मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

दसैँ आयो तर पैसा आएन : उखु किसानको पिडा उस्तै, घर व्यवहार मिलाउन धौधौ

मङ्गलबार, ०४ कात्तिक २०७७, ११ : ०५
मङ्गलबार, ०४ कात्तिक २०७७

परासी । चाडबाडमा पनि उखुको भुक्तानी नपाएपछि नवलपरासीका उखु किसानहरु निराश बनेका छन् । तीन वर्षदेखि लागातर भुक्तानीको आश्वासन मात्र पाइरहेका किसानहरु यस वर्षको दसैँ–तिहारमा पनि भुक्तानी नपाएपछि मर्कामा परेका हुन् ।

४ महिनाको लकडाउनमा ऋण सापटी खोजेर बल्लतल्ल आफनो घर–व्यवहार मिलाए पनि अहिले दसैँ तिहार मनाउन र गहुँमुसुरो तथा तोरीको खेतीसमेत गर्न पैसा नभएपछि उखु किसानहरु थप चिन्तित बनेको उखु किसान रामप्रसाद पाल बतउँछन् । उखु किसानहरुले मिललाई एक महिनाका लागि मात्र उधारोमा दिए पनि मिलहरुले विभिन्न बहाना देखाउँदै आलटाल गर्दै तीन वर्षसम्ममा पनि भुक्तानी नदिएको पालले गुनासो गरे । यस वर्ष उनीहरुले बन्दाबन्दी, लकडाउन, कोरोना लगायतको बहाना बनाइरहेका छन् ।

जिल्लामा बागमती खाडसारी चिनीमिल, ईन्दिरा सुगर ईण्डष्ट्रिज, लुम्बिनी चिनी मिल गरी तीन ठूला चिनी मिल सञ्चालनमा छन् । गत वर्ष बागमतीबाहेक ईन्दिरा र लुम्बिनी चिनी मिलले मिल नै सञ्चालन गरेनन् । बागमती चिनी मिलले क्रमशै उखुको भुक्तानी गरेपनि विगत तीन वर्षदेखि लुम्बिनी र ईन्दिरा सुगर मिलले किसानहरुलाई भु्क्तानीमा आलटाल गर्दै आएका छन् ।

उखु किसानहरुले इन्दिरा सुगर मिलबाट ८ करोड, लुम्बिनी चिनीमिलबाट १० करोड गरि अझै १८ करोड रुपैयाँ भुक्तानी पाउन पर्नेछ । तर मिल सञ्चालकहरु भने विभिन्न बहानामा भुक्तानी गर्न आलटाल गर्दै आएको उखु उत्पादक कृषक संघका अध्यक्ष उमेशचन्द्र यादवले जानकारी दिए ।

अहिले किसानहरुको घरमा पैसा छैन । लामो समयको लकडाउनका कारण बजारमा पैसा नभएकाले किसानहरु कसैबाट सापटी वा ऋण पनि पाइरहेका छैनन । दसैँ तिहार लगायतका चाडबाड आयो साथै हिँउदे बाली लगाउने बेला पनि आयो तर पैसा आएन । अब किसानहरु कसरी घर–व्यवहार मिलाउने र खेतीपाती गर्ने चिन्तामा छन् ।

भुक्तानीको यस्तै रवैयाका कारण किसानहरुले बिस्तारै उखु खेती छाडदै गएका छन् । पहिला जिल्लामा कुल साढे ७ हजार हेक्टर क्षेत्रफलमा उखु खेती हुँदै आएको थियो तर हाल जम्मा ५ हजार हेक्टर क्षेत्रफलमा मात्र उखु खेती भएको पाइएको संघले जनाएको छ । जसमा जम्मा एक हजार किसानहरु मात्र आवद्ध रहेका छन् । सरकारले उखुको समर्थन मूल्य ५३६ रुपैया प्रति क्वीन्टल तोकेपनि मिलहरुसो मुल्य तिर्न तयार नरहेकाले भुक्तानीमा थप ढिलाइ भैरहेको संघले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हुसेन अन्सारी
हुसेन अन्सारी
लेखकबाट थप