केन्द्रीय संस्करण
अनुभूति

५ हजारभन्दा बढीको स्वाब लिएका संक्रमित विद्यार्थीको अनुभव : कार्यक्षेत्रमा फर्किन आतुर छु

person explore access_timeकात्तिक ६, २०७७ chat_bubble_outline0

कोरोना भाइरसको महामारीसँगै लकडाउन घोषणा हुनुअघि सबैजसो क्याम्पसहरु नियमित रुपमा चलिरहेकै थिए । हामी पढ्ने केन्द्रीय प्रविधि क्याम्पस (हात्तिसार धरान) मा पनि नियमित रुपमा कक्षा सञ्चालन भइरहेकै थियो । अध्ययन अध्यापनमात्रै नभएर क्याम्पसमा विद्यार्थीहरुका राजनीति गतिविधि समेत नियमित थिए । तर माइक्रोबायालोजी पढ्ने हाम्रो दिनचर्या फरक थियो ।

अध्ययनको समयभन्दा बाहेक माइक्रोबायोलोजी समूहका विद्यार्थीको टिमले विश्व स्वास्थ्य संगठनको प्रोटोकल अनुसार धरान उपमहानगरपालिकाभरी जनचेतनामूलक कार्यक्रम सञ्चालन  गरिरहेका थियौं । सेनिटाइजरको हाहाकार मच्चिरहेको बेला हामीले घरमा नै हेन्ड सेनिटाइजर समेत बनाउने तालिम दिँदै थियौँ  ।

कोभिड १९ ले नेपालमा मे–१६ मा पहिलो पटक एकजना व्यक्तिको ज्यान गएको खबरले हामी सबैमा बेग्लै किसिमको त्रास सिर्जना भएको थियो । लकडाउनको अन्त्य कहिले हुने भन्ने अलमलमा परेका बेला यो बीचमा धरानमा अलपत्र विद्यार्थी साथीहरुलाई आफ्नो घर जाने बन्दोवस्तको सहजीकरण पनि हुँदै थियो । तर हामी घर गएका थिएनौं ।

नेपालमा लकडाउन अलिक खुकुलो हुँदै गर्दा धरानमा पनि कोरोनाको संक्रमण देखा पर्न थाल्यो । एक दिन बेलुका माइक्रोबायालोजी विभागको विभागीय प्रमुख धिरेन (लिम्बु) सरको कल आयो–‘हामीलाई नगरपालिकाले कोरोना परीक्षणका लागि स्वाब संकलन गर्नका लागि पत्र पठाएको छ, तिमीहरुको टीम तयारीमा जुट ।’ म अलमलमा परेँ, के गर्ने ? कसो गर्ने ? म होस्टलमा बस्ने भएकोले क्याम्पस प्रशासनलाई यस विषयमा जानकारी गराएँ ।  प्रशासनका तर्फबाट हेमन्त सरले हामीलाई सल्लाह दिँदै खुब प्रोत्साहन गर्नुभयो । हामी माइक्रोबायोलोजीका विद्यार्थीहरुलाई जनाताको डर भन्दा पनि सेवा गर्ने मौका हो भन्ने लाग्यो । मनमा डर र कर्तव्यबोधको आभास एकैचोटी भइरहेको थियो  ।

अनुहारमा त्यो डरको भाव नदेखाउने प्रयत्नसहित झ्यालबाट नियाल्दै थिएँ । एक्कासी हस्पिटलको गेटमा पुगे पछि झस्किएँ । कोभिड हस्पिटल नजिकै हाम्रो गाडी रोकिएपछि श्वास फुलेर आयो । हात्तीसार क्याम्पसमा हामीसँगै पढ्ने साथीहरु आकृति (गुरुङ), मिसा (शाक्य) र मोजेस (चौधरी) लाई हेरेँ, उनीहरुको अनुहारमा डर स्पष्ट देखिन्थ्यो । डर लुकाउने मेरो प्रयास पनि अब भने विफल भइसकेको थियो ।

भोलिपल्ट बिहान नगरपालिकाबाट स्वास्थ्य महाशाखा प्रमुख उमेश (मेहता) सरले फोन गर्नुभयो । उहाँसँगै हामी नगरपालिकाको गाडीमा चडेर विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानतिर लाग्यौं । मनमा धेरै प्रश्नहरु उब्जिए । अखबार, रेडियो  टेलिभिजनका खबरले हामीलाई त्रसित बनाइरहेको थियो । लाखौँ मानिस दिनहुँ संक्रमित भएका र मृत्युका खबरहरु सामान्य बन्न थालेको बेला आफु पनि संक्रमित भइने त होइन भन्ने डर थियो । 

अनुहारमा त्यो डरको भाव नदेखाउने प्रयत्नसहित झ्यालबाट नियाल्दै थिएँ । एक्कासी हस्पिटलको गेटमा पुगे पछि झस्किएँ । कोभिड हस्पिटल नजिकै हाम्रो गाडी रोकिएपछि श्वास फुलेर आयो । हात्तीसार क्याम्पसमा हामीसँगै पढ्ने साथीहरु आकृति (गुरुङ), मिसा (शाक्य) र मोजेस (चौधरी) लाई हेरेँ, उनीहरुको अनुहारमा डर स्पष्ट देखिन्थ्यो । डर लुकाउने मेरो प्रयास पनि अब भने विफल भइसकेको थियो ।

हामीले अध्ययन त धेरै गरेका थियौँ । तर, कोरोना शंकास्पद व्यक्तिहरुको स्वाब लिनुपर्ने थियो । त्यसमाथि स्वाब संकलन टिमको संयोजकको जिम्मेवारी भएकोले आफुलाई निडर र शान्त  देखाउनु थियो । हामीलाई जनताको सेवा गर्ने यो भन्दा ठूलो अवसर आजसम्म मिलेको थिएन । यो अवसर गुमाउने पक्षमा हामी थिएनौँ । त्यसैले मनोबल निकै दह्रो बनाएर काम गर्ने निश्चय गर्यौं ।

कोभिड अस्पतालमा स्वाब संकलन गर्नेको भिड देखेर हाम्रो टिम अन्यौलको स्थितिमा थियो । के गर्ने ? के नगर्ने पत्तै भएन ? निकै गहिरो सोचमा म हराउन थालेँ तर स्वाब संकलन गर्नेको चाप देखेर हामीलाई जनशक्ति कम भएको महशुस भयो । हामी ३ जनाले यति धेरै मानिसको चाप थेग्न सक्ने अवस्था पनि थिएन । पछि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका साथी सहयोगीको रुपमा आउनुभयो ।

हामीले पहिलोपटक पीपीई लगाउँदा शरीर निकै काँपेको थियो । त्यसदिन निकै गर्मी थियो । पीपीई लगाएपछि त सोचेको भन्दा निकै धेरै गर्मी हुने रहेछ । सास फेर्न पनि निकै कठिन । स्वाब लिँदै गर्दा बेलाबेलामा लामो लामो श्वास लिने गर्थेँ । एकछिन सहज महशुस हुन्थ्यो । केहीछिनमा फेरि गाह्रो भइहाल्ने । आँखामा बाफ जमेर केही देखिँदैन्थ्यो । अन्दाजको भरमा पनि कतिको स्वाब लियौँ । प्रचण्ड गर्मीको ढाडसमा पीपीई लगाएर निरन्तर ५ घण्टासम्म स्वाब लिँदा हाम्रो शरिरमा पानीको मात्रा निकै कमी भएछ । विशेषगरी मलाई रिङ्गटा लाग्न थाल्यो । मैले निष्पट अँध्यारो मात्र देखेँ । एकजना साथीले मलाई कुर्सीमा राख्नुभएछ । बिस्तारै पीपीई खोल्न थालेँ । जब पीपीई  खोलेँ, मैले हतार हतार लामो लामो श्वास लिएँ । त्यो हावाको मिठासको पनि बेग्लै आनन्द थियो । पहिलो दिन नै हामीले २९२ जनाको स्वाब सङ्कलन गरेका थियौं ।

दोस्रो दिन हामी एन्फा क्वारेन्टाइन स्वाब संकलन गर्न गयौँ । त्यहाँ पुग्दा पूर्वतयारी भएको थिएन, धेरै मानिसहरु ४ देखि ५ घण्टासम्म कुर्नु भएको रहेछ । हामीलाई थाहा थिएन, तर जब हामी पीपीई लगाएर स्पट तिर गयौँ । तातो घाममा उभिएका कोरोना परीक्षण गर्न आउनुभएका सबै जनाले हामीलाई ताली बजाएर स्वागत गर्नुभयो ।

हामी धेरै नै खुसी भयौँ । हामीप्रतिको माया र सम्मान देखेर झन् उर्जा मिल्यो । काम गर्नलाई अझ प्रेरित गर्यो । यस्तै गरि काम गर्दै जाँदा कोरोना संक्रमितको चाप बढेकोले  हाम्रो टिम अझ ठूलो र मजबुत बनाउनुपर्ने भयो । नगरपालिकाले आफ्नो स्टाफ लुना  म्याम र चन्द्रकला  म्यामलाई पठायो । हाम्रो टिमबाट मिसा  र साहिलहरु सहितको एकमुष्ट टिम बनाएर काम गर्न थालेको झन्डै ३ महिना भइसक्यो ।

हामीले आज सम्म ५००० भन्दा माथिको स्वाब सङ्कलन गरिसकेका छौँ ।  १७०० भन्दा माथि पोजेटिभ भएका छन् । अहिले पनि धरान उपमहानगरपालिका भित्रका सबै शंकास्पद  र लक्षण देखेकाहरुको हामीले नै स्वाब संकलन गरिरहेका छौं । यो हाम्रो लागि एउटा चुनौती र जोखिमपूर्ण काम थियो । तर यो जोखिमलाई हमीले जिम्मेवारीका रुपमा ग्रहण गयौं । हामीलाई धेरै कुराको अनुभव बटुल्ने अवसर पनि भएको छ ।

कोरोना विरुद्धको अभियानमा काम गर्दै गर्दा हामीलाई हौसला दिनका धरानका उपमेयर  मञ्जु भण्डारीले आफ्नो जन्मदिन हामीसँग मैदानमा नै आएर मनाउनुभयो । यो हाम्रो लागि सम्मान थियो । नेपालको अरु विभिन्न ठाउँहरुमा स्वास्थ्यकर्मीलाई घ्रृणाको रुपमा हेरे पनि हामीलाई धरान र त्यहाँका जनताले जहिले माया र सम्मान दर्शाउनुभयो ।

कोरोनाको संक्रमितको संख्या धेरै बढ्न थाले । धरानको कोभिड अस्पतालमा बेडहरु भरिन थाले । संक्रमितहरु छताछुल्ल भए । यति धेरै संक्रमितलाई व्यवस्थापन गर्न नगरपालिकालाई हम्मेहम्मे भयो । यो अवस्था देखेर हामी सबै हात्तीसार क्याम्पसका विद्यार्थी र धरान मेडिकल टिमका साथी एउटा निश्कर्षमा पुग्यौं ।

उचित सम्मान र अवसर भएमा मानिसले जस्तोसुकै चुनौती पनि पार तयार हुन्छ । हामीले हामीसँग भएको जनशक्तिलाई सही ढंगले प्रयोगमा ल्याउन सकेमा कोरोनाबाट बच्न मात्र होइन । ठूलो जनधनको क्षति हुनबाट पनि बच्न सक्ने सम्भावना अझै छ । स्वास्थ्य क्षेत्रमा अनवरत खटिने जनशक्तिलाई आफ्नै माटोमा निर्धक्क साथ काम गर्ने वातावरण हुने हो भने कोभिड १९ मात्र होइन, भावी दिनमा आउनसक्ने अरु रोगलाई समेत परास्त गर्न सकिन्छ ।

होम आइसोलेसनमा बस्ने कोरोना पोजेटिभहरुलाई ‘एक व्यक्ति एक स्वास्थ्यकर्मी’ दिने अभियान चलाउने सुरुवात गर्यौ । आजसम्म होम आइसोलेसनमा बस्नुभएका ३५० भन्दा माथि संक्रमितलाई हामीले परामर्श र स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्य गरिरहेका छौं । त्यस्तैगरी नेपालको एक मात्र क्याम्पस केन्द्रीय प्रविधि क्याम्पसमा पढाइ हुने पोषण तथा आहारविद्ले होम आइसोलेसनमा बस्नु भएका जोकोही बिरामीलाई न्युट्रिसन थेरापी गराइरहनु भएको छ । जसमा रोग प्रतिरोधात्मक क्षमतालाई कसरी वृद्धि गराउने भन्ने बिषयमा र कोरोनाका लागि स्पेशल डाइट चार्ट (तालिका) बनाएर जनतालाई टेवा पुर्याउँदै आएका छन् । बाँकी हात्तीसारका माइक्रोबायोलोजी र धरान मेडिकल टिमले संयुक्त रूपमा मेडिकल काउन्सिलिङ गरिरहेका छ ।

हामीले कोरोना विरुद्धको अभियानमा काम गर्दै गर्दा हामीलाई तुच्छ नजरले हेर्ने, बार्दलीबाट टीकाटिप्पणी गर्नेहरु पनि धेरै थिए । हामीले अध्ययन गरेको बिषय नै यस्तो थियो कि कुनै न कुनै दिन हामीले चिकित्सा प्रयोगशालामा काम गर्नुपर्ने नै थियो । यति चाँडो नै हामीले यसरी कोरोना विरुद्धको अभियानमा संलग्न भएर काम गर्न पाउने कुरा चाहिँ सोचिएकमे थिएन । अहिलेको स्थितिमा हामी जस्ता मेडिकल ब्याकग्राउण्ड भएका विद्यार्थीहरुले देशका जनताको सेवा गर्न पाउने मौका पनि हो । हामी विद्यार्थीहरुलाई यस्तो परिस्थितिमा सेवामूलक काम गर्दै गर्दा व्यावहारिक शिक्षा प्रति चासो र भोलिका दिनमा  अझ सशक्त ढंगले खोजमुलक अनुसन्धान गर्नमा समेत प्रेरित गर्दछ ।

यस विषम परिस्थितिमा धरानमा काम गर्दै गर्दा हाम्रो टिमका साथीहरुलाई पनि कोरोना पोजेटिभ भयो । म स्वयम् होम आइसोलेसनमा बसिरहेको छु । हामी उच्च मनोबलका साथ स्वास्थ्य लाभ लिइरहेका छौँ । शीघ्र स्वास्थ्य भएर चाँडैनै मैदानमा फर्कनेछौं । यसरी नै नेपालका अरु नगरपालिकाहरुले हामी जस्ता युवा जनशक्तिलाई परिचालन गर्न सकेमा कोरोना विरुद्धको अभियानमा अझ सशक्त ढङ्गले अगाडि बढ्न सक्छ ।

उचित सम्मान र अवसर भएमा मानिसले जस्तोसुकै चुनौती पनि पार तयार हुन्छ । हामीले हामीसँग भएको जनशक्तिलाई सही ढंगले प्रयोगमा ल्याउन सकेमा कोरोनाबाट बच्न मात्र होइन । ठूलो जनधनको क्षति हुनबाट पनि बच्न सक्ने सम्भावना अझै छ । स्वास्थ्य क्षेत्रमा अनवरत खटिने जनशक्तिलाई आफ्नै माटोमा निर्धक्क साथ काम गर्ने वातावरण हुने हो भने कोभिड १९ मात्र होइन, भावी दिनमा आउनसक्ने अरु रोगलाई समेत परास्त गर्न सकिन्छ ।

(लेखक केन्द्रीय प्रविधि क्याम्पस, हात्तिसार धरानमा माइक्रोबायालोजी अध्ययनरत विद्यार्थी हुन् ।)

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.