बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कोभिड–१९ पीडित सुत्केरी र गर्भवतीलाई राहत वितरण

शुक्रबार, ०७ कात्तिक २०७७, १४ : ४३
शुक्रबार, ०७ कात्तिक २०७७

सिरहा । कोभिड १९ को जोखिमका बीच सुत्केरी तथा गर्भवती भएका करिव १४ जय घरपरिवारलाई कोभिड किटसहित पोषणयुक्त खाद्यान्न वितरण गरिएको छ । ‘आपतकालीन प्रतिकार्य परियोजना’ अन्तर्गत एक्सनएड नेपाल र स्टेन्डर्ड चार्टर बैंकको साझेदारीमा लहान तथा धनगढीमाई नगरपालिकासँगको समन्वयमा दलित जनकल्याण युवा क्लवले स्थानीय एक हजार ३ सय ५० जना सुत्केरी तथा गर्भवतीलाई पोषण खाद्यान्न र कोभिड किट राहतस्वरुप वितरण गरेको हो ।

एक्सनएड नेपालका प्रदेश प्रमुख शिवनारायण चौधरीले स्थानीय साझेदार संस्थाको मागको आधारमा ‘आपतकालीन प्रतिकार्य परियोजना’ तयार पारिएको बताए । सिरहाका दुई नगरपालिका लहानका ६ वडा र धनगढीमाई नगरपालिकाका ६ वडामा सुत्केरी तथा गर्भवती परिवारलाई राहत हस्तान्तरण गरिएको क्लबका अध्यक्ष उमेश विशुन्केले जानकारी दिए ।

स्थानीय सरकार, स्वास्थ्य स्वयंसेविकाहरुको समन्वयमा सुत्केरी तथा गर्भवतीको छनोट गरिएको संस्थाका कार्यकारी निर्देशक विनोदकुमार विशुन्केले बताए । एक जना सुत्केरी तथा गर्भवतीलाई पोषणयुक्त राहत सहयोगस्वरुप २५ केजी चामल, ५ केजी गहुँको पिठो, ४०० ग्राम सर्वोत्तम पिठो, २ केजी मुसुरोको दाल, एक केजी गेडागुडी, एक केजी नुन, एक लिटर तेलका दरले उपलब्ध गराइएको हो । कोभिड किटको रुपमा एक थान डिजिटल थर्मोमिटर, हात धुने र नुहाउने साबुन उपलब्ध गराइएको छ ।

संस्थाले ढुवानी खर्चसहित एक व्यक्तिलाई ३ हजार ४ सय ८५ रुपैयाँ बरावरको सामग्री उपलब्ध गराइएको जनाएको छ ।

क्यान्सर पीडित बालकलाई सहयोग

यता, सबैला नगरपालिका–१०, खरियनीका राजेश कापरका क्यान्सर पीडित ३ वर्षीय छोरा रितेश कापरको उपचारका लागि मनकारी संस्थाले सहयोग गरेको छ ।

रोजगारीको सिलसिलामा विदेशमा रहेका युवाले बालकको उपचारको लागि सहयोग रकम संकलन गरी जय माँ जानकी समाज सेवा नेपालमार्फत  ४१ हजार ५ सय रुपैयाँ प्रदान गरेको हो ।

क्यान्सर पीडित रितेश उपचारको क्रममा काठमाडौंस्थित कान्ति बाल अस्पतालमा छन् ।

क्यान्सरजस्तो घातक रोगबाट पीडित बालकलाई उपचारको लागि वैदेशिक रोजगारीमा रहेका युवाहरुले सहयोग पठाएको समाजका अध्यक्ष ललितकुमार कामतीले बताए ।

रितेशको उपचारका लागि संकलित रकम जनप्रतिनिधिहरु, राजनीतिक दल र समाजका अगुवाहरुको उपस्थितमा पत्रकार मुकेश यादवले हस्तान्तरण गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप