शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकी राष्ट्रपतीय चुनाव : अन्तिम बहसमा यी मुद्दामा भिडे ट्रम्प र बाइडेन

हावा प्रदूषित गर्नमा भारत, चीन र रुस जिम्मेवार : ट्रम्प
शुक्रबार, ०७ कात्तिक २०७७, ११ : २७
शुक्रबार, ०७ कात्तिक २०७७

वासिंटन । अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन पार्टीबाट उम्मेदवार बनेका राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेट पार्टीका उम्मेदवार जो बाइडेनबीच तेस्रो तथा अन्तिम ‘प्रेसिडेन्शियल डिबेट’ भएको छ ।
९० मिनेट लामो बहसमा कोरोनाभाइरस, जलवायु परिवर्तन, नस्लवादसहितका मुद्दामा दुवैले आफ्ना धारणा राखेका थिए ।

बहसका क्रममा बाइडेनले जलवायु परिवर्तनको मुद्दालाई ट्रम्पले मजाकका रुपमा लिएको आरोप लगाए । जवाफमा ट्रम्पले बाइडेनलाई भारत, चीन र रुसतिर हेर्न आग्रह गर्दै ती मुलुकले हावालाई बढी प्रदूषित बनाएको आरोप लगाए ।

पहिलो बहसमा दुवैले एक अर्कालाई कयौं पटक रोकटोक गरेका थिए । त्यसैले पनि यसपटक ‘कमिशन अफ डिबेट’ (सीपीडी)ले ‘म्युट’ बटन दिएको थियो, जसले गर्दा एकजनाले बोल्दै गर्दा अर्काको माइक्रोफोन बन्द गर्ने सुविधा थियो ।
दोस्रो बहस २२ अक्टोबरमा हुने भनिए पनि राष्ट्रपति ट्रम्प सहभागी हुन चाहेनन् । त्यसैले आयोजकले दोस्रो बहस रद्द गर्नुपरेको थियो । प्राविधिक रुपमा भने यो नै दोस्रो बहस हो । अमेरिकामा ३ नोभेम्बरमा राष्ट्रपतीय निर्वाचन हुँदैछ ।
कोरोनाभाइरस
बाइडेन- एउटा यस्तो व्यक्ति, जसका कारण लाखौं अमेरिकी नागरिकको ज्यान गयो, जो महामारीका लागि जिम्मेवार छ, उसलाई राष्ट्रपति पदमा रहने कुनै अधिकार छैन । ट्रम्पसँग यो महामारी सामना गर्ने कुनै योजना थिएन । म तपाईहरुलाई विश्वास दिलाउन चाहन्छु कि हामी सत्तामा आयौँ भने सबैलाई मास्क अनिवार्य गरिनेछ र परीक्षण दर पनि बढाउने छौँ ।

ट्रम्प- तपाई गलत हुनुहुन्छ र विना जानकारी आरोप लगाइरहनु भएको छ । हामीले हरसम्भव प्रयास गरेका छौँ । अमेरिकामात्र होइन, विश्वका हरेक देश यो महामारीको चपेटामा छ । केही सातामै हामी खोप ल्याउँदै छौँ । महामारीका कारण हामी अमेरिकालाई बन्द गर्न सक्दैनौँ । तपाईले जस्तो ‘बेसमेन्ट’ मा लुक्न हामी चाहँदैनौँ ।
बाइडेनको आरोप- यदि मास्क लगाउन अनिवार्य गरेको भए १० हजार मानिसको ज्यान जोगाउन सकिन्थ्यो । मसँग यसको सामना गर्ने योजना छ । ट्रम्पले कोरोना टाक्स फोर्सका प्रमुख डा. एन्थोनी फौसीको कुरा मान्नुहुन्न । के ट्रम्प उहाँ (एन्थोनी)भन्दा ठुलो विज्ञ हो ?

ट्रम्पको जवाफ- यो कस्तो डर हो कि हामीले विश्वको सबैभन्दा ठुलो र सबैभन्दा शक्तिशाली अर्थतन्त्रलाई नै बन्द गरिदिऔँ । यस्तो बिमारी जो चीनले फैलायो । पहिलाको तुलनामा मृत्युदर कम भएको छ । लकडाउनको निर्णय राज्यहरुले गर्ने हो, केन्द्रले होइन । खोप तयार भएको छ । वर्षको अन्त्यतिर बजारमा आउँछ । म आफै संक्रमित भएर धेरै कुरा सिकेँ । म सबैको कुरा सुन्छु । तर मलाई लाग्छ डा. फौसी डेमोक्रेट हुन्, तर छोडौंँ, यसले केही फरक पर्दैन ।
चुनावमा विदेशी शक्तिहरुको हस्तक्षेप
बाइडेन- एउटा कुरा मान्नुस्, यदि हामी सत्तामा आयौँ भने ती बाहिरी शक्तिलाई पाठ सिकाउने छौँ जसले देशको चुनावमा हस्तक्षेपको षड्यन्त्र रचेका छन् । हामीलाई थाहा छ, यो चुनावमा रुस, ईरान र चीनले हस्तक्षेपको कोसिस गरिरहेका छन् । मैले जितेँ भने यिनलाई पाठ सिकाउने छु । रुस चाहँदैन कि म चुनाव जितुँ । मैले पूरा जीवनमा कुनै विदेशी कम्पनीसँग एक पैसा लिएको छैन । ट्रम्पले कर छली गर्नुभएको छ । चीनको बैंकमा उहाँको खाता छ ।
ट्रम्प- रुसमाथि मैलेजति कठोरता इतिहासमै कसैले देखाएको थिएन । बाइडेनले विदेशी कम्पनीबाट पैसा लिनुभएको छ । अडिट जारी रहेका कारण मैले कर तिरेको जानकारी दिन सक्दिनँ । कानुनले के भन्छ भन्ने जानकारी त तपाईहरुलाई हुनैपर्ने हो । तपाईको परिवारले विदेशी कम्पनीहरुबाट खुब पैसा कमाएको छ । बाइडेन उपराष्ट्रपति हुँदा उहाँको भाइ र छोराले दराज भरिरहनुभएको थियो । तपाईको परिवार ‘भ्याकुम क्लिनर’ जस्तै हो ।
स्वास्थ्य
बाइडेन- ट्रम्पले ओबामा हेल्थकेयर विधेयकलाई जारी राख्न अस्वीकार गर्नुभयो । उहाँले यसको बदला कुन विधेयक ल्याउँदै हुनुहुन्छ भन्ने पनि बताउनु भएन । तपाईसँग कुनै योजना नै छैन । हामी १० वर्षमा ७० अर्ब डलर खर्च गर्छौँ ।
ट्रम्प- मैले कहिल्यै ओबामा केयर लागू गर्न अस्वीकार गरेको छैन । तपाईले जस्तै म पनि यो विधेयकको फाइदा दिन चाहन्छु । तर मेरो प्रतिबद्धता छ कि योभन्दा राम्रो विधेयक लिएर आउने छौँ । त्यसको प्रिमियर ओबामा केयरभन्दा कम हुनेछ । तर यदि सर्वोच्च अदालतलाई यसमा आपत्ति छ भने नयाँ विधेयक ल्याउनै पर्छ । योभन्दा बढी जानकारी दिन म सक्दिनँ । औषधि सस्तो हुनेछ ।
राहत विधेयक
बाइडेन- राहत विधेयक के भयो ? हामीले सोच्नुपर्ने हुन्छ । संसदले ३.४ ट्रिलियन डलरको विधेयक गत मे महिनामै स्वीकृत गरेको थियो । तपाईले यसलाई घटाएर २.४ ट्रिलियन डलर बनाउनुभयो । तपाईले सहयोगीहरुको पनि सल्लाह लिन उचित ठान्नुभएन । तपाईका लागि ती राज्य कुनै कामका छैनन्, जहाँ डेमोक्रेट सरकार छ । तपाई देशलाई डेमोक्रेट र रिपब्लिकनमा विभाजन गरेर हेर्नुहुन्छ ।

ट्रम्प- सभामुख न्यान्सी पेलोसीले विधेयकलाई स्वीकृत गर्न ढिला गर्नुभएको थियो । मैले त मे महिनामै यसलाई स्वीकृत गरिसकेको थिएँ । उहाँले अहिलेसम्म यसमा विचार गरिरहनु भएको छ । उहाँलाई सायद ३ नोभेम्बरको प्रतीक्षा छ । उहाँलाई लागिरहेको होला कि तपाईले जितेपछि विधेयकलाई स्वीकृत गरौँला ।
आप्रवासन
बाइडेन- तपाईको सरकारले आप्रवासनको नाममा मानवअधिकारको हनन् गरेको छ । मेक्सिको सीमामा पाँचसय बालबालिकालाई हिरासतमा लिइयो । उनीहरुलाई अभिभावकसँग छुटाइयो । तपाई बालबालिकालाई अपराधी भनिरहनु भएको छ । मैले जितेको खण्डमा १०० दिनमा नयाँ आप्रवासन नीति बनाउनेछु । बालबालिकालाई पिँजडामा राखिने छैन । ओबामाको कार्यकालमा पनि हामीले यसै गरेका थियौँ ।

ट्रम्प- मेक्सिको सीमामा बालबालिकालाई लागुऔषध कारोबारमा प्रयोग गरिएको छ । कडाइ जरुरी छ र हामीले त्यही गरेका छौँ । यदि कसैलाई आउनु छ भने उसले कानुनी बाटो प्रयोग गर्नुपर्छ । अभिभावकसँग छुट्टिएका बालबालिकालाई अभिभावकहरुसँग मिलाउने कोशिस गरिरहेका छौँ । तर म प्रस्ट पार्न चाहन्छु कि देशको सुरक्षा र भविष्यसँग कुनै सम्झौता हुन सक्दैन । यस मामिलामा राजनीति हुनु हुँदैन ।
नस्लवाद
बाइडेन- ट्रम्प नस्लवादका प्रतीक हुनुहुन्छ । उहाँ जहिले पनि आगोमा घ्यु थप्नुहुन्छ । अमेरिकी इतिहासमा उहाँभन्दा बढी नस्लवाद गर्ने राष्ट्रपति कोही थिएन । पछिल्लो बहसमा उहाँले ‘ह्वाइट सुप्रिमेसी’ अर्थात् श्वेतहरुलाई सर्वश्रेष्ठ भन्ने हिंस्रक संगठनहरुको विरोधसमेत गर्नुभएन । उल्टै उहाँले तिनीहरुको समर्थन गर्नुभयो । आज अश्वेतहरु जति नै धनी परिवारका किन नहुन्, आफ्ना बालबालिकालाई सिकाउन थालेका छन् कि सडकमा निस्कँदा हुडी सर्ट (यस्तो सर्ट जसमा हुड अर्थात् टाउको ढाक्ने टोपीसमेत हुन्छ) नलगाउनू किनकि प्रहरीले गिरफ्तार गर्छ ।

ट्रम्प- अब्राहम लिंकनलाई छाड्ने हो भने अश्वेतका लागि मैले जति कसैले पनि काम गरेका छैन । यो हलमा पनि सबैभन्दा कम नस्लवादी सोचको व्यक्ति म नै छु । तपाई र ओबामाले त अश्वेतलाई न्याय दिलाउने कुरामात्र गर्नुभयो । सन् १९९० मा अश्वेतविरुद्ध क्राइम विधेयक ल्याउने तपाईहरु नै हो भन्ने तपाईले बिर्सिनुभएको छ । उनीहरुलाई ड्रग्सको झुठो मुद्दामा फसाइयो । आज म सबैको बराबरीका लागि काम गरिरहेको छु । त्यसैले सबैले मलाई प्रेम गर्नुहुन्छ ।
जलवायु परिवर्तन
बाइडेन- जलवायु परिवर्तन एउठा ठुलो मुद्दा हो । ट्रम्प यसलाई मजाकमा लिनुहुन्छ । यो पूरा मानवताका लागि खतरा हो । मैले यसमा योजना बनाएको छु । विज्ञहरुसँग कुरा गरेको छु । यसका माध्यमबाट हामी नयाँ रोजगारी सिर्जना गर्न सक्छौँ । हामी आयल इनर्जीको बदलामा अक्षय (रिन्यूअल) इनर्जीमा केन्द्रित हुन चाहन्छौँ ।

ट्रम्प- म सफा हावा र सफा पानी दिन चाहन्छु । हामीले कयौँ नियम बनाएका छौँ । जहाँसम्म सफा हावाको कुरा छ, म बाइडेनभन्दा बढी जानकार छु । हामीकहाँ कार्बन उत्सर्जन सबैभन्दा कम छ । भारत, चीन र रुसलाई हेर्नुस्, उनीहरुलाई हावालाई प्रदूषित गरिरहेका छन् ।

फाइनल राउन्ड- यो राउन्डमा दुवै उम्मेदवारले त्यस्ता मतदातासँग समर्थन मागेका छन् जो पारम्परिक रुपमा आफ्नो मतदाता होइनन् ।
बाइडेन- मैले जितेको खण्डमा डेमोक्रेट्स या रिपब्लिकन्सको होइन, सिंगो अमेरिकाको राष्ट्रपति बन्नेछु । उनीहरुको पनि राष्ट्रपति हुनेछु जसले मलाई भोट दिएनन् । डरबाट देशलाई आशाको वातावरणमा लैजानेछु । हामीसँग देशलाई राम्रो बनाउने हजारौँ अवसर छन् । अर्थतन्त्रलाई सुदृढ गर्न सक्छौँ, नस्लवाद समाप्त गर्न सक्छौँ । नयाँ रोजगारका अवसर सिर्जना गर्न सक्छौँ । यसपटक अमेरिकी चरित्र ब्यालेट अर्थात् मतपत्रमा हुनेछ । सबैलाई सम्मान र बराबरीको हक हुनेछ । यसअघि तपाईहरुले यति डिप्रेसन कहिल्यै देख्नुभएको थिएन होला, म यसलाई अन्त्य गर्नेछु ।

ट्रम्प- परिस्थिति जटिल छ । तर हामी यसबाट बाहिर निस्कन सक्ने छौँ । हरेक कठिनाइ पार गर्दै हरेक प्रकारले मजबुत देश बनाउने छौँ । चीनले जो जटिलता सिर्जना गरेको छ, त्यसको अन्त्य निकट छ ।  अर्थतन्त्र र प्रजातन्त्रलाई बलियो बनाउने छौँ । यस मामिलामा सफलताले हामीलाई एकजुट बनाउने छ । विश्वास गर्नुस्, हामी जितको बाटोमा छौँ । यदि बाइडेनले जित्नुभयो भने विश्वास गर्नुस्, यो देशमा यस्तो निराशा र डिप्रेसन हुनेछ जो अमेरिकाको इतिहासमा पहिला कहिल्यै भएको थिएन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप