बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

घट्दो आयातमा ‘ब्रेक’: असोज महिनामा २२ प्रतिशत वृद्धि

बिहीबार, ०६ कात्तिक २०७७, २० : ००
बिहीबार, ०६ कात्तिक २०७७

काठमाडौं । घट्दो आयात र बढ्दो निर्यातको शंङ्खलामा ब्रेक लागेको छ । असोन महिना सुरु भएपछि भएको उच्च आयातका कारण आर्थिक वर्ष २०७७/७८ को असोज महिनामा अघिल्लो वर्षको भन्दा आयात बढेको देखिएको हो । 

भन्सार विभागका अनुसार असोज महिनामा कुल १ खर्ब १३ अर्ब रुपैयाँको मालवस्तु आयात भएको थियो । अघिल्लो महिना कुल ९३ अर्ब ३ करोड रुपैयाँको मात्रै वस्तु तथा सेवा आयात भएको थियो । असोज महिनाको आयात भदौको तुलनामा करिब २२ प्रतिशतले बढी हो ।

त्यस्तै, अघिल्लो वर्षको असोज महिनामा १ खर्ब ५ अर्बको सामान आयात भएको थियो । अहिलेको आयात यसको तुलनामा करिब ६ प्रतिशतले बढेको हो ।

त्यस्तै, यो वर्ष असोज महिनामा १० अर्ब ६० करोडको निर्यात भएको छ, अघिल्लो वर्षको सोही अवधिमा ८ अर्ब ६६ करोडको सामान निर्यात भएको थियो । यो करिब २२ प्रतिशतको वृद्धि हो । जिल्ला प्रशासन कार्यालयहरुले भदौ महिनामा लगाएको निषेधाज्ञाका कारण आपूर्ति प्रभावित हुँदा असोज महिनाको आयातमा उच्च वृद्धि देखिएको हो ।

असोजसम्मको एकीकृत तथ्याङ्क हेर्दा भने आयात घटेको र निर्यात बढेको अवस्था यथावत नै छ । विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो ३ महिनामा २ खर्ब ९२ अर्ब रुपैयाँ बराबरको सामान आयात हुँदा ३१ अर्ब ४ करोड रुपैयाँ बराबरका मालवस्तु निर्यात भएका छन् । आयातको यो आकार अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२.७४ प्रतिशत कम र निर्यात १४.२८ प्रतिशत बढी हो । समग्र आयात घटेको र समग्र निर्यात बढेका कारण असोजसम्मको व्यापारघाटा १५.१३ प्रतिशतले घटेर २ खर्ब ६१ अर्ब रुपैयाँमा झरेको छ ।

यो अवधिमा आयात भएकामध्ये २८ अर्ब ५८ करोडको पेट्रोलियम पदार्थ, २७ अर्ब २३ करोडको मोबाइल लगायतका इलेक्ट्रोनिक सामानहरु, २४ अर्बको स्टिल तथा फलाम, २२ अर्ब ८१ करोडको मेसिनरी सामान र १९ अर्ब ८२ करोडको सवारीसाधन र पार्टपुर्जा आयात भएका छन् । निर्यात भएका वस्तुमा वनस्पतिजन्य तेल तथा घ्यु, चिया, टेक्सटाइल, फाइभर लगायचका वस्तुहरु छन् ।

असोज महिनासम्म १२२ वटा देशसँग व्यापार भएकोमा २९ वटासँगको व्यापार नाफामा छ भने बाँकी ९३ वटासँगको व्यापार घाटामा रहेको छ । भारतसँग सबैभन्दा बढी १ खर्ब ७१ अर्ब व्यापारघाटा हुँदा अमेरिकासँगको व्यापारमा सबैभन्दा धेरै ११ अर्ब रुपैयाँको नाफा देखिएको छ । 

यो अवधिमा वीरगञ्ज, भैरहवा, सुख्खा बन्दरगाह, विराटनगर, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयहरु सबैभन्दा बढी मालवस्तु आयात गर्ने भन्सार कार्यालयको शीर्ष ५ मा परेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप