शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोनाले रोकेन दसैँलाई

कोही संक्रमणको डरले काठमाडौँ छाड्दै, कोही कहिल्यै नफर्कने गरी
शुक्रबार, ०७ कात्तिक २०७७, ११ : ३३
शुक्रबार, ०७ कात्तिक २०७७

रामेछाप गोकुलगंगाका वीरबहादुर तमाङ भन्छन्, ‘वर्ष दिनपछि आएको दसैँ मनाउनलाई यो केरोनाले रोक्न सक्दैन, सचेत भएर दसैँ मनाउने हो, यहाँ पनि कोरोनाकै भयमा बाँच्नुपर्छ घरमा पनि कोरोनाको भय हुन्छ त्यही भएर घर पुगेर दसैँ मनाउने सोच बनेको छ ।

श्रीमती र दुई छोरीसहित कोेटेश्वरमा दसैँमा घरजाने गाडीको प्रतिक्षामा रहेका वीरबहादुरले दुई छोरी र श्रीमतीको मुखमा माक्स लगाई दिएका थिए तर आफू लगाएका थिएनन् । ‘माक्स त छैन नि ?,’ भन्ने प्रश्न सोध्न नपाउँदै हतपत झोलाबाट झिकेर मुखमा लगाइ हाले । काठमाडौँको एउटा किराना पसलमा खाद्यान बोक्ने कार्य गर्दै आएका वीरबहादुर भन्छन्, ‘कोरोनाबाट डराउन होइन, त्यसको सामना गर्ने हो । यसबाट डराएर कति दिनसम्म लुकेर बस्ने हो ? यो महामारी कहिले सकिन्छ त्यसको ठेगान भएन । अब त्यसैले यसको सामना नै गर्ने हो ।’

वीरबहादुर जस्तै थुप्र्रै व्यक्तिको कोटेश्वर चौकमा दसैँ मनाउन घरजाने प्रतिक्षामा बसेको भटिन्छ । प्रायःको मुखमा माक्स देखिएको थियो । एकातिर घरजाने खुशी अनुहारमै झल्किन्थ्यो भने अर्कोतिर कोरोना सर्ला कि भनि चिन्ताको भाव पनि प्रष्ट देखिन्थ्यो । झापा जान लागेकी लक्ष्मी सापकोटा पनि कोरोनाको डर भए पनि ‘डराएर के गर्नु ? चाडपर्व नमनाए कोरोना लाग्दैन भन्ने के ग्यारेन्टी छ ?’ भन्दै जे हुन्छ–हुन्छ आफू चाहिँ सतर्क भएर घरमा दसैँ मनाउने सोच बताएको बताइन् ।

कोरोनाको संक्रमित सङ्ख्या बाहिरभन्दा उपत्यकामा बढी रहेको हुनाले पनि दसैँ मनाउने बहानामा काठमाडौँ छाड्नेको सङ्ख्या बढ्दैछ । टाटासुमोको प्रतिक्षामा भेटिएका सर्लाहीका सन्देश महतोले काठमाडौँमा संक्रमण दिनदिनै बढिरहेको बरु जिल्लामा त्यति नरहेको बताउँदै दसैँको बिदाका लागि घर जान लागेको बताए । ‘काठमाडौँमा संक्रमितको सङख्या बढेको कारण घरबाट आइज कि आइज भनिरहनु भएको कारण जानै पर्ने बाध्यता आएको छ,’ उनी भन्छन्, ‘कोरोना देशैभरि छ । कहीँ कम, कही बढी मात्र होला । मनमा डर लिएर भएपनि दसैँ जस्तो पर्व मनाउनुपर्ने भएको छ ।’

अरुदिनको तुलनामा आज काठमाडौँबाट बाहिरिनेको सङ्ख्या बढेको छ । अधिकांश कार्यालय तथा उद्योगहरुले फुलपातीदेखि बिदा दिने भएका हुनाले दसैँमा घरजानेहरुाके चहलपहल अलि बढी देखिएको छ । कतिपय व्यक्ति त काठमाडौँ कहिले न फर्किने गरि गाउँ गइरहेका छन् । कोरोनाका कारण कतिपयले जागिर गुमाएका छन् भने कतिपयको व्यापार नै डुबेको छ, उनीहरु दसैँको मौकामा काठमाडौँ छाडेर गइरहेका छन् । बानेश्वरमा जुत्ता पसल गर्दै आएकी रत्ना अधिकार (चितवन) ले पसल र डेरा दुवै छाडेर घर फर्केकी छिन् । श्रीमान् विदेशमा भएको हुँदा छोराछोरीलाई पढाउन काठमाडौँ बसेकी रत्नाले अब काठमाडौँ फर्केर नआउने गरी पसलका समानहरु सस्तोमा बेचेर कोठाका समानहरुसहित चितवन फर्किन लागेकी थिइन् ।

उनी भन्छिन्, ‘कोरोनाकै कारण श्रीमान् विदेशबाट फर्किनु भयो । यता, पसल पनि चल्दैन, पसल र कोठाको भाडा तिर्न पनि मुस्किल भइरहेको थियो । त्यही भएर यो दसैँमा लामो बिदा भएको कारण घर जानु नै थियो पसल र कोठा छाडेर अब नफर्किने गरि जान लागेको छु ।’

उनी मात्रै होइन, आलोक नगरमा टेलरिङ सञ्चालन गर्दै आएका रामेछापका रमेश खतिवडाले पनि पसल बन्द गरेर घर हिँडेका छन् । भएका कोही कपडा घरमा आफन्तहरुका लागि लगेका छन् । घरमै मेसिन चलाउने भनेर एउटा मसिन पनि लगेका छन् । अरु बाँकी यहीँको एउटा टेलरलाई बेचेका रहेछन् ।

हिन्दु धर्मावलम्बीहरुको महान् पर्व दसैँ हो । यो पर्व मनाउनका लागि वर्ष दिनदेखि कुरेर बसेका हुन्छन् । अरुबेला काममा बिदा नलिएपनि दसैँमा बिदा लिएका हुन्छन् । ऋण लिएर भएपनि घरपरिवार, साथीभाइलाई खुश पार्नका लागि दसैँ मनाएका हुन्छन् । यसपाली दसैँ कोरोनाको समयमा भएपनि सचेत भएर मनाउन लागेका छन् । ‘पहिलाको जस्तो तामझाम नगरेपनि समान्य रुपमा दसैँ मनाउनै पर्छ,’ काठमाडौँ बस्ने सिरहाका मनोज मरवैता भन्छन्, ‘दसैँका कारण कोरोना पनि आझेलमा परेका जस्तो छ । मान्छेहरु दसैँमा रमाउन थालेका छन् । शहर बजारमा गएर लुगाफाटा किनैकै छन्, सार्वजनिक गाडी चढेर गाउँ गएकै छन् । बसपार्क, न्युरोड, असनतिर गयो भने कोरोना नै छैन भनि फिल हुन्छ । यसले पनि प्रष्ट हुन्छ कि नेपालीहरुले दसैँलाई कति महत्त्व दिएका छन् ।’

गौशालामा वर्षौदेखि बसको टिक काट्दै आएका प्रकाश चौलागाइँ भन्छन्, विगतको तुलनामा निकै कम मान्छे दसैँ मानाउन घर गइरहेका छन् । कोरोनाको डरले काठमाडौँमै घरमै बसेर मनाउने भन्दै धेरै मान्छे डरले घरबाट निस्केका छैन । उनी भन्छन्, ‘शुरुको लकडाउनमा काठमाडौँ छाडेर गएकामध्ये धेरैजना फर्केका छैनन्, यहाँ भएका मान्छेहरु डरले गइरहेका छैनन् ।’ गाडीवालाहरुलाई वर्षभरिको कमाइ दसैँमा हुन्थ्यो तर यसपाली दसैँमै गाडी थन्काउनुपर्ने अवस्था आएको उनी बताउँछन् ।

उनी भन्छन्, ‘नेपाली हो, जहाँ भएपनि दसैँ मनाउन छाड्दैनन् । चाहे घर गएर होस् या यही काठमाडौँमा बसेर होस्, दसैँ मनाउन कोरोनाले रोक्दैन । बरु कसरी सतर्क भएर मनाउने त्यो मुख्य कुरा हो ।’

तस्विरहरुः कृष्ण खड्का

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप