शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काभ्रेमा कोरोना संक्रमणमुक्त हुनेको सङ्ख्या बढ्यो

बिहीबार, ०६ कात्तिक २०७७, १२ : ०३
बिहीबार, ०६ कात्तिक २०७७

काभ्रे जिल्लामा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमितको तुलनामा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दोब्बर भएका छन् । बुधबार ३१ सङ्क्रमित थपिए भने त्यसको दोब्बर अर्थात् ६२ जना सङ्क्रमणमुक्त भएका हुन् । तीमध्ये २६ महिला रहेको जिल्लास्थित कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्ट जनाएको छ । मङ्गलबार ७१, सोमबार १६ र आइतबार २३ जना कोरोना सङ्क्रमणमुक्त भएका थिए । 

पोष्टका अनुसार बुधबार १७ महिलासहित ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । तीमध्ये बनेपाका १५, मण्डनदेउपुरका सात, धुलिखेलका सात र नमोबुद्ध नगरपालिकाका एक तथा बेथानचोक गाउँपालिकाका एक छन् । “एकै दिन दोब्बर सङ्ख्यामा सङ्क्रमणमुक्त भएको यो पहिलोपटक हो”, पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले भने । उनका अनुसार जिल्लामा हालसम्म ५१५ महिलासहित एक हजार ३४६ जनामा कोरोना सङ्क्रमण देखिएको छ । कूल सङ्क्रमितमध्ये ६३ प्रतिशत अर्थात् ८३५ सङ्क्रमणमुक्त भएका हुन् । 
    
हालसम्म कोरोना सङ्क्रमणबाट जिल्लामा आठ पुरुष र सात महिला गरी १५ जनाको मृत्यु भइसकेको छ । गत असार २ गते काभ्रेपलाञ्चोकमा पहिलो सङ्क्रमण देखिएको थियो । कोरोना सङ्क्रमितमध्ये ४० प्रतिशत अर्थात् ५२६ बनेपा नगरपालिकाका छन् । तीमध्ये ३०४ पुरुष र २२२ महिला छन् । हालसम्म २३४ पुरुष र १४९ महिला गरी कूल ३८३ जना सङ्क्रमणमुक्त भएको बनेपा नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार अहिलेसम्म कोरोना सङ्क्रमणबाट चार जनाको मृत्यु भइसकेको छ । 

काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमध्ये चार गाउँपालिका तेमाल, महाभारत, खानीखोला र चौँरीदेउराली कोरोनामुक्त भएका छन् । कूल सङ्क्रमितमध्ये ६२ प्रतिशत पुरुष हुन् । हाल सक्रिय सङ्क्रमितमध्ये ९३ अस्पतालको आइसोलेसन र ४०४ होम आइसोलेसनमा उपचाररत छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप