बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

दसैं मनाउन स्वदेश फर्कँदै हुनुहुन्छ ? घरपरिवारलाई कस्ता सामान कति लैजान पाइन्छ ?

मङ्गलबार, ०४ कात्तिक २०७७, १३ : २९
मङ्गलबार, ०४ कात्तिक २०७७

नेपालीहरुको महान चाड दसैंको आज चौथो दिन हो । दसैं मनाउन विदेशबाट स्वदेश फर्किरहेका छन् । यद्यपि, यस पटक कोरोना माहामारी छ ।  सरकारले पनि जो जहाँ छ, त्यहिँ सुरक्षित तरिकाले दसैं मनाउन आग्रह गर्दै आएको छ । 
तैपनि नेपालीहरुको प्रमुख श्रम गन्तव्य मलेसियासहित खाडी मुलुकहरु र माल्दिभ्स, जापान, कोरिया, टर्र्की लगायतका देशबाट श्रमिकहरु फर्किरहेका छन् । सामान्य अवस्था हुन्थ्यो भने स्वदेश फर्कनेको संख्या अधिक हुुन्थ्यो तर अहिले कोरोना माहामारी छ यस्तो बेलापनि स्वेदश फर्कनेहरु छन् । स्वदेश फर्किनेमा अधिकांश कोरोनाका कारण रोजगारी गुमाएकाहरु छन् । 

कतिपयलाई स्वदेश फर्कदा के–के लैजान पाइन्छ भन्नेसम्म थाहा नहुन सक्छ । भए–भरको सामान बोकेर आउँदा विमानस्थलमै जफत हुने गरेको छ । चाहिने भन्दा बढी सामान ल्याउदा सास्ती खेप्नुपरेको छ । 
नेपाल सरकार अर्थमन्त्रालयले मालवस्तु निकासी तथा पैठारी सम्बन्धी सूचना जारी गरेर के—के ल्याउन पाइन्छ र त्यसमा पनि कति परिणामसम्म ल्याउन पाइन्छ भनेर स्पष्ट खुलाएको छ । विदेशबाट फर्कदा यस्ता विषयमा ध्यान दिनु जरुरी देखिन्छ ।

यस्तै कस्ता वस्तु कति परिमाणसम्म ल्याउँदा भन्सार छुट हुन्छ, त्यसतर्फ पनि हेक्का राख्नैपर्छ । त्यसपछि मात्र विमानस्थलको झन्झटबाट मुक्ति पाइन्छ । 

यी वस्तु ल्याउँदा भन्सार छुट हुन्छ 
विदेशबाट फर्केका जुनसुकै नेपाली यात्रुले सात किलोग्रामसम्म खाद्य परिकार ल्याउँदा भन्सार महसुल लाग्दैन । यस्तै एक लिटरको एक बोतल मदिरामा पनि भन्सार महसुल लाग्दैन । सुनको गहना ५० ग्रामसम्म, चाँदीको गहना ५ सय ग्रामसम्म र एक लाख मूल्यसम्मका जवाहिरात जडित सुन तथा चाँदीका गहना, ल्यापटप, डेस्कटप, कम्प्यूटर, घडी, मोबाइल, भिडियो क्यामेरा, पेनड्राइभ एक/एक थान ल्याउँदा भन्सार शुल्क लाग्दैन । 
पुराना लुगाफाटा, उपचार गर्न गएकाले ल्याएको औषधि, बच्चा राख्ने पेराम्बुलेटर, ट्राइसाइकल एक थान ल्याउदा भन्सार महसुल लाग्ने छैन ।

भारतीय सेना वा प्रहरीबाट सेवानिबृत भइ निवृत्तिभरण पाउनेगरी स्वदेश फर्कदा निवृत्त भएको कागजात पेश गरेमा एक पटकको लागि ५० हजार रुपैयाँसम्मको घरायसी प्रयोजनका सामान ल्याएमा छुट पाइनेछ ।  

यस्तै विदेशमा ६ महिना भन्दा बढी समय बसेर तथा रोजगारीबाट फर्किने नेपाली नागरिकले ३२ इन्चसम्मको टेलिभिजन, म्यूजिक सिस्टम, वासिङ मेसिन, रेफ्रिजेनेरेटर, पंखा, रेडियो एक/एक सेट भन्सार छुटमा ल्याउन पाउँछन् । यसैगरी घरायसी प्रयोजनका सामाग्री, मिक्सचर, जुसर, सिलाइ मेसिन, ग्यास टेबुल, स्त्री, राइस कुकर पनि २/२ थान ल्याउन पाउनेछन् । 

दश किलोग्राम सम्म खाद्य परिकार, शरीरमा लगाउने लुगाफाटा, जुत्ता बढीमा १५ थान,  डाक्टर, इन्जिनियरको दक्षता वृद्धिका लागि आवश्यक पर्ने २÷२ थान ल्याउन सकिनेछ । तर विदेशमा ६ महिना भन्दा बढी समय नबिताएको हकमा भने यी सामान ल्याउँदा तोकिएको शुल्क लाग्नेछ ।  यसैगरी चुरोट २ सय खिल्लीसम्म र सिगार ५० खिल्लीसम्म ल्याउँदा ४० प्रतिशत भन्सार तिर्नुपर्छ । पछिल्लो समय चुरोट ल्याउन पाइने व्यवस्था खारेज गर्ने पनि सरकारले तयारी थालेको छ ।

छुट सीमा भन्दा बढी मूल्यको सामान ल्याएमा प्रचलित आर्थिक ऐन अनुरुप महसुल लाग्नेछ।  

विस्तृतमा पढ्नुहोस्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप