शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बिआरआई परियोजनाबाट चीन र नेपाल दुवै देशले फाइदा लिन सक्छन्ः अध्यक्ष प्रचण्ड

मङ्गलबार, ०४ कात्तिक २०७७, १७ : ११
मङ्गलबार, ०४ कात्तिक २०७७

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति, स्थायित्व र विकासका लागि चीनले अघि सारेको बिआरआई परियोजना महत्वपूर्ण हुने बताएका छन् । 
मंगलबार चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागले आयोजना गरेको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले शान्ति, स्थायित्व र विकासका लागि बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) परियोजना महत्वपूर्ण हुने बताएका हुन् । बिआरआई परियोजनाबाट चीन र नेपाल दुवै देशले फाइदा लिन सक्ने भएकाले यसलाई आफुले महत्वपूर्ण अवसरको रुपमा लिएको समेत अध्यक्ष प्रचण्डले बताए । यस्तै गत वर्ष चिनियाँ राष्ट्रपति सिचिनफिङको नेपाल भ्रमणमा भएका सम्झौताले पनि दुई देशको भावनालाई समेटेको उनले बताए ।

पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईले बिआरआईले यस क्षेत्रको नविनता, उत्पादकत्व र प्रगतिका लागि महत्वपूर्ण हुने बताए । बीआरआई परियोजनाले दुई देशबीच वित्तीय एकीकरण र नीति समन्वयका लागि काम गर्ने विश्वास समेत व्यक्त गरे । त्यस्तै बिआरआईले नेपाललाई विश्वव्यापी मूल्य श्रृंखलामा पहुँच पु¥याउन सघाउ पुग्ने समेत पूर्वप्रधानमन्त्री भट्टराईले बताए । बिआरआईका ९ वटा आयोजना अन्तर्गत ट्रान्स–हिमालयन कनेक्टिभिटीले नेपाली नागरिकलाई सबैभन्दा बढी आकर्षित गरेको समेत उनले बताए । यसले नेपालको भूराजनीतिक परिवर्तनमा महत्वपूर्ण हुनेपनि उनले बताए ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालले बेल्ट एण्ड रोड परियोजना अन्तर्गत छनोट गरेका ९ वटा आयोजनालाई छिट्टै अन्तिम रुप दिएर कार्यान्वयनमा जानुपर्ने बताए । यस्तै नेपालले अघि सारेको ‘समृद्ध नेपाल सुखी नेपाली’ अभियानलाई सार्थक बनाउन समेत बिआरआई परियोजना महत्वपूर्ण हुने उनले बताए ।

कार्यक्रममा चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभाग मन्त्री सोङताओ, चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत कमिटीका सेक्रेटरी वु यिंगजी लगायतले सम्बोधन गरेका थिए । चिनियाँ राष्ट्रपति सिचिनफिङको नेपाल भ्रमणको वार्षिकोत्सवको अवसर पारेर चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागले ‘चीन–नेपाल बेल्ट एन्ड रोड को–अपरेसनमा राजनीतिक दलहरुको प्रथम संयुक्त परामर्श सम्मेलन’ आयोजना गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप