शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना संक्रमित नर्सको पीडा : संक्रमणबाट तङ्ग्रिन नपाउँदै ‘डाइपर’ लगाएर ड्युटीमा

बिहीबार, ०६ कात्तिक २०७७, १४ : ३९
बिहीबार, ०६ कात्तिक २०७७

काठमाडौं । कोभिड १९ बाट संक्रमित नर्सहरुले आफुलाई संक्रमण पुष्टि भएको १४ दिन नपुग्दै अस्पतालमा ड्युटी गर्न जानुपर्ने बाध्यकारी नियमले मानसिक र शारीरिक तनाव बढाएको बताएका छन् ।

नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले लक्षण नभएका संक्रमितलाई १० र लक्षण भएकालाई १४ दिनमा डिस्चार्ज गर्ने मापदण्ड बनाएपछि सोही बमोजिम संक्रमित नर्सहरुलाई पनि अस्पतालहरुले १० दिन पुगेपछि ड्युटीमा बोलाउने गरेका छन् । तर, स्वस्थ नभइ काम गर्नुपर्दा उनीहरुले मानसिक र शारीरिक तनाव थेग्नुपरेको गुनासो गरेका छन् ।

त्रिवि शिक्षण अस्पताल महाराजगङ्जमा कार्यरत एक संक्रमित नर्स भन्छिन्, ‘म पनि संक्रमित हो । १० दिनपछि म ड्युटिमा फर्केपनि मलाई खासै समस्या छैन । तर, हाम्रो एकजना साथी संक्रमणमा परेको कार्तिक ५ गते बुधबार १४ दिन भयो । उनलाई कोरोना संक्रमणपछि कडा खालको लक्षण पनि देखिएको थियो । उनलाई लगातार पखाला समेत लागिरहेको थियो । यस्तो हुँदापनि १० दिनदेखि नै ड्युटीमा बोलाइयो,’ उनले रातोपाटीसँग गुनासो गरिन् ‘डाइपर लाएर ड्यिूटीमा खटिनुुपर्दा उनी बेहोस भएर लड्न पुगिन् ।’

ती नर्सले शारीरिक र मानसिक तनावसहित काम गर्नुपर्दा दुर्घटना हुने खतरा रहेपनि आफ्नो बाध्यता कसैले नसुनेको गुनासो गरिन् । ‘सरकारले यस्तो बेलामा हामीलाई कम्तीमा १४ दिन त आराम गर्न बिदा दिनुपर्ने हो । बुधबारको घट्ना त प्रतिनिधी मात्रै हो । उनी जस्तै अन्य संक्रमित नर्सहरुलाई पनि सोही नियम लागू भइरहेको छ’, उनको भनाई छ ।

त्रिवि शिक्षण अस्पतालमा काम गर्ने अधिकांश नर्सलाई कोरोना संक्रमण भएको छ । कसैलाई कम लक्षण देखिएको छ भने कसैलाई निकै गाह्रो भइरहेको उनीहरुले बताएका छन् ।

कोरोना संक्रमितको संख्या कम हुँदा ७ दिन ड्युटी ७ दिन क्वारेन्टाइनमा राखिने गरेको भए पनि अहिले सरकारले मापदण्ड परिवर्तन गरेर कोरोना संक्रमण पुष्टि भएका स्वास्थ्यकर्मीलाई मात्र आइसोलेसनमा राख्ने गरेको छ ।

‘कोरोना भाइरसले शिथिल भएको शरीर लिएर दिनमा लगातार १२ घण्टा पीपीई लगाएर ड्युटी गर्दा धेरै गाह्रो हुने गरेको छ । तर यो समस्या बुझ्ने कोही भएन । डाक्टरलाई बरु सुविधा दिइने गरेको छ । हाम्रो त बोलिदिने कोही भएन’, त्रिवि शिक्षण अस्पतालकै अर्की नर्सले भनिन्, ‘बिरामीसँग बढि नजिकिनुपर्ने डाक्टरभन्दा हामी नर्स नै हौ ।’

प्रतिनिधि पात्रका रुपमा त्रिवि शिक्षण अस्पतालमा कार्यरत एक नर्सले पोखेको पीडा उनकै शव्दमा :

मेरो नाम ‘सीता’ हो । (उनको आग्रह अनुसार नाम परिवर्तन गरिएको छ। ) म कोभिड १९ को पोजटिभ हो । मेरो कोरोना पोजेटिभ रिपोर्ट आएको कार्तिक ९ गते दुई साता पुग्छ । तर म १० दिनदेखि ड्यिुटिमा छु । अस्पतालको सुचनामा १४ पुगेपछि सिमटर्म देखिएको छैन भने पीसीआर परीक्षण नगरिकन विरामीलाई डिस्चार्ज गर्नुपर्ने र स्टाफ भए १५ दिनको दिन ड्युटीमा आउनुपर्ने उल्लेख छ । कार्तिक ५ गते त्रिवि शिक्षण अस्पतालमा भएको एउटा घटना उनको पनि नाम गोप्य राख्ने शर्तमा तपाईंलाई बताउँछु ।

हाम्रो एकजना साथि जो पोजेटिभ हुनुहुन्थ्यो । उहाँलाई पोजेटिभ देखिएको १३ दिनमा ड्युटि बोलाइयो । ड्युटी जाँदा उहाँलाई श्वास फेर्न नै गाह्रो थियो । त्यस्तो हुँदाहँुदै पनि डियुटिमा रहेकी उनलाई हामीले डाक्टरलाई जाँच गर्न अनुरोध गर्यौ । डाक्टरले उनलाई छातिमा खरावी छ औषधी खानुस् आराम गर्नुस् भन्नुभयो । त्यही रहनुभएकी नर्सहरुको ड्यिुटी इन्चार्जले बसेर गर्ने काम गर्न सकिन्छ भन्दै काम गर्न भन्नुभयो । बस्नै नसक्नेलाई समेत ड्युटि गर्न लगाएको केही समयमै उनलाई दोहोर्याएर बेड भर्ना गर्नुपर्यो र अहिले अक्सिजन नै लगाउनु परेको छ ।

हामीलाई अस्पतालले कोरोना परीक्षण गर्ने व्यवस्था पनि गरेको छैन । हामी आफैले पैसा तिरेर परीक्षण गर्नुपरेको छ । यसरी काम गर्नुपर्दा एकजनामा कोरोना भएमा अर्को नर्सलाई पनि सर्ने डर हुन्छ । त्यो मात्रै होइन, हामीले हेर्ने बिरामीलाई पनि रिक्स हुने भयो । किनभने हामीले विरामीलाई ओल्टाइपल्टाई गर्नेदेखि औषधी दिने काम समेत गर्नुपर्छ । हामीलाई इन्फेक्सन कन्टेल गर्न क्वारेन्टिनमा राखिन्छ तर, फेरि पोजेटिभ भएकैले हेरेको विरामीको अवस्था कस्तो होला ? सावधानी अपनाउँदा अपनाउँदै पनि नर्सहरु बढि प्रभावित भएका छन् । त्यही कुरामा नर्स र डाक्टरलाई विभेद छ । डाक्टरलाई चाही नेगेटिभ आइसकेपछि पनि ठिक छ गाह्रो छ भने रेस्ट गर्नु भनेर भनिन्छ । तर नर्सहरुलाई यो सुविधा छैन । ड्युटि आउनैपर्छ, हामी संक्रमण भएर घर बस्दा पनि भ्याकेसनमा बसेजस्तै गरिन्छ ।

संक्रमित नर्सहरु घर बस्दा के छ ? कस्तो छ भनेर समेत अस्पताल प्रशासनले सोधदैन । आफ्ना स्टाफको अवस्थाबारे जानकारी राख्ने काम त अस्पतालको हो तर त्यो पनि गरिँदैन ।  हामीले हाम्रो समस्या डाइरेक्टरसमक्ष राख्ने कुरा भएन । हामीले भन्ने वार्डको इन्चार्जलाई हो, भनेका पनि छौँ, तर उहाँहरुले माथिसम्म कुरा नै नपुर्याएको हो कि भन्ने लागेको छ । टिचिङमा मात्रै सातआठ सय नर्सहरु कार्यरत छन्, त्यसमध्ये ५० प्रतिशतलाई पोजेटिभ देखिइसकेको छ । तिमध्ये कतिलाई लक्षण देखिएको र कतिलाई लक्षण देखिएको छैन ।

समस्या नभएकाहरुले ड्युटी पनि गरिरहेका छन् । हामीले काम गर्ने डाइलोसिसमा हो । त्यहाँ जम्मा १८ जना स्टाफ रहेकोमा ११ नर्सलाई पोजेटिभ देखिएको छ । त्यस्तै अर्को एकजना हाम्रै साथिलाई भर्खर ननकोभिड वार्डबाट कोभिड वार्डमा सारिएको छ । उहाँलाई लगातारर पखाला लागिरहेको छ । सञ्चोे भएकै छैन । १२ घण्टासम्म पीपीई भित्र डाइपर नै लगाएर ड्युटी गर्न बाध्य पारिएको छ ।

यस्तो छ अस्पतालको सूचना :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप