शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाको कहरले चाडपर्वको रौनक भएन ?

यी एक दर्जन फिल्म जसले तपाईलाई मनोरञ्जन प्रदान गर्न सक्छन्
आइतबार, ०९ कात्तिक २०७७, १२ : २०
आइतबार, ०९ कात्तिक २०७७

काठमाडौं । दसैँको रमझम चलिरहेको छ । दसैँको आफ्नै धार्मिक एवं सांस्कृतिक मान्यता भए पनि कतिपयले मिठो खाने, राम्रो लगाउने र आफन्त भेटघाट गर्ने अवसरको रुपमा पनि दसैँलाई लिने गरेका छन् ।

तर विगतमा जस्तो यो वर्षको दसैँ उल्लासमय भने छैन । कोरोनाको कहरका कारण घरभित्रै सीमित रहेर दसैँ मनाउनुपर्ने बाध्यता छ । घरमा त्यसै बस्नुपर्दा कतिपयलाई समय बिताउन कठिन हुनसक्छ । यस्तो अवस्थामा मनोरञ्जन र समय कटाउने हिसाबले फिल्म हेर्नु पनि उपयुक्त विकल्प हुन सक्छ । तर कुन फिल्म हेर्ने ? धेरैमा प्रश्न उब्जिन सक्छ । पाठकहरुको यही जिज्ञासालाई मेट्न हामीले मनोरञ्जन एवं समय कटाउनका लागि उपयुक्त हुन सक्ने एक दर्जन फिल्मको सूची तयार पारेका छौँ ।

पशुपति प्रसाद 

दीपेन्द्र के. खनाल निर्देशित ‘पशुपति प्रसाद’ सन् २०१६ को उत्कृष्ट नेपाली फिल्म हो । बाबुको इच्छा, आकांक्षा पूरा गर्न लागिपर्ने एउटा युवाको संघर्षमा केन्द्रित छ यो फिल्म । राष्ट्रिय पुरस्कार प्राप्त यो फिल्ममा अभिनेता खगेन्द्र लामिछानेको मुख्य भूमिका छ । समीक्षक तथा दर्शक दुवैले रुचाएको यो फिल्मले अन्त्यमा दर्शकको आँखाबाट आँशु खसालिदिन्छ ।

द लन्चबक्स 

रितेश बत्रा निर्देशित सन् २०१३ को ‘द लन्चबक्स’लाई ओस्कारका लागि भारतको प्रतिनिधित्व गर्नसक्ने फिल्मका रुपमा लिइएको थियो । तर गुजराती फिल्म ‘द गुड रोड’लाई ओस्कारमा पठाइयो । थुप्रै अवार्डका लागि मनोनित र पुरस्कृत यस फिल्मको सबैभन्दा ठूलो उपलब्धि भनेको बेलायतको ओस्कार अर्थात् बाफ्टा अवार्डमा विदेशी भाषाको उत्कृष्ट फिल्म विधामा मनोनित हुनु रह्यो । यसलाई अभिनेता इरफान खानको सम्झना योग्य फिल्म मानिन्छ ।

लुट 

निश्चल बस्नेतको निर्देशन रहेको फिल्म ‘लुट’ सन् २०१२ मा निर्माण भएको हो । ‘क्राइम एक्सन’मा आधारित यो सुपरहिट फिल्म हो । लगभग संकटकाल घोषणाको हाराहारीमा पुगेको नेपाली फिल्म उद्योगलाई यसले फेरि ब्युँताउने काम गरेको थियो । नेपाली फिल्मको ‘ट्रेन्ड’ परिवर्तन गर्ने फिल्मको रुपमा पनि यसलाई लिइन्छ । फिल्म निर्माणको परम्परागत धारलाई परिवर्तन गर्न यो फिल्म सफल भएको थियो ।

छिटै धनी बन्न चाहन्थे पाँच युवाले बैंक चोर्ने योजना बनाएको कथामा आधारित फिल्ममा मुख्य भूमिका निर्वाह गरेका दयाहाङ राई, सौगात मल्लले अहिलेसम्म पछि फर्केर हेर्नु परेको छैन ।

लाइफ इज ब्युटीफुल 

यो इटालियन फिल्म हो । बाबु र छोरा एउटा नाजी क्याम्पभित्र थुनिएको कथामा बनेको फिल्ममा नाजी क्याम्पभित्रको त्रासदीपूर्ण वातावरणबाट आफ्नो छोरालाई मनोवैज्ञानिक रुपमा जोगाउन एकबुबाले जोकरसरह गरेको व्यवहार देखाइएको छ । एकातिर रमाइलो र अर्कोतिर पीडादायक अनुभूतिलाई फिल्मले एकसाथ प्रवाह गरेको छ । शासकले तहसनहस गर्दैमा जीवन तहसनहस हुँदैन । कहीँ न कहीँबाट जीवन उदाएर आउँछ । जीवन एकदमै सुन्दर छ । फिल्मले दिने मुख्य सन्देश यही हो ।

जात्रा 

‘जात्रा’ हास्यप्रधान फिल्म हो । प्रदीप भट्टराईले निर्देशन गरेको फिल्म अभावमा बाचिरहेका तीन पात्रले आकस्मिक रुपमा ठूलो धनराशी भेटेपछि धन पचाउन गर्ने संघर्षको विषयमा फिल्म बनेको छ । रमाइलो प्रस्तुति, स्वाभाविक अभिनय, रसिलो–चोटिलो सम्वादले भरिएको फिल्ममा बिपिन कार्की, रवीन्द्र झा र रवीन्द्रसिंह बानियाँको मुख्य अभिनय छ । फिल्ममा वर्षा राउत, प्रेक्षा बज्राचार्य, प्रकाश घिमिरेको समेत अभिनय देख्न सकिन्छ ।

उडान 

‘उडान’ विक्रमादित्य मोत्वानको डेब्यु निर्देशनमा बनेको फिल्म हो । सन् २०१० को कान्स फिल्म फेस्टिभलको ‘अनसर्टेन रिगार्डस्’ सेक्सनमा छनोट हुन सफल फिल्म बाउछोराबीचको ‘जेनरेसन ग्याप’को कथामा निर्माण भएको छ ।

फिल्मले बक्स अफिसमा सफलता हात पार्न नसकेपनि समीक्षकका नजरमा उत्कृष्ट ठहरिएको थियो ।

द पियानिस्ट 

राम्रो फिल्ममध्ये ‘द पियानिस्ट’ पनि एक हो । यसलाई रोमन पोलस्कीले निर्देशन गरेका हुन् । फिल्मले हिटलरको नरसंहार कालखण्डको कथा बाचन गरेको छ । यो पोल्यान्डमा भएको दुईवटा घटनामा आधारित छ ।

यसले एउटा पियानो बजाउने मानिसले पियानोकै कारण सोच्न पनि नसक्ने वातावरणमा बाँच्नका लागि गरेको संघर्षको कथा भन्छ । उसले भोगेको अकल्पनीय यातनामय जीवनको कथा हो यो ।

पिएटा 

दक्षिण कोरियाली निर्देशक किम कि दुकको ‘पिएटा’ अन्तर्राष्ट्रिय रूपमा तहल्का मच्चाउन सफल फिल्म मानिएको छ । सन् २०१३ को यो फिल्मले ६९ औँ भेनिस फिल्म फेस्टिभलमा उत्कृष्ट अवार्ड ‘गोल्डेन लायन’ जितेको थियो । उक्त अवार्ड जित्ने यो पहिलो कोरियाली फिल्म हो ।

द रेभनेन्ट 

हलिउड अभिनेता लियोनार्दो डि क्याप्रियोलाई अभिनयमा ओस्कार अवार्ड दिलाउन सफल फिल्म ‘द रेभनेन्ट’लाई मेक्सिकन निर्देशक अलेज्यान्द्रो गोन्जालेज इनारितुले निर्देशन गरेका हुन् । सन् २०१५ को यस फिल्ममा लगभग दुई सय वर्षअघिको सेटअप छ । फिल्मको छायांकन गर्दा कृत्रिम प्रकाशको प्रयोग गरिएको थिएन ।

कबड्डी 

सिक्वेलमा सबैभन्दा पहिले बनेको फिल्म हो ‘कबड्डी’ । त्रिकोणात्मक प्रेमकथामा आधारित यो फिल्म मुस्ताङको सुन्दर परिवेशमा खिचिएको हो । मैया (रिश्मा गुरूङ) लाई फकाउन काजी (दयाहाङ राई) र विवेक (सौगात मल्ल)बीच हुने होड नै फिल्मको रमाइलो पक्ष हो । फिल्मले गुरुङ समुदायको कथा उठाएको छ । फिल्ममा विजय बराल, बुद्धि तामाङलगायतका कलाकारको पनि अभिनय छ । ‘कबड्डी’को तीन सिक्वेल बनेको छ । सबै सिक्वेलमध्ये धेरै दर्शकले रुचाएको ‘कबड्डी’ नै हो ।

बाबेल 

यो एक सन्देशमुलक फिल्म हो । यसका सम्बन्धमा एक अर्काेलाई बुझ्नु छ भने एकले अर्काको कुरा सुन भन्छ । एक ठाउँको मानिस अर्काे ठाउँमा गएर बस्ने क्रम निरन्तर चलिरहेको हुन्छ । यसले गर्दा हामी एक अर्काको भाषा बुझ्दैनौँ, संस्कृति बुझ्दैनौँ । नबुझे पनि कम सेकम सुन र त्यो सुनाइले उसको अनुहारमा देखिएको पीडालाई अनुभूति गर भन्छ ‘बाबेल’ले ।

त्यस कारण पनि यो फिल्म सुन्दर छ । फिल्ममा तीन देशका परिवारको संघर्ष छ । ती मानिसको घटना, परिघटना एक अर्काेसँग बाँधिएको देखाइएको छ । यसले जीवन जहाँ भए पनि कतै न कतै, कोही न कोहीको जीवन गाँसिएको महसुस गराउँछ । यसका निर्देशक एलेजान्द्रो गोन्जालेज इनारितु हुन् । मेक्सिकोका यी निर्देशक दक्षिण अमेरिकी फिल्महरूको प्रतिनिधि मानिन्छन् ।

साँघुरो 

‘साँघुरा’ेलाई नेपाली फिल्मको दायरा फराकिलो बनाउने फिल्म मानिन्छ । यौन मनोविज्ञानमा आधारित यो फिल्ममा सहरमा बस्ने गरिब परिवारको कथा छ । यसमा शुशांक मैनाली, दिया मास्के, अरुणा कार्की र दयाहाङ राईको मुख्य भूमिका छ ।

सुकुम्बासी बस्तीको एउटा छाप्रोभित्र दुःखसुख जिन्दगी कटाइरहेका आमा र छोराबीच जोडिन आएकी बुहारीको कथा फिल्मले भन्छ । सानो कथा, सानै परिवेश, मानवीय कुण्ठा र मनोविज्ञानको सुक्ष्म चित्रण यो फिल्मको सबल पक्ष हो । जोयस पाण्डेको निर्देशन रहेको फिल्म विनोद पौडेलले लेखेका हुन् । समीक्षकले फिल्मलाई उत्कृष्ट मानेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप