शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपामा गुटको विवाद जिल्लासम्म पुग्यो : एक जनाले ज्यान नै गुमाए

रहवर अन्सारी भन्छन्, ‘ओली गुटले नियोजितरुपमा घटाएको घटना’
शुक्रबार, ०७ कात्तिक २०७७, १३ : ४४
शुक्रबार, ०७ कात्तिक २०७७

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली र प्रचण्ड गुटबीच भएका झडपमा एकजनाको ज्यान गएको छ । पर्साको विन्दवासिनी गाउँपालिका वडा नम्बर–५ परसौनी भाटामा विहीवार पार्टी समायोजनपछि भएको सपथग्रहण कार्यक्रमा दुई पक्षबीच झडप हुँदा पार्टीका सो गाउँपालिका सचिव मुकेश चौरसिया निधन भएको पर्साका एसपी गङ्गा पन्तले बताइन् ।

झडपमा चौधरीलगायत ८ जना घाइते भएका थिए । उनीहरुको उपचार वीरगञ्जको विभिन्न अस्पतालमा चलिरहेको थियो । तीनजनाको हिजो नै डिस्चार्ज गरियो । मुकेश चौरसियाको उपचार भेन्टिलेटरमा राखेर उपचार चलिरहेको बेला आज विहान उनको निधन भएको एसपी पन्तले बताइन् ।


वीरगञ्ज उपमहानगरपालिकाका अध्यक्ष रहवर अन्सारीले ओली गुटका केही कार्यकर्ताहरु आएर सपथ ग्रहण चलिरहेकै बेला हुलदङ्गा मचाएको आरोप लगाए । उनीहरु झगडा गर्ने मनसायले नै आएको दावी गर्दै उनले साथमा लठी तथा भाटाहरु पनि ल्याएको बताए । ‘सपथग्रहण कार्यक्रममा सहभागीका लागि दुवै पक्षलाई जानकारी थियो तर समायोजनमा के कुरामा चित्त बुझेन अनि आएर सिधै मारपिट नै गर्न थाले,’ उनको आरोप छ ।

तर जिल्ला अध्यक्ष प्रभु हजरा भन्छन्, ‘यो कुनै गुटबीचको झडप थिएन, पार्टीभित्र असन्तुष्ट व्यक्तिहरुले यस्तो गरेका छन् । समायोजनामा पद बाँडफाँड हुँदा जसले पद पाएन उनीहरुले आफ्नो असन्तुष्टि व्यक्त गर्दा झडप भयो । दुर्भाग्यवस यस्तो घटना हुन गएको उनले बताए ।

उनले आजै एक विज्ञप्ति जारी गरी पार्टीसँग असम्बन्धित व्यक्तिहरु कार्यक्रम विथोल्ने उद्देश्यले पार्टी कार्यकर्ता तथा कार्यक्रम आयोजक सदस्यहरुमाथि अचानक आक्रमण गरेको बताएका छन् । घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरी कारवाही गर्न माग गर्दै चौरसियालाई सहिद घोषणाको माग पनि गरेको छ ।

नेकपा जिल्ला सदस्य एवम् पूर्व सांसद राजकुमार गुप्ताले कार्यक्रममा पूर्वमाओवादी पक्षले तत्कालिन एमालेका नेताहरुलाई नबोलाएको कारण यस्तो अवस्था सृजना भएको बताए । उनले भने, ‘माओवादीवालाहरुले एमालेवालाहरुलाई नबोलाउँदा त्यस्तो घटना भएको हो ।’

प्रहरीले हनिस मियाँ र देवा सहनीलाई पक्राउ गरेको छ । गाउँपालिकामा कार्यक्रम थियो भन्ने कुराको जानकारी प्रहरीलाई थिएन । जब झडप भयो, अनि मात्र प्रहरीहरु त्यहाँ पुगेर स्थितिलाई नियन्त्रणमा लिएको एसपी पन्तले बताइन् । घटनाको बारेमा थप अनुसन्धान भइरहेको र दोषीलाई कारवाही हुने उनले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप