बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

आचारसंहिताविपरीत गुप्तचर अधिकारीसँग प्रमको भेट किन ? : श्रेष्ठ

आइतबार, ०९ कात्तिक २०७७, ०९ : ०५
आइतबार, ०९ कात्तिक २०७७

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतीय गुप्चर संस्था ‘रअ’ सामन्त गोयलसँग पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको भेटलाई कूटनीतिक मुल्य र आचारसंहिताविपरीत भएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका श्रेष्ठले प्रश्न गरेका छन्, ‘कूटनीतिक मुल्य र आचारसँहिता विपरीतको विदेशी गुप्तचर अधिकारीसँग प्रमको भेट किन ? यसप्रकारको कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा र कूटनीतिक ओझ गिर्ने मात्र होइन ,अन्ततः राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने काम हुन सक्दछ  ।’

‘भारतको गुप्तचर संस्था ‘रअ’ प्रमुख सामन्त गोयल विमान नै चार्टर गरी आफ्नो टोली सहित नेपाल आएर हाम्रा प्रधानमन्त्रीसँग वार्ता गरेर फिर्ता भएछन् । प्रधानमन्त्री ओलीले परराष्ट्र मन्त्रालयको संस्थागत जानाकारी र उपस्थिति बिना उनलाई भेट्नुभएछ,’ उनले आफ्नो निजी विचार भन्दै लेखेका छन्, ‘हाम्रो पार्टीलाई यसबारेमा कुनै पूर्वजानकारी थिएन र पछि पनि पार्टीमा यसबारेमा कुनै संस्थागत एवम् औपचारिक छलफल भएको छैन ।’

उनले देशको प्रधानमन्त्रीले बिना कुनै निर्धारित कार्यसूची विदेशी गुप्तचर संस्थाको अधिकारीसँग कुटनीतिक मर्यादाविपरीत समकक्षीझैँ औपचारिक वार्ता गरेको नेपालको राजनीतिक एवम् कूटनीतिक ईतिहासमा यस प्रकृतिको यो पहिलो घटना भएको बताएका छन् ।

‘नेपालको राष्ट्रिय अनुसन्धान विभागको प्रमुखले आफ्नो समकक्षीलाई निश्चित बिषयमा छलफल गर्न भ्रमणको लागि निमन्त्रणा गरेको हो भने कूटनीतिक मर्यादा अनुरुप शिष्टाचार भेट हुन सक्दथ्यो । त्यो होइन भन्ने स्पष्ट भइसकेको छ,’ उनले लेखेका छन्, ‘विदेशी सरकार प्रमुखले औपचारिक रुपमा आफ्नो विशेष दूतका  रुपमा अख्तियार प्रदान गरी पठाएको हो भने पनि सन्देश सुन्ने र प्रत्युत्तर सन्देश पठाउने गरी कुरा हुन सक्दथ्यो । तर त्यस्तो पनि देखिएन । त्यसैले गम्भीर प्रश्न उठ्छ ।’

केही दिन गोरखा र चितवनको भ्रमण गरी काठमाडौं फर्किएको छु । यसबिचमा भारतको गुप्तचर सँस्था 'र 'प्रमुख सामन्त गोएल बिमान नै...

Posted by Narayan Kaji Shrestha on Saturday, October 24, 2020

रअ का प्रमुख गोयल कात्तिक ५ गते विशेष विमानबाट नेपाल आएर सोही राती प्रधानमन्त्री निवासमा गएर प्रधानमन्त्री अ‍ोलीसँग ३ घण्टा लामो छलफल गरेका थिए । गोयल र प्रधानमन्त्री अ‍ोलीबीचको भेट विशेषतः देशको समसामयीक राजनीतिक घटनाक्रममा केन्द्रीत रहेको उनको सचिवालयले जानकारी दिएको छ ।

पछिल्लो समयमा नेकपामा देखिएको विवादलाई गोयलले चासोपूर्वक लिएर कुराकानी गरेको भारतीय दूतावास स्रोतले जनाएको छ । नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच पार्टी विवाद उत्कर्षमा पुगेको छ । यो विवादलाई भारत र चीनले नजिकबाट नियाली रहेको छ ।

भारतका सेना प्रमुख पनि नेपाल भ्रमणमा आउन लागेका छन् । कतिपयले त्यसको तयारीमा आएको दाबी गरिरहेका छन् । यद्यपि, प्रधानमन्त्री ओली कै निमन्त्रणामा गोयल नेपाल आएर फर्केको स्रोत बताउँछ । रअ प्रमुख गोयलले नेकपाका अन्य नेताहरु भेटेका छैनन् । अन्य नेताहरुसँग भेट्ने उनको कार्यसूची थिएन । उनले प्रतिपक्षी दल शेरबहादुर देउवालाई भने भेटेको स्रोतले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप