शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मुख्यमन्त्री शाहीविरुद्धको अविश्वास प्रस्ताव फेल !

शुक्रबार, ०७ कात्तिक २०७७, १२ : ०७
शुक्रबार, ०७ कात्तिक २०७७

कर्णाली प्रदेशमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को संसदीय दलको बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबिरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्तावलाई अस्वीकार गरेको छ । शुक्रबार बसेको बैठकले अविश्वासको प्रस्तावलाई दलका बहुमत सदस्यले खारेज गरेका हुन् ।

केन्द्रमा सहमति नजुटेपछि कर्णाली प्रदेशले आफै अविश्वास प्रस्तावको छिनोफानो गरेको हो । यसअघि,  प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएका वार्ता सहमतिमा पुग्न सकेका थिएनन् । विवाद मिलाउन प्रदेश पदाधिकारीहरुलाई काठमाडौँ बोलाएका दुई अध्यक्षले एक सातासम्म भेटघाट र छलफल गरेपछि मंगलबार आफ्नो सचिवालयमार्फत परस्पर विरोधी प्रेस नोट जारी गरेका थिए ।

दुई नेताका फरक प्रेस नोट जारी भएसँगै प्रदेश मुख्यमन्त्री महेन्द्रबहादुर शाही बिहीबारै सुर्खेत पुगेर अविश्वास प्रस्तावबारे छलफल गर्न बोलाएको संसदीय दलको बैठक फेस गरेका हुन् । केपी ओली र माधव नेपाल पक्षधर सांसदहरु मिलेर अविश्वास प्रस्ताव ल्याए पनि नेपाल पक्षधर सांसदहरु ब्याक भएपछि अविश्वासको प्रस्ताव पेश गर्नेहरु अल्पमतमा परेका हुन् ।

दलको विधानको दफा २४ को उपदफा एक बमोजिम संसदीय दलका ३३ सदस्य मध्ये १८ जनाको बहुमतले उक्त प्रस्तावलाई अस्वीकार गरेको प्रमुख सचेतक सीता नेपालीले जानकारी दिइन् । कर्णाली प्रदेश सांसद गोपाल शर्माले अविश्वासको प्रस्तावमा शून्य र विपक्षमा १८ मत परेको जानकारी दिए । गत असोज २५ गते प्रदेश सभा सदस्य तथा नेकपाका नेता यामलाल कँडेलसहितका प्रदेशसभा सदस्यहरुले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

अब मुख्यमन्त्री शाहीविरुद्ध पुनः अविश्वासको प्रस्ताव ल्याउने बाटो पनि बन्द भएको छ । नेकपा संसदीय दलको विधान २०७५ को धारा २४ को उपधारा १ मा दलको नेताप्रति अविश्वासको प्रस्ताव राख्न सकिनेछ । त्यस्तै दलको उपधारा २ मा दलको नेताप्रतिको अविश्वास प्रस्ताव दर्ता गर्दा प्रमुख सचेतकलाई दिनुपर्ने र उपधारा ३ मा प्रमुख सचेतकले निवेदन प्राप्त भएपछि १५ दिनभित्र बैठक बोलाउनुपर्ने व्यवस्था छ । उपधारा ४ मा अविश्वासप्रस्तावबारे छलफल र ५ मा वर्षमा एक पटक मात्रै अविश्वास प्रस्ताव दर्ता गर्न मिल्ने उल्लेख छ ।

पूर्वसमझदारीअनुसार प्रदेशमा नेपाल पक्षलाई तीन मन्त्री दिने तयारी मुख्यमन्त्री शाहीले गरेका छन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप