सिजनको पहिलो क्लासिकोमा रियल विजयी
सिजनको पहिलो एल क्लासिकोमा रियल म्याड्रिडले बार्सिलोनलाई पराजित गरेको छ । रियलले बार्सिलोनालाई उसैको घरेलु मैदानमा ३–१ गोलअन्तरले पराजित गरेको हो । रियलले बार्सिलोनालाई क्याम्प नाउमा हराएको सन् २०१६ को अप्रिलपछि पहिलोपटक हो ।
निकै रोमाञ्चक बनेको खेलमा रियलले खेलको पाँचौँ मिनेटमा नै अग्रता लिएको थियो । करिम बेन्जेमाको पासमा फेडेरिको भालभर्डेले रियललाई अग्रता दिलाए । तर, तीन मिनेटपछि नै अन्सु फातीले बराबरी गोल फर्काए ।
पहिलो हाफमा करिम बेन्जेमा र लियोनेल मेस्सीले आ–आफ्नो टोलीलाई अग्रता दिलाउने अवसर गुमाएका थिए । दुवै क्लबका गोलकिपरले उत्कृष्ट प्रदर्शन गर्दै खेल १–१ को बराबरीमा राख्न सफल भएका थिए ।
दोस्रो हाफमा बार्सिलोनाले सुधारिएको प्रदर्शन गर्दै रियलमाथि दबाब राख्ने प्रयास गरेको थियो । तर, खेलको ६३ औँ मिनेटमा रियलले पेनाल्टी पायो जसलाई कप्तान सर्जियो रामोशले सजिलै गोलमा परिणत गरे ।
रियलले अग्रता लिएपछि बार्सिलोना आक्रामक बन्न बाध्य बन्यो । जसको फाइदा उठाउँदै लुका मोड्रिचले गोल गर्दै रियलको जीत सुनिश्चित गरे ।
जीतसँगै काडिज र शाख्तार डोनेस्कसँग लगातार हार ब्यहोरेपछि दबाबमा रहेका रियलका म्यानेजर जिनेदिन जिदानलाई केही राहत मिलेको छ ।
सन् २००८ पछि बार्सिलोनाविरुद्ध लगातार दुई जीत निकाल्दै रियल लिगको शीर्ष स्थानमा उक्लिएको छ । बार्सिलोना भने स्पेनिस ला लिगामा लगातार तीन खेलमा जीतविहीन बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी