मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

क्राइस्टको बस्तीमा दिलमाया

शुक्रबार, ०७ कात्तिक २०७७, ०५ : ०७
शुक्रबार, ०७ कात्तिक २०७७

 

 

 


कचहरीमा ताली पिटेर
निस्किएका एक हूल बगरेहरू
खसीको गर्धन नापेर
फाटेको जिन्दगी आफै टालिरहेछन् !
ठीक यहि बेला,
दिलमायाको जोवन चुँडेर
सिकारी युहन्नाहरू
ढुक्कसँग पल्टिरहेछन् - सुरक्षित कोठीहरूमा !

°°°°°°°°°°
कचहरी टुङ्ग्न्छि
र तालीहरू पनि रोकिन्छन्
तर किन होला
यो बतासको वयली नरोकिएको ?
सपना डढेका तुसारोहरूभित्र
अब कहिलेसम्म
यसरी रोइरहनु पर्छ होला
दिलमायाले नग्न वर्तमानका क्रन्दनहरू !

°°°°°°°°°°
विपन्नताहरू उनिएर
क्राइस्टको बस्तीमा ऊ बोक्सी भई !
युद्धमा पटवारसिंह ढलेर
बुद्धको खर्कमा ऊ बोक्सी भई !
अछुतको शूल गाढिएर
मनुको प्रयोगशालामा ऊ बोक्सी भई !
नुनसँगै बिर्खे बिलाएर
अल्लाहाको साम्राज्यमा ऊ बोक्सी भई !

°°°°°°°°°°
ज्ञानको दियालो निभेपछि
आफ्नै जिन्दगी चाल्नामा छानेर
चुल्ठोका शिरफूलहरू
उसले धर्मगुरुहरूलाई सभक्ति टक्र्याई !
र वर्षौंदेखि ढाँटिएर
लाचार बनेको मन्दिरको मूर्तिसामु
आफ्नो सर्वस्व गुमाएर
ठिङ्ग उभिएको पूँजीबजारको दलालझैँ
आज दिलमाया,
निरुत्तर उभिएर हेरिरहेछे - समयको ऐना !

°°°°°°°°°°
मायादेवीको गानोझैँ दुखेर
चर्किएका घाउहरूमा
आकाशको अमिलो मन झरेपछि
थाहै नपाई,
यो दूधपोखरी पनि फाट्दोरहेछ !
अन्धविश्वासका खम्बाहरू
सतीदेवीहरूको छातीमा गाडेपछि
पृथ्वी पनि आगोको ओछ्यानमा निदाउँदोरहेछ !

°°°°°°°°°°
आफ्नै जिन्दगीको नदीमाथि
अर्कैले बाँध बाँधेपछि
मनका चिसा कुलेसाहरूमा
आँसुको सुसुप्त भेलमात्र बग्दोरहेछ !
आफैंले बाटो नखनेर
अर्कैको गोरेटो हिँड्न थालेपछि
समयले यसरी नै,
मेरी दिलमायालाई बोक्सी डामिरहँदोरहेछ !
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा