बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

राजनीतिमा ‘र’ हलचल

शुक्रबार, ०७ कात्तिक २०७७, ०४ : २८
शुक्रबार, ०७ कात्तिक २०७७

नेपालको राजनीतिमा भारतीय गुप्तचर संस्था र को चासो बढेको खबर निकै लामो समयपछि पुनः फर्केर आएको छ । गुप्तचर संस्था र प्रमुख गोयलले रक्षाको हवाइजहाज लिएर कात्तिक ५गते आई टोलीसहित काठमाडौ भ्रमण गरेर प्रधानमन्त्रीसँग दुई घण्टा गोप्य वार्ता गरेछन् । के विषयमा वार्ता भयो होला भन्ने व्यापक कुतुहल छाएको छ यस घटनापछि नेपालमा ।

यो बुझ्न नेपाल भारत सम्बन्धमा केही समयदेख देखापरेका समस्या केलाउनु पर्दछ । नेपाल भारतबीच धेरै लामो समयदेखि अनेकौं जीर्ण समस्याहरु छन् तर हालका दिनमा कालापानीको सीमा समस्याबाट दुइदेशबीच सम्बन्धमा समस्या देखा परेका छन् । नेपालको भूमिमा भारतले सडक बनाएर भारतले औपचारिक उद्घाटन गरेपछि नेपाल भारतबीच अहिलेको मनमुटाव शुरु भएको हो । पहिलेदेखि नै भारतले भोग्दै आएको नेपालको भूमिलाई लिएर देखापरेको मनमुटाव वास्तवमा प्रतिष्ठाको सवाल मात्र हो ।

नेपालका शासकले आँखा चिम्लिदिएर भारतले त्यसै त उपभोग गरेको थिएन, तर भारतसँग तमसुक पनि थिएन । अनि नेपालले नयाँ नक्सा जारी गरेर भारतलाई अप्ठ्यारो पार्यो।तर नेपाल सरकार वास्तविकतासँग परिचित थियो नै । अन्ततः भारतीय स्वतन्त्रता दिवसका दिन नेपाल—भारतबीचको बोलचाल फुकाइयो । बोलचाल फुकाइएकै परिणामस्वरुप नेपालले नयाँ नक्सा जारी गरेको फुर्ती स्थगित गरेर त्यसलाई अहिले पाठ्यक्रममा नराख्ने घोषणा गर्यो ।नेपालकै अनुरोधमा भारतले सेना प्रमुखको नेपाल भ्रमण पनि तय गर्यो ।

भारत पनि नेपालसँग घुर्की मात्र होइन नेपाल निहुरेका बेला नेपालबाट केही अधिकार फुत्काइहाल्ने दाउमा सधै रहने गरेकै छ । यता सत्तारुढ पार्टीभित्रको किचलोमा ओलीलाई भारतको आशिर्वादको आवश्यकता पररिहेकै बेला नेपालले वार्ताको अनुरोध गर्नु भारतका लागि के खोज्छस् कानो ? आँखो भन्ने उखान चरितार्थ भयो । वार्ता त गर्ने तर औंला दिँदा डुडुला निल्ने पुरानो शैली भारत छोड्न चाहदैन थियो ।

यसैबीच रक्षामन्त्री र सेनाबीच मनमुटावले गम्भीर मोड लियो । भारतलाई खेल्ने अर्को मौका मिल्यो ।यसैलाई मिलाउन प्रधानमन्त्रीले रक्षामन्त्रालय आफैले लिए र भारतसँग साँखुल्ले हुने मौका हात पारे। यता ओलीको अहम् र सत्तारुढ पार्टीबीचको फूटका कारण जनमत क्याच गर्न नेपालका २१ बाम एकगठ भएर ओली सरकार विरुद्ध एकजुट भएर जागे । माइतीघर काठमाडौमा तिनले ओलीसरकारद्वारा प्रतिबन्धित विप्लव समूहसँग मिलेर जुलुस प्रदर्शन पनि गरे । यो घटना सरकारका लागि त इज्जतको सवाल मात्र भएन सुरक्षाको सवाल पनि बन्न पुग्यो । भारत यस्तै अवसरको खोजीमा थियो । उसले नेपालको मात्र होइन यो त भारतको पनि सुरक्षा सवाल हो भन्ने वहाना बनाएर नेपाल सरकारलाई तर्साउने, पहिले माओवादीलाई उचालेर उनीहरुलाई मोलतोलको साधन बनाएजस्तै विप्लवलाई पनि साधन या माध्यम बनाउने दाउ हेरेको छ । सेना पनि विप्लवको बहनामा सल्बलाउन पाएको छ ।

यस प्रकार नेपालमा सरकार समस्यामा परेको,सत्तारुढ पार्टीमा फुट आएको, विप्लवनेतृत्वको पार्टीको संलग्नतामा असन्तुष्ट बाम पार्टी सरकार विरोधी आन्दोलन वा विद्रोह गर्नपट्टी लागेका,भारतका सेनाप्रमुख नेपालमा आएर चीनविरुद्ध गठबन्धनमा नेपाललाई तान्न सकिन्छ कि भनेर प्रयासमा लागेका, केही नलागे प्रचण्ड माधवपक्षलाई उचालेर आफ्नो अनुकूल अर्को सरकार बनाएर पनि नेपालमा अस्थिरता पैदा गर्न पनि सकिने सम्भावनाको खोजी पनि गर्न सकिने स्थिति रहेको, ओली सरकारलाई विप्लव देखाएर वर्गेनिङ गर्ने अवसर जुटेका सन्दर्भमा र प्रमुख नेपाल भ्रमणमा आएका छन् ।

अहिलेसम्मका परम्परा हेर्दा भारतले नेपालको समस्या समाधान गर्ने होइन नेपालका समस्यामा भारत कहाँ कसरी खेलेर के के फाइदा लिनसकिन्छ भनेर दाउ हेर्ने गरेको पाइन्छ ।नेपाललाई नेपालकै भूमि फिर्ता गरेर भारतले यतिबेला धेरै फाइदा लिनसक्ने आँकलन गरेको छ । नेपाली सेनालाई हतियार आदिको प्रलोभन देखाएर आफ्नो सम्पर्कमा राखिराख्ने,नेपाललाई चीनबाट टाढा राख्ने, नभए तटस्थ तुल्याउने, भारतीय सेनाका गोर्खा सेनालाई मनोवैज्ञानिक रुपमा भारत नेपालसँग मित्रवतरुपमा रहेको देखाउने,नेपाली नेताहरुलाई आफ्नो पकडभित्र राखेर वार्गेनिङ गरिरहने आदि उद्देश्य पूरा गर्नु भारतका र प्रमुखको भ्रमणको प्रयोजन हो । यसरी फेरि पनि समस्यामा पारेर नेपालसँग २०७२मा संविधान निर्माणका बेला नेपालले भारतको अनुरोध अस्वीकार गरेको बदला लिनु पनि भारतको लक्ष रहेको छ । भारतले समस्यामा परेको नेपाललाई नयाँ सिराबाट नयाँ नयाँ प्रस्ताव अघि सार्नेछ । हुनसक्छ राजालाई अघि सारेर पनि वार्गेनिङ हुनसक्छ, हिन्दूधर्मलाई लिएर पनि, जनजातिका समस्या उचालेर पनि, मधेसलाई उचालेर पनि, विप्लवभित्र घुसपैठ गरेर पनि नयाँ नयाँ यस्ता प्रस्ताव आउनेछन् ।ओली सरकार त तात्कालिक कुरा हो भारतलाई त दीर्घकालसम्म नै नेपाल चाहिएको छ ।     

   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

श्याम अधिकारी
श्याम अधिकारी
लेखकबाट थप