बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘भीएआर सधैँ बार्सिलोनाबिरुद्ध निर्णय गर्न प्रयोग हुन्छ’

आइतबार, ०९ कात्तिक २०७७, १५ : २८
आइतबार, ०९ कात्तिक २०७७

सिजनको पहिलो एल क्लासिकोमा चिरप्रतिद्वन्द्वी रियल म्याड्रिडसँग पराजित भएपछि बार्सिलोनाका म्यानेजर रोनाल्ड कोम्यानले भिडियो एसिस्टेन्ट रेफ्री (भीएआर) माथि आक्रोश पोखेका छन् । भीएआरको मद्दतले रियलले पाएको पेनाल्टी शनिबारको खेलमा निर्णायक बन्न पुगेको थियो । खेलमा आक्रोश पोख्दै उनले भीएआरको प्रयोग सधैँ बार्सिलोनाबिरुद्ध निर्णय गर्न प्रयोग गरिएको आरोप लगाएका हुन् ।

खेल १–१ को बराबरीमा रहेको बेला दोस्रो हाफमा भीएआरले रियललाई पेनाल्टी दिएको थियो । क्लेमेन्ट लेङ्लेटले रियलका कप्तान सर्जियो रामोशको सर्ट तानेको भन्दै पेनाल्टी दिइएको थियो । रामोशले उक्त पेनाल्टीलाई सजिलै गोलमा परिणत गरेका थिए ।

उता, भीएआरले बार्सिलोनाको दुईवटा पेनाल्टी अपिललाई अस्वीकार गरेको थियो । पहिलो राफेल भारानले कप्तान लियोनेल मेस्सीलाई गरेको फल र दोस्रो भरानकै ह्यान्डबल ।

‘म भीएआरलाई बुझ्न सक्दिनँ । मलाई लाग्छ यसको प्रयोग बर्साविरुद्ध निर्णय गर्न मात्र प्रयोग हुन्छ,’ कोम्यानले भने, ‘त्यसरी जहिले पनि सर्ट तानिएको हुन्छ । मलाई लाग्छ रामोशले पहिला लेङ्लेटमाथि फल गरेका हुन् । पक्कै पनि सर्ट तानिएको छ, तर रामोश लड्ने गरी छैन । मेरोलाई त्यो पेनाल्टी थिएन ।’

‘हामीले पाँच खेल खेलेका छौँ तर सधैँ भीएआरले हाम्रो विरुद्ध निर्णय दिएको छ । हाम्रो पक्षमा कहिल्यै निर्णय भएको छैन,’ उनले आक्रोश पोखे ।

बार्साले ५ खेलबाट मात्र सात अंक बटुल्न सफल भएको छ । हारसँगै बर्सिलोना लिगको १२ औँ स्थानमा सिमित रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप