बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भारतमा कोरोना संक्रमितको संख्या ७७ लाख पुग्यो, एक लाख १६ हजारको मृत्यु

बिहीबार, ०६ कात्तिक २०७७, १२ : ३३
बिहीबार, ०६ कात्तिक २०७७

भारतमा विगत २४ घण्टामा कोरोना भाइरसबाट थप ५५ हजार ८३८ जना नयाँ संक्रमित भेटिएका छन् । यो सहित भारतमा कूल संक्रमितको संख्या ७७ लाख पुगेको छ । 

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा हाल ७ लाख १५ हजार ८१२ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् । विगत २४ घण्टामा ७०२ जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको छ । 

भारतमा कोभिड–१९ को संक्रमणबाट कूल मृत्यु भएका व्यक्तिको संख्या एक लाख १६ हजार ६१६ जना पुगेको छ । 

मन्त्रालयले भारतमा कूल जनसंख्यामा संक्रमित हुने व्यक्तिको अनुपात विश्वमै सबैभन्दा न्यून रहेको पनि जनाएको छ । साथै कोरोना संक्रमितको मृत्यु हुने औसत दर समेत विश्वका अन्य मुलुकको भन्दा कम रहेको मन्त्रालयले जनाएको छ । 

भारतमा विगत सात दिनको तथ्याँक विश्लेषण गर्दा प्रति दश लाख व्यक्तिमा विश्वमा ३२१ जनामा कोरोना संक्रमण देखिएकामा भारतमा २९७, ब्राजिलमा ६९२, स्पेनमा ८१९ र संयुक्तराज्य अमेरिकामा एक हजार १९५ मा कोरोना देखिएको छ । 

यसैगरी विश्वमा प्रति दश लाख जनसंख्यामा औसतमा १४३ जनाको मृत्यु भइरहेकामा भारतमा ८४, रसियामा १६९, फ्रान्समा ५११, बेलायतमा ६४४ र संयुक्तराज्य अमेरिकामा ६६० जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । 

भारतीय महाराष्ट्र राज्य कोरोना संक्रमणको सबैभन्दा उच्च जोखिममा रहेको छ । यहाँ ४२ हजार ६३३ जनाको मृत्यु भइसकेको छ भने १४ लाख १५ हजार व्यक्ति निको भएका छन् । 

कर्नाटक राज्यमा एक लाख व्यक्ति सक्रिय संक्रमित रहेकामा ६ लाख ७१ हजार निको भएका छन् भने १० हजार ६९६ जनाको मृत्यु भएको छ । 

भारतीय स्वास्थ्य अनुसन्धान परिषदले हालसम्म ९ करोड ८७ लाख नमूना परीक्षण गरेको जनाएको छ ।  रासस–एएनआई
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप