मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

राजदेवी मन्दिरमा दिइयो ८ हजार ९ सय ६८ बोका बलि प्रदान, करिब १८ लाख रुपैयाँ कमाइ

आइतबार, ०९ कात्तिक २०७७, १३ : ०५
आइतबार, ०९ कात्तिक २०७७

जनकपुरधामस्थित राजदेवी मन्दिरमा करिब ९ हजार बोकाको बलि प्रदान गरिएको छ । महाष्टमीको दिन शनिबार करिब ४ घण्टामा राजदेवी मन्दिरमा ८ हजार ९ सय ६८ बोका बली प्रदान गरिएको हो । साँझ ७ बजेर ५ मिनेटमा सुरु भएको बोकाबली प्रदान राति ११ बजेर २५ मिनेटसम्म चलेको थियो ।

मन्दिरमा बलिको लागि ४ वटा ठेहा (बोका बली प्रदान गर्ने ठाउँ) को व्यवस्था स्थानीय महावीर युवा कमिटीले गरेको थियोे । कमिटीका अनुसार प्रत्येक ठेहामा ३० देखि ३५ वटा सम्म बोका बली प्रदान गर्ने व्यवस्था मिलाइएको थियो ।

कोरोना महामारीका कारण केही दिन अगाडि जिल्ला प्रशासन कार्यालय धनुषाले भिडभाड हुने देखेपछि गृह मन्त्रालयको निर्देशनमा बोका बलि नहुने भन्दै सूचना समेत जारी गरेको थियो । तर, पछि पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठको निर्देशनमा प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बलि प्रथालाई निरन्तरता दिएको कमिटीले जनाएको छ ।

तर, अन्य वर्षको तुलनामा यस वर्षमा कमि आएको महावीर युवा कमिटीका अध्यक्ष सन्तोष साहले जानकारी दिए ।

कमिटीले हरेक टाउको वापत २ सय रुपैयाँ दस्तुर तोकेको थियो ।

बोका बली प्रदान वापत यस वर्ष कमिटिले १७ लाख ९३ हजार ६ सय रुपैयाँ आयआर्जन गरेको छ । सो मध्ये १० प्रतिशत रकम मन्दिरको कोषमा जम्मा गर्ने कमिटिले जनाएको छ ।

राजदेवी मन्दिरमा चढाइएको पछिल्लो तथ्यांकअनुसार २०६५ सालमा ११ हजार १ सय ३४, २०६६ सालमा ११ हजार ७ सय ९०, २०६७ सालमा १३ हजार ५ सय ५२, २०६८ सालमा १२ हजार ६ सय ५१, २०६९ सालमा १४ हजार ८ सय ६१, २०७० सालमा १४ हजार ८ सय ६१, २०७१ सालमा १४ हजार ७ सय २२, २०७२ सालमा १३ हजार ८ सय १, २०७३ सालमा १४ हजार ६ सय १७, २०७४ सालमा १२ हजार ३ सय ७, २०७५ सालमा १४ हजार ९ सय ९७ वटा बोका बलिमा चढाइएको थियोे ।

त्यस्तै गत वर्ष १४ हजार ६ सय ३३ वटा बोका बलि प्रदान गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप