शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोनाको मारमा बडादसैँको व्यापार, बुटवल बजारमा देखिएन रौनक

शुक्रबार, ०७ कात्तिक २०७७, १४ : ३९
शुक्रबार, ०७ कात्तिक २०७७

बुटवल । हिन्दु धर्मावलम्बीको महान् चाड दसैँ हामी बीच भित्रिसकेको छ । लामो समयदेखिको कोरोना त्रासबीच सबैजना आआफ्नै गच्छेअनुसार दसैँ मनाउने तयारीमा जुटेका छन् ।

तर खर्चिलो पर्व मानिएको दसैँ धान्न यसपाली सर्वसाधारणलाई हम्मेहम्मे परेको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका नाममा चार महिना लकडाउन र त्यसपछिको निषेधाज्ञाका कारण कयौँले रोजगारी गुमाएका छन् भने व्यापार–व्यवसाय चौपट भएको छ । हुँदा खानेका लागि यस्तो अवस्थामा दसैँ धान्न निकै कठिन भएको छ ।

हाल लकडाउन खुकुलो गराइएको भए पनि व्यापार–व्यवसाय चलायमान हुन सकेको छैन । दसैँमा व्यापारको होड चल्ने बुटवलका खाद्यान्न, फेन्सी पसलहरु अहिले सुनसानजस्तै देखिन्छन् भने व्यापारीहरु निराश छन् ।

पश्चिम क्षेत्रको पुरानो बजार एवं तराई र पहाडलाई जोड्ने मुख्य सहरका रुपमा रहेको बुटवल क्षेत्रमा कोरोनाको मारले दसैँमा पनि व्यापार सुस्त भएको व्यापारीहरु बताउँछन् ।

बुटवलको राममन्दिर लाईनमा रहेको सिंगापुर इम्पोरियमका संचालक शंकर कोइराला यतिबेला निराश छन् । दसैँ जति नजिकिँदै जान्छ, बुटवलमा कोरोना संक्रमितहरुको संख्या त्यति नै बढ्दै गएपछि बजारमा चहलपहल नभएको उनको गुनासो छ । विगतको तुलतामा २० प्रतिशतमात्र व्यापार हुने गरेको उनले बताए ।

रातोपाटीसँग उनले भने, ‘गत सालको दसैँको बेला हाम्रोमा एकदेखि डेढलाख रुपैयाँसम्मको कारोबार दैनिक हुने गर्दथ्यो तर अहिले मुस्किलले ३०÷३५ हजारको कारोबार भएको छ ।’ आफूले व्यापार थालेयता कारोबारमा यस्तो मन्दी पहिलो पटक देखेको उनी बताउँछन् ।

दसैँमा कपडापछि अर्को कारोबार हुने वस्तु भनेको खाद्यान्न हो । बुटवल उद्योग वाणिज्य संघका खाद्यान्न समितिका सभापति विष्णुप्रसाद श्रेष्ठले कोरोनाका कारण विगतमा जस्तो कारोबार नभएको रिपोर्ट आफ्नो समितिमा आएको जानकारी दिए ।

खाद्यान्न स्टोरसमेत चलाएका श्रेष्ठले आफ्नो पसलमा पनि विगतका दसैँमाजस्तो चहलपहल नभएको बताए । ‘मान्छेमा कोरोनाको त्रास छ । अनि समान खरिद गर्न पनि निस्किदैनन्,’ उनले भने ।

बुटवलको नेपालगञ्ज रोडमा रहेको श्रेष्ठ टेलरिङका सञ्चालक जीवन परियारलाई विगतका वर्षमा दसैँका कपडा सिलाउन भ्याइ–नभ्याइ हुने गर्दथ्यो । विगतमा दसैँअघि रातभर बसेर कपडा सिलाउने गरेका उनी अचेल साँझ ६ बजे नै घरतिर लाग्छन् ।

‘विगतका दसैँमा ग्राहकलाई तोकिएको समयमा कपडा तयार पारेर दिन सकिएको थिएन,’ उनले भने, ‘एकछिन फुर्सद हुँदैनथ्यो, अहिले फुर्सद नै फुर्सद छ ।’ गत वर्ष दसैँमा पाँच लाख रुपैयाँभन्दा बढीको कारोबार गरेका उनले यो दसैँमा एक लाख रुपैयाँ पनि पुग्न पनि गाह्रो भएको बताए ।

रुपन्देही खुद्रा किराना व्यावसायी संघका अध्यक्ष ज्ञानु न्यौपाने कोरोना महामारीका कारण चार महिना लामो लकडाउन र त्यसपछिको निषेधाज्ञाले उपभोक्ताको क्रयशक्ति नै कमजोर भएकाले व्यापार कम भएको बताउँछन् । दसैँमा विगतको जस्तो चहलपहल नभएको उनको भनाइ छ ।

बुटवल उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष हरिप्रसाद अर्यालले  कोरोनाको संक्रमण बढ्दै जाँदा दसैँमा पनि व्यापार हुन नसकेको बताए ।

रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनीले बजार खुले पनि बिक्री निकै कम भएकाले व्यापारीहरु निराश भएको जानकारी दिए । दसैँमा खाद्यान्न, लत्ताकपडाको व्यापार मुख्य रुपमा हुने गरे पनि यो दसैँमा त्यस्ता सामग्रीको व्यापारमा निकै कमी देखिएको उनको भनाइ छ ।

सीमा बन्दले केही राहत

भारतीय सीमावर्ती क्षेत्र सुनौली बजार नजिकै भएका कारण बुटवल आसपासबाट दसैँमा कयौं ग्राहक किनमेलका लागि सुनौली जाने गरेका थिए । तर कोरोना संक्रमण फैलिएपछि चैतदेखि सरकारले सीमा नाका बन्द गरेको छ । जसका कारण बुटवल, भैरहवा लगायतका क्षेत्रबाट नेपाली ग्राहकहरु भारतीय बजार सुनौली जान पाएका छैनन् । ग्राहकहरु भारतीय बजार जान नपाउँदा नेपाली व्यवसायीलाई थोरै भए पनि राहत पुगेको छ ।

दसैँका लागि घरायसी सामान र लुगाफाटो किन्न सुनौली जाने ग्राहकहरु रोकिएका कारण केही राहत पुगेको रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनी बताउँछन् ।

बुटवल उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष हरिप्रसाद अर्यालले पनि सीमा क्षेत्र बन्द हुँदा केही राहत भएको बताए ।

व्यापारीहरु तनावमा

कोरोनाको मारले लामो समय व्यापार–व्यवसाय चौपट भएर मर्माहत भएका व्यापारीहरुलाई दसैँमा राम्रै व्यापार हुने आशा थियो । तर दसैँमा समेत व्यापार नभएपछि व्यापारीहरु तनावमा छन् ।

कतिपयले त ऋण लिएर व्यापार गरेको जनाउँदै बुटवल उद्योग वाणिज्य संघको खाद्य समितिका सभापति बिष्णुप्रसाद श्रेष्ठले भने, ‘व्यापार नभएपछि ऋण कसरी तिर्ने भन्ने चिन्ता थपिएको छ ।’

बजार अनुगमनको खाँचो

प्रत्येक वर्ष दसैँमा बुटवल उद्योग वाणिज्य संघले सस्तो बजार लगाउने गरेको थियो । आफ्नौ परिसरमा बर्सेनि दसैँमा सस्तो बजार लगाएको बुटवल उद्योग वाणिज्य संघले अहिले कोरोना महामारीका कारण त्यसलाई निरन्तरता दिन नसकेको संघका वाणिज्य उपाध्यक्ष हरिप्रसाद अर्यालले बताए ।

सुपथ मूल्य पसल र सस्तो बजार नहुँदा उपभोक्ताहरु ठगिनसक्ने भन्दै बुटवल उद्योग वाणिज्य संघले सरकारसँगै आफ्नो तर्फबाट समेत बजार अनुगमन गर्ने योजना बनाएको छ ।

बस्तुगत समितिका सभापति श्रेष्ठले भने, ‘सरकारले पनि अनुगमन गर्नुपर्छ, हामीले पनि हाम्रा सदस्यहरुको अनुगमन गर्नेछौँ, उपभोक्ताहरु ठगिनु हुँदैन भन्ने हाम्रो मान्यता हो ।’

लकडाउन तथा निषेधाज्ञाका कारण ७ महिनासम्म व्यापार ठप्प हुँदा धेरै सामानहरुको म्याद सकिएको हुनसक्ने बताउँदै उनले तीे सामान सम्बन्धित डिलर र उद्योगसम्म पु¥याउने समय व्यवसायीलाई दिनुपर्ने प्रस्ट पारे । ‘अनुगमनका नाममा एकैपटक कारवाही गर्नुभन्दा म्याद गुज्रिएका सामानहरु छुट्याउने समय बिक्रेताहरुलाई दिनुपर्छ,’ उनले भने ।

उपभोक्ता मर्कामा

दसैँको मुखमा आएर बजारमा केही खाद्य वस्तुको मूल्यवृद्धि भएको छ । व्यापारीहरुका अुनसार खानेतेल, चना, चिनी आदिको होलसेल मूल्य बढेको हो । जसका कारण उपभोक्ता मर्काका परेको रुपन्देही खुद्रा किराना व्यवसायी संघका अध्यक्ष ज्ञानु न्यौपानेले बताए ।

ठुला–साना सबै व्यापारीकोमा बजार अनुगमन गर्नुपर्ने खाँचो उनले औंल्याए । उनले दसैँको मुखमा होलसेलमा चना, तेल, चिनी आदिको मूल्यवृद्धि किन भयो भन्नेबारे आफूहरुले बुझ्न नसकेको बताए ।

‘एक त उपभोक्ताको क्रयशक्ति घटेको छ, थौरै सामान किन्ने गरेका छन्, त्यसमाथि पनि महँगी बढ्दा उपभोक्ता र साना किराना पसलेहरु मारमा परेका छन्,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप