इतिहासमा आज–‘क्युवा आणविक संकट’, जब १३ दिनसम्म तेस्रो विश्वयुद्धको खतरा मडारिएको थियो
आज अक्टबुर २२ । क्युवामा सोभियत क्षेप्यास्त्रका अड्डाहरु भेटिएको खुलासा सन् १९६२ मा अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले गरे । आणविक अड्डाहरुको निर्माण चलिरहेको र झन्डै पूरा हुन लागिसकेको जानकारी गुप्तचरहरुबाट थाहा भएको उनको भनाइ थियो । मध्यम दूरीका यी मिसाइलहरुको सामथ्र्य वासिङटनलगायत अमेरिकाका ठूला शहरसम्म मार हान्न सक्ने रहेको केनेडीको दाबी थियो ।
यसपछि उनले क्युवालाई क्वारेन्टाइन गरिने घोषणा गरे । सोभियत जहाजहरुले यस टापूमा कुनै आक्रामक हतियारहरु ढुवानी गर्न नसकुन् भनेर क्युवालाई समून्द्रमा घेराबन्दी गरिएको थियो । शीतयुद्धको समय अमेरिकाले सोभियतका छिमेकी देश इटली र टर्कीमा मिसाइल अड्डा बनाएको थियो । यसबाट हुने सम्भावित खतरालाई काउन्टर दिन सोभियतले पनि अमेरिकाको छिमेकी क्युवामा आणविक अड्डा स्थापना गर्न लागेको थियो । क्युवामा फिडेल क्यास्ट्रो नेतृत्वको कम्युनिष्ट सरकार पनि अमेरिकाको शक्तिमाथि नियन्त्रण जमाउनुपर्नेमा पक्षमै थियो किनकी अमेरिकाले उनको सत्ता गिराउन पटक–पटक प्रयास गरेको थियो ।
यसरी भित्राभित्रै सोभियत र क्युवाले मिलेर आणविक हतियार बनाइरहेका थिए । जसबारे, १४ अक्टुबर, १९६२ मा अमेरिकी गुप्तचरहरुले जानकारी हासिल गरे । यसपछि ‘क्युवा आणविक संकट’ सुरु भयो । यसको भोलिपल्टै केनेडीले गोप्य रुपमा आपतकालिन बैठक डाकेका थिए । जहाँ उनको प्रशासनका वरिष्ठ सैन्य, राजनीतिक तथा कुटनीतिक अधिकारीहरु छलफलमा थिए । यस समूहलाई एक्स कम नामले चिनिन्छ, यसले मिसाइल साइटमा सर्जिकल स्ट्राइक गर्नुको साटो क्युवालाई समुन्द्रमार्फत नाकाबन्दी गर्ने तथा आणविक अड्डाहरु हटाउनुपर्ने निर्णय गरेको थियो ।
यसपछि २२ अक्टुबरमा केनेडीको घोषणा अमेरिकाको राष्ट्रिय टेलिभिजनबाट प्रशारण भयो । क्युवाको परमाणु कार्यक्रमले पुरै अमेरिकामा विध्वंश मच्चाउनसक्ने सामथ्र्य राख्ने भएकाले यसलाई कुनै हालतमा रोकिने उनको घोषणा थियो ।
आणविक युद्धको डर
केनेडीको घोषणापछि अमेरिकाले जवाफी कारबाही गर्दै क्युवालाई समून्द्रमार्फत घेराबन्दी ग¥यो, हरेक जहाजलाई क्युवा जानुुभन्दा पहिलो चेकजाँच गर्ने अमेरिकी निर्णयबाट सोभियत युनियन चिढिएको थियो । केही दिनपछि क्युवाले रुसी मिसाइल प्रयोग गरेर अमेरिकाको एक विमानलाई झारिदियो, जसकारण आणविक युद्ध निम्तिने खतरा निकै बढ्यो । यहीबीच रुसले गहिरिदो सम्भावित लडाइँलाई ध्यानमा राखेर आणविक हतियारसहितका अत्याधुनिक जहाज (पानीमुनी कुद्नसक्ने) पठाएको थियो । अमेरिकी जलसेनाले आफ्नो समून्द्री सीमामा ती जहाजलाई घे-यो र त्यसलाई पानीमाथि निस्कन बाध्य गरायो ।
आफु घेरिएको थाहा पाएपछि जहाजमा सवार कमाण्डरहरुलाई युद्ध सुरु भएजस्तो लाग्यो, यतिबेलासम्म जेलसेनाका अधिकारीहरुसँग उनीहरुको सम्पर्क पनि टुटिसकेको थियो । यस्तोमा तीन कमाण्डरहरुमध्ये दुईजनाले परमाणु हमला गर्ने फैसला लिइसकेका थिए, यद्यपी अर्का कमाण्डर वसिली अर्खिपोवले उनीहरुलाई यस्तो हमला गर्न दिएनन् । क्युवाको मिसाइल संकटलाई आम रुपमा एउटा ऐतिहासिक बिन्दु मानिन्छ । जानकारहरुका अनुसार यस दौरान (१६ अक्टुबरदेखि २८ अक्टुबर) १३ दिनसम्म तेस्रो विश्वयुद्धको खतरा मडारिएको थियो । भनिन्छ– यदी कमाण्डर अर्खिपोवले यस परमाणु युद्धको खतरा नरोकेको भए आज संसारको तस्विर अर्कै हुने थियो ।
यस घटनापछि दुुबै देशमाथि सम्झौताको ठूलो दबाब प¥यो । एक गोप्य सम्झौताअन्तर्गत सोभियत युनियनले क्युवाबाट मिसाइल हटाउने फैसला ग¥यो । जवाफमा अमेरिकाले पनि ठाउँ–ठाउँमा तैनाथ आफ्ना मिसाइलहरु हटाउन सहमति दियो ।
सोभियत युनियनले क्युबाबाट आफ्ना हतियार फिर्ता लिने अनि अमेरिकाले क्युबामाथि हमला गरेर उसलाई कब्जा गर्ने प्रयास नगर्ने सम्झौतामा उल्लेख थियो । यसबाहेक अर्को एउटा शर्त पनि थियो, जसबारे अमेरिकी राष्ट्रपति केनेडी र ह्वाइट हाउसका केही अधिकारीबाहेक कसैलाई जानकारी दिइएको थिएन । यस गोप्य शर्तमा अमेरिकाले टर्कीमा रहेको आफ्नो परमाणु अड्डा समाप्त गर्ने उल्लेख थियो । टर्कीले यस सम्झौतामा सहमति जनाएपछि मात्रै यो विषय बाहिर ल्याइयो । यसरी १३ दिनसम्म चलेको क्युवा संकटको अन्त्य २८ अक्टुुबरमा भएको मानिन्छ ।