जापान यहीँं छन्
हिन्दुस्थान, पाकिस्तान, साधु, हिप्पी यहीँ छन्
सहर त दशहरामा जोगी–तरकारी पाकेझैँ लाग्छ
१७

पुरुषको पुरुषार्थ साह्रो हुन्छ, नारीको भावना कोमल हुन्छ
बच्चा बोक्नेलाई बन्दुक बोकाउनु बेकारको काम हुन्छ
नारी र पुरुषले हर क्षेत्रमा समान काम गर्ने थालेको देख्दा
असारको पन्ध्र कहतारोमा दही–च्यूरा मुछेझैँ लाग्छ
१८
बुहारीले घरधन्धा गर्छ म बोझो चुसेर बसुँला
छोरोले कमाएर ल्याउँछ म तमाखु खाएर लेटुँला
आमा बाबुले (सपनामा) कल्पना गरेको देख्दा
गुरुपूर्णेमा लोभी गुरुले र्‍याल चुहाएझैँ लाग्छ

१६
मेचमा रहँदा एउटा कुरा, खुस्क्यो अर्कै कुरा
कतै नबिक्ने सेनामेना पछि लगायो भरा
के भाषण ! के वक्तव्य ! के नेता ! के नेतृत्व !
गठेमङ्गल साँझमा आजाजुजे चिच्याएझैँ लाग्छ

२०
यहाँ, छातीभन्दा पनि अरे ! तक्मा धेरै छन्
इमानदारीभन्दा पनि चकमा धेरै छन्
हरेकले पाउनैपर्ने, हरेकले लोउन पर्नै
हर दैलोमा नागपञ्चमी, नाग टाँसेझैँ लाग्छ
२१
राष्ट्रिय, अन्तर्राष्ट्रिय छैन सूक्ष्म कुराको ज्ञान
जनताका प्रतिनिधि ? बेच्चैमा चाँदीमा गुणगान !
जुठे पनि, ठुटे पनि आज जो पनि नेता छन्
साउनमास, जनैपूर्णेमा क्वाँटी उम्रेझैँ लाग्छ

२१
इज्जत जाने त यहाँ कुरै छैन जब इज्जत नै छैन
पाकेटमारसित केको डर जब जेबमा कौडी छैन ?
हास्रो इज्जत ! हाम्रो औकात ! टिम्केर हिँडेको देख्दा
गाईजात्रामा खुर्सानीको माला, झुत्रो छाता ओढेझैँ लाग्छ
२३
नाम गयो, दाम गयो, ट्वाँटमय टोल भयो
जात गयो, जागिर गयो, जोबन गयो, जीवन गयो,
चौबाटाका माझमा होनहार नव युवक
कृष्णाष्टमी, रातमा कंस पछारिएझैँ लाग्छ

२४
 
नाङ्गो छाती, नाङ्गो पिठ्युँ, नाङ्गो पाखुरा, नाङ्गो पेट
चोलो हो कि खिचोलो हो, टनटन सारा सारी समेट
सती साध्वीको रित्तो निधार, झाँक्रो फिजेको देख्दा
भोकले पार्वती बौलाइन् कि झैँ लाग्छ

२५
हरेक अड्डा गएर हेरौँ एउटी महिला टाइपिस्ट
तिनैद्वारा छाप्नुपर्छ सबैकी ती इष्ट
तिनै माननीया छन्, ती नै पुजनीया
ऋषिपञ्चमी, सप्तार्षिको बीच अरन्धती झैँ लाग्छ
२६
दुईको चार बनायो, चारको आठ
आठबाट अट्ठाइस बन्छ, अद्वाइसबाट एक सय आठ
नाकभन्दा नाइटो अग्लो साहु महाजनको भुँडी देख्दा
सोह्रश्राद्धमा बाजेले ठहरभर खीर खाएझैँ लाग्छ

२७
छिमेकीले आँगनसम्म ल्याइदिए पानी
उनले पनि के भन्लान् ए ! कत्ति लाज नमानी
एक घुड्काको सात रुपियाँ जिप्टाएको देख्दा
घटस्थापनामा घडा नै नथापूँ कि झैँ लाग्छ

२८
 
काम गर्ने गरिरहेछन्, अघि अघि बढिरहेछन्
बथुवाइ गर्ने गरिरहेछन्, डाहले आफैँ जलिरहेछन्
कोही घायल हुने होइन, कसैलाई लाग्ने होइन
फूलपातीमा टुँडिखेलमा बढाइँ हाने झैँ लाग्छ

२९
सीता, बुद्ध जन्मेको हो यो पुण्यभूमि !
गोकुलधूप सल्कनुपर्ने हो यो देवभूमि !
चुरोटको धुवाँले देश व्याप्त पारेको देख्दा
महाष्टमी, मासु पोले झैँ नाकमा ठस्स लाग्छ

३०

सत्यताको हत्या हुन्छ, दुर्बलतामा मार हुन्छ,
समालोचक भन्ने खुकुरीको पानी तीखो धार हुन्छ
सीधासादा, भोलाभाला कवि, कलाकारहरुलाई
महानवमी, कोतमा बोक्रा, राँगा छप्काए झैँ लाग्छ

३१
यता हेर्‍यो पहेँलै छ, उता हेर्‍यो पहेलैँ छ
कतै धान पाकेको छ, कतै सयपत्री फूलेको छ,
कति धनी यो देश ! कति राम्रो यो देश !
विजया दशमी, जमराको माला लाए झैँ लाग्छ !

Title Photo: https://sahityasangalo2013.files.wordpress.com

 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.