शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

मास्क र सामाजिक दूरीले सङ्क्रमण नियन्त्रण हुन्छः डा पाण्डे

बिहीबार, ०६ कात्तिक २०७७, १५ : ५४
बिहीबार, ०६ कात्तिक २०७७

काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण फैलिरहेकाले उपत्यकावासीले सकेसम्म टीका लगाउन ठूलाबडाकहाँ नजाने र जानैपर्दा सामाजिक दूरी कायम गर्न जनस्वास्थ्यविद्ले सल्लाह दिएका छन् ।   यस वर्ष सङ्क्रमण तीव्ररुपमा फैलिरहेकाले फोन वा भिडियो कलबाट आफूभन्दा ठूलासँग आशीर्वाद लिन सकिने जनस्वास्थ्य विशेषज्ञ डा रवीन्द्र पाण्डे सल्लाह दिन्छन् । 

दशैँका समयमा अझै बढी भीड हुने भएकाले सार्वजनिक सवारी साधन चढ्न नहुने उनको सुझाव छ । जानैपर्दा पनि आफन्तको घर नजीक भए हिँडेर वा आफ्नो साधन हुँदा सुरक्षित भएर जानुपर्छ । टीका थाप्ने र लगाउने दुवै पक्षलाई मास्क प्रयोग तथा घर बाहिर निस्केपछि मास्क नखाेल्न तथा  खानाखाजा नखान पनि उनले सल्लाह दिएका छन्  । 
अहिले आइरहेको दशैँ र त्यसपछि आउने तिहार, छठ, ल्होसारले गर्दा बजारमा भीडभाड बढिरहेकामा चिन्ता व्यक्त गर्दै उनले यस समयमा  कडाइका साथ सरकारले जनस्वास्थ्यको मापदण्ड पालना गराउन र नागरिकले गर्न लाग्नुपर्ने सुझाव दिए । 

काठमाडौँ उपत्यका बाहिर जाने नागरिकलाई ‘होम आइसोलेसन’ मा बस्न स्थानीय तहले समन्वय गर्नुपर्छ । उनले भने, “घर जाने व्यक्तिले आफूसँगै सङ्क्रमण लैजाँदा घरका नागरिक जो दीर्घरोगी हुनसक्छन्, उसलाई पछि गम्भीर असर गर्नसक्छ ।” 

सरकारले के ग¥यो र के गरेन भन्नुभन्दा पनि नागरिक आफैँ सजग हुनुपर्ने डा पाण्डेको सुझाव छ । नेपालमा कोभिड फैलिएको आठ महिनामा पनि अझै नागरिकले मास्क लगाउन, दूरी कायम राख्न र र भीडभाड नगर्न नसिकेकामा उनले चिन्ता व्यक्त गरे । मास्कलाई नाक, मुख छोपेर सही तरिकाले लगाउँदा सङ्क्रमण फैलन सम्भावना कम हुने देखिएको उनले बताए ।  नब्बे प्रतिशतभन्दा बढी नागरिकले सही तरीकाले मास्क लगाउने चीन, भियतनाम, कम्बोडिया, जापानलगायत देशमा कोरोना नियन्त्रणमा रहेको उनले उदाहरण दिए । ती देशमा नागरिकलाई खोप पनि नचाहिएको र सरकारले बन्दाबन्दी नगरेको उनले बताए । 

काठमाडौँ उपत्यकामा अहिले नै समुदायस्तरमा कोभिड–१९ फैलिसकेकाले दशैँ तिहार, छठलगायत चाडपर्वमा सङ्क्रमण अझै धेरै फैलनसक्ने अनुमान विज्ञले गर्दै आएका छन् । घर बाहिर हुँदा मास्क नलगाउने र भीडभाड गर्नेलाई कारवाही गर्नुपर्ने उनले माग गरे । निजी ठूला अस्पताल र केही सरकारी अस्पताललाई कोभिड अस्पताल बनाएर सबै शय्या, जनशक्ति र सघन उपचार कक्ष लिन सकिने उनको तर्क छ ।

अहिले पनि सही तरीकाले मास्क लगाउँदा र सामाजिक दूरी कायम गर्दा छ देखि १२ हप्तामा सङ्क्रमण नियन्त्रणमा आउने डा पाण्डेको भनाइ छ । यस वर्ष चाडपर्वमा बलि दिने, जात्रा गर्ने, तास खेल्नेलगायत गतिविधि पूरै रोक्नुपर्नेमा उनको जोड छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप