बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

फ्रन्टलाइनमा खटिने चिकित्सकले यसरी मनाउँदैछन् दसैँ

आइतबार, ०९ कात्तिक २०७७, ०९ : ३४
आइतबार, ०९ कात्तिक २०७७

काठमाडौं । नेपालमा कोरोनाभाइरसको संक्रमण समुदायस्तरमा फैलिएका बेला हिन्दु धर्मावलम्बीहरुको महान् पर्व बडादसैँ सुरु भएको छ । नेपालमा कोरोना संक्रमितको संख्या बढेसँगै सरकारी तथा निजी अस्पतालका स्वास्थ्यकर्मी निरन्तर कोभिड—१९ का बिरामीको सेवामा जोखिम मोलेर खटिरहेका छन् । यस्तो अवस्थामा हिन्दुहरुको महान पर्व दसैँ भित्रिएको छ । तर कोरोनाविरुद्ध फ्रन्टलाइनमा खटिनु परेका कारण उनीहरु यसपाली आफूहरुका लागि दसैँले उल्लास ल्याउन नसकेको बताउँछन् ।

अघिल्ला दसैँमा अस्पतालका चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरुले आलोपालो कार्यतालिका मिलाएर बडादसैँ मनाउँथे । तर अहिले त्यस्तो अवस्था छैन ।

कोभिड—१९ संक्रमितको संख्या बढेसँगै उपत्यकाका अस्पतालहरु बिरामीहरुले भरिन थालेका छन् । जोखिम मोलेर फ्रन्टलाइनमा खटिएर बिरामीको सेवा गर्दै आएका स्वास्थ्यकर्मी तथा चिकित्सकको ०७७ सालको बडादसैँ मनाउने शैली फरक भएको छ ।

यसै क्रममा केही चिकित्सक एवं स्वास्थ्यकर्मीले कोभिड—१९ का बिरामीको सेवामै समर्पित भएर बडादसैँ मनाउँदै छन् भने केहीले जनस्वास्थ्य मापदण्ड पालना गरी आफन्तजनबाट टीका तथा आशिर्वाद ग्रहण गर्ने योजना बनाएका छन् ।

बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालमा कार्यररत डा. रुपक महर्जनको दसैँ बिरामीको सेवा मै खटिएर बित्ने भएको छ । अघिल्ला दसैँमा अस्पतालमा न्यून संख्यामा स्वास्थ्यकर्मीमात्र बिरामीको हेरचाहमा खटिएर पालैपालो दसैँ मनाउन गएको उनी सम्झन्छन् ।

नेपाल एपीएफ अस्पतालमा कोभिड—१९ का बिरामीको मात्रै उपचार हुने भएकाले पछिल्ला दिनमा संक्रमण भएर स्वास्थ्यमा जटिल समस्या देखिएका बिरामीको चाप बढेको छ । त्यसैले यसपालीको बडादसैँ बिरामीको सेवामा खटिएर मनाउनुपर्ने अवस्था आएको उनको भनाइ छ ।

हाल महामारीको कारण लक्षणसहितका बिरामीले अस्पतालका बेड भरिभाउ हुँदा दसैँ आयो भनेर मनमा उत्साह नै नछाएको  डा. महर्जन ठान्छन् ।

ग्राण्डी अस्पतालमा कोभिड—१९ का बिरामीको सेवामा खटिएका सरुवा रोग विशेषज्ञ डा.प्रभात अधिकारीलाई पनि दसैँ आएजस्तो महसुस भएको छैन । संक्रमित बिरामीले बेड नपाएर विभिन्न अस्पतालमा चहारेको देख्दा, बेडका लागि बिरामीका आफन्तले सोधखोज गरिरहँदा चाडपर्वको उल्लास नै हराएको उनको भनाइ छ ।

अस्पतालका नर्स, डाक्टर तथा अन्य स्वास्थ्यकर्मी जतिबेला पनि संक्रमितकै रेखदेखमा बस्नुपर्ने भएकाले चाडपर्व मनाउने अवस्था नरहने डा. अधिकारी बताउँछन् । ‘त्यसैले हामी स्वास्थ्यकर्मीका लागि यसपालीको दसैँ हर्ष न विस्मत जस्तै भएको छ,’ उनले भने ।

डा. अधिकारीले बडादसैँमा टीका एवं आशिर्वाद थाप्न आफन्तजनको घर नजाने निधो गरेका छन् । अस्पतालमा कोभिड —१९ का बिरामीसँग घुलमिल हुन थालेपछि जनस्वास्थ्यका मापदण्ड अपनाएर घरमा छुट्टै बसेका अधिकारीले मातापिताको हातबाट टीका तथा आशिर्वाद थापेर कार्यक्षेत्रमा फर्किने योजना बनाएका छन् ।

यता वीर अस्पतालमा दिनरात कोभिड—१९ का बिरामीको सेवामा खटिइरहेका डा.अच्युत कार्कीले विगतमा आफन्तजन, साथीभाइ भेटघाट गर्ने गरेर रमाइलोसँग दसैँ मनाउथे । तर यसपालीको दसैँ भने घरका सदस्यसँग सीमित रुपमा मनाउने योजना उनले बनाएका छन् ।

पञ्जा, मास्क लगाएर, सामाजिक दूरी कायम गरेर प्रत्येक पटक हात धोएर एक पटकमा एक जनाबाट मात्रै टीका तथा आशिर्वाद थाप्ने उनी सुनाउँछन् ।

बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरु पालोपालो गरेर क्वारेन्टिनमा बस्नुपर्ने भएकाले अस्पतालमा जनशक्ति सीमित हुने र धेरै स्वास्थ्यकर्मीले अस्पतालमै बिरामीको सेवामा खटिएर बडादसैँ मनाउने योजना बनाएको उनको भनाइ छ ।

कोभिड—१९ का बिरामीको उपचारको लागि भनेर सरकारले सुरुमै तोकेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन सुरुदेखि नै घरमा आमाबुवा तथा परिवारका अन्य सदस्यसँग जनस्वास्थ्य मापदण्ड पालना गरेर छुट्टै बस्दै आइरहेका छन् । तर दसैँमा भने मास्क, पञ्जा लगाएर अथवा सुरक्षाको मापदण्ड पालना गरेर टीका तथा आशिर्वाद ग्रहण गर्ने योजना रहेको उनले बताए ।

टीकाको दिन केहीबेरका लागिमात्रै अभिभावकसँग आमनेसामने हुने निधो गरेको उनी सुनाउँछन् । घरका सदस्यबीचमा टीका तथा आशिर्वाद आदानप्रदान गरेपछि आफ्नो कोठामा फर्किएर खानपान गर्ने र नियमित काममा फर्कने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप