शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दशैंमा २ दिन तेलको आपूर्ति रोकिने, उपत्यकाभित्र यसरी गरिँदैछ सहजीकरण

बुधबार, ०५ कात्तिक २०७७, १८ : ०४
बुधबार, ०५ कात्तिक २०७७

काठमाडौं । दशैंका बेला पनि पेट्रोलियम पदार्थको सहज आपूर्ति तथा वितरण प्रणाली नरोकिने भएको छ । दशैंको मुख्य-मुख्य दुई दिन दशमी र एकादशीबाहेक अन्य दिन साविककै दिनहरुमा जस्तै सहज र सरल आपूर्तिको व्यवस्था मिलाइएको नेपाल आयल निगम(एनओसी)ले जनाएको छ । 

बागमती प्रदेश अन्तर्गतको थानकोट डिपो दशैंको दशमी (टिकाको दिन) र भोलिपल्ट एकादशीबाहेक सबै दिन खुल्ला रहने निगमका प्रवक्ता विनितमणि उपाध्यायले रातोपाटीसँग बताए । ‘दशैंका बेलामा पनि पेट्रोलियम पदार्थको सहज र सरल आपूर्ति व्यवस्था मिलाउनु हाम्रो मुख्य ध्यय हो । यसै योजना अन्तर्गत दशैंको दुई दिन बाहेक सबै दिन पेट्रोलियम पदार्थको आपूर्ति, ढुवानी र वितरण प्रणालीलाई चुस्त दुरुस्त राख्न निगमले प्रयत्न गरेको छ ।’ 

निगमका प्रवक्ता उपाध्यायले भने, ‘दशैंको दशमी र एकादशी दुई दिन भने थानकोट डिपो बन्द रहनेछ । अन्य प्रादेशिक तथा क्षेत्रीय डिपो तथा बिक्री केन्द्रहरु भने स्थानीय प्रशासन, सुरक्षा निकाय तथा स्वयम् बिक्रीकेन्द्रहरुको सहमतिमा सञ्चालन हुनेछ’ उपाध्यायले भने ।

यता, बागमती प्रदेश पेट्रोलियम पदार्थ बिक्री केन्द्र तथा पेट्रोल पम्पहरुले भने दशैंको नवमी र दशमीबाहेक अन्य दिन पेट्रोल पम्पहरु खुल्ला राख्ने निर्णय गरेका छन् ।  काठमाडौं उपत्यकासहित प्रदेशभित्रका पेट्रोल पम्पहरुलाई नवमी र दशमी दुई दिनबाहेक अन्य दिन सेवा खुल्ला राख्न आग्रह गरिएको बागमती पेट्रोलियम डिलर एशोसिएशनका अध्यक्ष अच्युत खड्काले जानकारी दिए ।

यद्यपि, नवमी र दशमी दुई दिन एशोसिएशनले नै बन्द गर्न भने पनि माग र आवश्यकताका आधारमा व्यवस्थापकीय सहजतालाई हेरेर पम्पहरुले सेवा प्रवाह गर्न सक्ने अध्यक्ष खड्काले बताए । यसका लागि स्थानीय प्रशासन, सुरक्षा निकाय र क्यासका लागि आवश्यक बैंकलाई समेत पत्राचार गरिसकिएको खड्काको भनाई छ ।

गत वर्षभन्दा ५० प्रतिशतले मागमा गिरावट 

दशैं–तिहारको समयमा पेट्रोलियम पदार्थको उच्च माग हुने गरेपनि यसपटक त्यस्तो नभएको आयल निगमले बताएको छ । गत वर्षको तुलनामा यसवर्ष झण्डै ५० प्रतिशतले नै पेट्रोलियम पदार्थको डिमान्ड(माग) घटेको निगमका प्रवक्ता उपाध्यायले बताए । 

‘गत वर्ष यो समयमा थानकोट डिपोबाट मात्र सरदर दैनिक एक हजार ४ सय किलोलिटर (१४०० कि.ली) तेलको बिक्री भएको थियो । तर यस वर्ष दैनिक ६–७ सय किलोलिटर मात्र तेल बिक्री भइरहेको छ ।’ उपाध्यायले भने, ‘तुलनात्मक रुपमा यो गत वर्ष भन्दा झण्डै ५० प्रतिशतले नै कमी हो ।’

त्यसो त गत तीन दिनको तथ्याङ्कलाई हेर्दा थानकोट डिपोबाट सोमबार ७ सय किलोलिटर, मंगलबार ६ सय ७५ किलोलिटर र आज बुधबार ६ सय किलोलिटर मात्र पेट्रोलियम पदार्थको बिक्री वितरण भएको छ ।  कोभिड–१९ को प्रभावका कारण यसवर्ष सवारी साधन नै कम चलेका र उद्योग कलकारखाना तथा व्यवसायिक क्षेत्र प्रायः ठप्प हुँदा पेट्रोलियम पदार्थको मागमा नै कमी आई बिक्री वितरण खस्किन पुगेको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप