शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राजमार्ग मर्मत नहुँदा दुर्घटनाको जोखिम

आइतबार, ०९ कात्तिक २०७७, १३ : ३६
आइतबार, ०९ कात्तिक २०७७

पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैयास्थित मुख्य सडकको मर्मत नहुँदा दुर्घटनाकोे जोखिम बढ्दै गएको छ । राजमार्गका विभिन्न स्थानमा भएको खाल्डाखुल्डी नपुरिँदा सवारी साधन सञ्चालन गर्न असहज भइरहेको छ  ।

दैनिक हजारौँ सवारी साधन आवागमन गर्ने राजमार्ग नै भत्केर कुरुप बन्दा पनि सम्बन्धित  निकायको ध्यान जान नसकेको स्थानीयवासी बताउँछन् । राजमार्गका ठाउँठाउँमा गरिएको कालोपत्रे गत असारसाउन महिनाको अविरल वर्षाका कारण भत्केको झण्डै तीन महिना बिते पनि टालटुलसमेत हुन सकेका छैन । खासगरी पूर्वमा कटारी चोकदेखि पश्चिममा मिर्चैया थाना चोकसम्मका खाल्डाखुल्डीका कारण राजमार्गको अवस्था अस्तव्यस्त बनेको स्थानीयवासीको भनाइ छ । मिर्चैयाका थाना चोक, कटारी चोक र पश्चिम बस स्टेन्डमा रहेका ठुल्ठुला खाल्डाखुल्डीले पैदल आवतजावत गर्नसमेत समस्या भएको छ  ।

 सडकमा रहेका खाल्डाखुल्डी पार गर्नका लागि चालकले लेन मिच्दा दुर्घटनाको जोखिम बढेको स्थानीय व्यापारी अशोक साह बताउँछन् ।  राजमार्गमा रहेका समस्या समाधान गर्न सडक डिभिजन कार्यालय लहानलाई पटकपटक जानकारी गराइए पनि कुनै चासो नदिएको व्यापारी साहको आरोप छ । राजमार्गका केही स्थानमा सडक टुटफुट भएर खाल्डाखुल्डी हुँदासमेत सडक डिभिजन कार्यालय लहानले कालोपत्रे गरेर दिगो समाधान गर्नेतर्फ ध्यान नदिएको स्थानीयवासीको भनाइ छ ।

वर्षायाममा नै भत्किएको सडक अहिलेसम्म नबन्दा यात्रुका साथै स्थानीयवासीलाई  सास्ती व्यहोर्नु परेको छ । मुख्यमार्गमा पैदल आवतजावत गर्नेलाई पनि कठिनाइ भइरहेको छ । सडकमा जोखिम मोलेर भए पनि चालकले यातायात सेवा सञ्चालन गर्ने गरेका छन् ।  मिर्चैया नगरपालिकाका प्रमुख श्रवणकुमार यादवले सडकको दुर्दशाप्रति आफूहरु पनि चिन्तित रहेको जनाउँदै समस्या समाधानका लागि पहल भइरहेको बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप