बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

यस्ता छन् कलाकारका दसैँ योजना

शनिबार, ०८ कात्तिक २०७७, ०८ : ५६
शनिबार, ०८ कात्तिक २०७७

नेपालीको महान् पर्व दसैँ घरआँगनमा भित्रिसकेको छ । सपिङ, आफन्त भेटघाट र रामरमाइलो गर्ने अवसरका रूपमा दसैँलाई लिने गरिएको छ । व्यावसाय, जागिर, अध्ययन, रोजगारीका लागि घरबाट टाढा देश तथा विदेशमा रहेकाले समेत घर फर्कने अवसरको रूपमा दसैँलाई लिने गर्छन् । घरपरिवार, साथीभाइ र आफन्त भेट्ने, राम्रो लगाउने र मीठो खाने एक किसिमको अवसर पनि हो । दसैँ मान्यजनबाट आशीर्वाद ग्रहण गर्ने एउटा पर्व पनि हो ।
तर विगतका वर्षजस्तो यो वर्षको दसैँ त्यति उल्लासमय भने छैन । जताततै कोरोना कहरका कारण डरैडरमा दसैँ मनाउनुपर्ने बाध्यता रहेको छ । खुलेर सपिङ, भेटघाट, रामरमाइलो गर्नुको सट्टा घरमै सीमित रहेर मनाउनुपर्ने बाध्यता छ । कतिपय त कोरोनाको डरका कारण घर फर्किन समेत पाएका छैनन् । हाम्रा कलाकारहरूको अवस्था पनि त्यस्तै छ । कतिपय कलाकार कोरोनाको डरले सपिङदेखि गाउँ फर्कनसमेत नपाएका गुनोसो गर्दछन् । केही भने गाउँ पुगिसकेको र केही गाउमै गएर दसैँ मनाउने योजना रहेको सुनाउँछन् । कलाकारको दसैँ योजना उनीहरूकै शब्दमा ।

कोमल वली (गायिका/सांसद)
मेरा लागि दसैँ प्रिय पर्व हो । दसैँ म दाङमा मनाउँदैछु । दसैँ अवधिभर पनि जनताको काम गर्न चाहन्छु । कोरोनाको प्रकोपको कारण यो दसैँ परिवारभित्र मात्र टीका लगाउने योजना रहेको छ । सबैलाई सतर्क रहेर दसैँ मनाउन समेत अनुरोध गर्दछु । कोरोना नियन्त्रण भएपछि अर्काे वर्ष मज्जाले मनाउँला । दसैँमा किनमेल गर्ने गर्दिनँ । जे छ त्यसैमा मनाउँछु । दसैँको टीका लगाएर अग्रजसँग आशीर्वाद लिने पक्ष मलाई सारै मनपर्छ ।

कृष्ण मल्ल (कलाकार)
कोरोना महामारीका कारण यो वर्षको दसैँका लागि म त्यति उत्साहित छैन । काठमाडौँमै परिवारसँग साधारण हिसाबले मनाउने सोच बनाएको छु । किनमेल खासै गरेको छैन । 

सञ्चिता लुइँटेल (अभिनेत्री)
यो पटकको दसैँ काठमाडौँमै मनाउँछु । हामी घरको परिवार मात्र बसेर मनाउने योजना बनाएका छौँ । पहिले त म दसैँको ९ दिन निराहार व्रतसमेत बस्थेँ । यो पटक कोरोनाका कारण फलफूल खाएर दुर्गाको पूजा गर्छु । निखिलजी, म र छोराछोरी मात्र दसैँमा सँगै हुन्छौँ ।

दीपकराज गिरी (कलाकार)
दसैँ सधैँ चन्द्रागिरी नगरपालिकाको दहचोकमा मनाउने गरेको छु । त्यहाँ मेरो बाल्यकालको सम्झना गाँसिएको छ । खल्तीमा ५ रूपैयाँ राखेर आफूलाई लखमती महसुस गर्दै लङ्गुरबुर्जा खेलेको, चङ्गा उडाउँदै खेतैखेत गाली खाँदै दगुरेको, आफूभन्दा ठूलासँग आशीर्वाद थाप्दा दक्षिणातिर ध्यान दिएको, हजुरबुबाले किनिदिएको खद्दरको सस्तो लुगा लगाएर ब्रान्डेडको भन्दा हजारौँ गुना आनन्द लिएको अहिले कहाँ भुल्न सकिन्छ र ?
विगत ८ वर्षदेखि म माछामासु खान्न । उमेर बढेसँगै जिम्मेवारी पनि बढ्यो । जिम्मेवारीले दसैँको रमाइलो कम हुँदैजाने रहेछ । कोरोनाको कारण यो वर्ष आफूभन्दा ठूला कहाँ गएर आशीर्वाद लिन सकिन्न ।

भोलाराज सापकोटा (कलाकार)
जन्मघर हेटौँडा फर्कन्छु होला । जन्मघरमा दसैँ मनाउँदा निकै आनन्द लाग्छ । त्यहाँ टीका थापेर बुबाको आशीर्वाद समेत लिन पाइन्छ । दसैँका लागि किनमेल केही गरेको छैन । कोरोनाको कारण गर्दिनँ होला । अहिले ज्यानको सुरक्षा गर्नेबेला हो । किनमेल पछि गरौँला ।
 
कस्तुप पन्त (लोकगायक)
दसैँमा जन्मथलो पर्वतको लिमिठान जान्छु । उमेरले एक सय पुग्न लागेकी हजुरआमा हुनुहुन्छ । उहाँसँग टीका थापेर आशीर्वाद समेत लिन्छु । यस वर्ष सामान्य किनमेल गरेँ । भर्खरै मेरो गीत ‘जिन्दगी पानीको फोका’ आएको छ । त्यसको प्रमोसनले धेरै किनमेल गर्न भ्याइएन । स्वास्थ्यको ख्याल गरेर दसैँ मनाउन सबैमा अनुरोध गर्दछु ।

मनोज गजुरेल (हास्य कलाकार)
यो पटकको दसैँ काठमाडाैंमै हुन्छु । किनमेल हुँदैछ । दसैँको रमाइलो पक्ष भेटघाट र घुमघाम हो । तर कोरोनाको कारण यस पटक दुवै हुन सक्दैन । यो पटक अनलाइनबाटै दसैँ मनाऔँ । अर्काे वर्ष फिल्डमा मज्जाले रमाउला ।

नवल खड्का (अभिनेता)  
कोरोनाले सबै क्षेत्र जस्तै हाम्रो फिल्म क्षेत्र पनि कोमामा पुर्याएको छ । मेरो छायाङ्कन तयारीमा रहेको फिल्म ‘सिमाना काँडेतार’ समेत रोकियो । म दसैँ मनाउन विराटनगर आएको छु । मेरो लागि यो अग्रजबाट आशीर्वाद लिने, वर्षाैंदेखि भेट नभएका साथीभाइ भेट्ने र रमाइलो गर्ने अवसर हो । कोरोनाका कारण आफन्तका आशीर्वाद लिन जान यो वर्ष सकिन्न । छोराछोरीका लागि केही सपिङ गर्छु । सबैलाई सचेत रहेर दसैँ मनाउन अनुरोध गर्दछु ।

रजनी केसी (अभिनेत्री)
यो दसैँ विगतको जस्तो उल्लसमय छैन । कोरोनाको कारण जताततै त्रास छ । तर पनि आफ्नो परम्परा, धर्मसंस्कृतिलाई निरन्तरता दिन मनाउनुपर्छ दसैँ । म यसपालिको दसैँ काठमाडौँमा मनाउँदैछु । ममीको हातबाट टीका थापेर आशीर्वाद लिन्छु । सामाजिक दूरी कायम गर्नुपर्ने भएकाले आफन्तकोमा टीका थाप्न जाने स्थिति छैन । दसैँका लागि भनेर सपिङ गरेकी छैन । पहिले पहिले जन्मघर नुवाकोट गइन्थ्यो । पिङ खेलिन्थ्यो । यो पटक सम्झना मात्र हुने भयो ।

सीताराम पोखरेल (गायक)
दसैँ सधैँ विराटनगरमा मनाउँदै आएको छु । अहिले पनि विराटनगर आइसकेँ । कोरोनाको कारण यो पटक आमाबुबाको हातबाट मात्र टीका थाप्ने हो । आफन्तका नजाने भएका छौँ । कोरोनाले यो वर्ष सबैतिर भताभुङ्ग पारेको छ । किनमेल, भेटघाट पनि बन्द भयो । सामाजिक दूरी कायम गरेर दसैँ मनाउन सबैमा अनुरोधसमेत गर्न चाहन्छु । कोरोना नियन्त्रण भयो भने अर्काे वर्ष धुमधामले दसैँ मनाउला ।

गजित विष्ट (अभिनेता)
दसैँ काठमाडौँमै मनाउने हो यो वर्ष । कोरोनाको कारण उपत्यका बाहिर जान सजिलो पनि छैन । आमाबुबा, भाइलगायत सबै यहीँ छन् । टीका थाप्ने आशीर्वाद लिने परम्परा दसैँको धेरै मनपर्छ । कोरोनाको कारण दसैँ आफ्नो परिवारमा सीमित भएर मनाउने योजना छ ।

जीतु नेपाल (कलाकार)
दसैँ लोकन्थलीको घरमा मनाउँछु । अति आवश्यक सामानबाहेक किनमेल नगर्ने, भिडभाडमा नजाने सोच बनाएको छु । दसैँको मनपर्ने दुर्गा देवीको पूजा र मान्यजनबाट आशीर्वाद नै हो । कोरोनाको सतर्कतासाथ सामान्य दसैँ मनाउने हो यसपालि । 

रोहित अधिकारी (फिल्म निर्माता)
अहिले जताततै कोरोनाको कहर छ । त्यसैले दसैँ सामान्य तवरले मनाउने सोच छ । जाँडरक्सी खाने, जुवातास खेल्ने धेरै बानी पनि छैन । अग्रजसँग टीका लगाएर अशीर्वाद थापेर, साथीभाइसँग हल्का गेटटुगेदर गरेर दसैँ मनाइन्छ होला ।

जनकदीप पराजुली (फिल्म निर्देशक) 
यो दसैँ कोरोनालाई मनाउन दिने विचार गरेको छु । हाम्रा लागि त दसैँ हरेक वर्ष आउने गर्दछ । आशा गर्दछु कोरोना अर्काे वर्ष हुनेछैन । दसैँका लागि मेरो केही तयारी, किनमेल र योजना छैन । सामाजिक दूरी कायम गरेर काठमाडौँमै दसैँ मनाउँछु यो वर्ष । मुमाको हातबाट टीका थापेर आशीर्वाद लिन्छु ।

साहिमा श्रेष्ठ (गायिका) 
यो पटकको दसैँ बुटवलमा मनाउँछु । दसैँका लागि किनमेल गरेकी छैन । टीका जमरा लगाएर आफूभन्दा मान्यजनसँग आशीर्वाद दिने चलन दसैँको मलाई मनपर्ने पक्ष हो । कोरोनाको कारण सजग भएर दसैँ मनाउने अवस्थामा छु । 

राज क्षितिज (गायक, अभिनेता)
दसैँ जन्मघर रौतहटमा मनाउँछु । दसैँ मेरा लागि स्पेसल चाड हो । वर्षभरि कामको दौडधुपले थाकेका हामी दसैँको बहानामा आराम समेत गर्न पाउँछौँ । दसैँमा आफन्तसँग भेटघाट समेत हुन्छ । किनमेल गर्न बाँकी छ । कोरोनाका कारणले गर्दा अति आवश्यकबाहेक किनमेल गर्दिनँ । दसैँ हाम्रो धार्मिक आस्थाको चाड भएकाले जेजस्तो अवस्थामा पनि मनउनुपर्छ भन्ने मेरो धारणा हो ।

नम्रता सापकोटा (अभिनेत्री) 
दसैँ म काठमाडौँमै मनाउँछु । पहिले बुटवलको मामा घर पनि जान्थेँ । कोरोनाको कारण यो वर्ष कतै जान नसकिने भयो । घरमै परिवासँगै टीका लगाएर रमाइलो गर्ने योजना छ । काठमाडौँमा कोरोना धेरै फैलिएकाले सपिङसमेत गरेकी छैन । म सजग भएर बसिरहेको छु । सबैलाई सजक रहन अनुरोधसमेत गर्दछु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप