बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

दसैँ–तिहारका लागि खाद्यान्नको पर्याप्त मौज्दात

कुन खाद्यवस्तुको के छ अवस्था ?
मङ्गलबार, ०४ कात्तिक २०७७, ०८ : १९
मङ्गलबार, ०४ कात्तिक २०७७

काठमाडौं । दसैँ, तिहार तथा छठजस्ता ठूला चाडपर्वमा दैनिक उपभोग्य वस्तुको आपूर्तिमा कुनै समस्या नरहने सरकारले बताएको छ । हाल देशभर कुल १ लाख १६ हजार मेट्रिक टन चामल मौज्दात (स्टक) रहेको उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको हो ।

त्यसमध्ये १४ हजार मेट्रिक टन सरकारी निकाय खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग र १ लाख २ हजार मेट्रिक टन चामल निजी क्षेत्रसँग रहेको मन्त्रालयको भनाइ छ । अहिले धान भित्र्याउने सिजनसमेत भएकाले मौज्दात थपिने अवस्था रहेको र आपूर्तिमा कुनै समस्या नपर्ने मन्त्रालयका वाणिज्य तथा आपूर्ति सचिव बैकुण्ठ आर्यालले बताए । उनका अनुसार थप आवश्यक खाद्यान्न विदेशबाट समेत आयात भइरहेकाले छ । ‘अहिलेको अवस्थामा हामीसँग पर्याप्त खाद्यान्न छ,’ रातोपाटीसँग उनले भने ।

सचिव अर्यालका अनुसार पर्याप्त मौज्दात र उत्पादनका अलावा विभागले ठूलो परिमाणमा खाद्यान्न आपूर्तिसमेत गरिरहेको छ । गत असोज महिनामा मात्र विभागले दैनिक औसत ५ हजार ७ सय मेट्रिक टनका दरले खाद्यान्न आपूर्ति गरेको उनले बताए । त्यसैगरी दलहन तर्फ असोज महिनामा मात्र विभागले दैनिक ७ सय मेट्रिक टनका दरले कुल दुई हजार एक सय (२,१००) मेट्रिक टन गेडागुडीजन्य वस्तु आयात गरेको जनाइएको छ ।

विकट क्षेत्रमा मात्र १५ हजार मेट्रिक टन चामल मौज्दात

विशेषगरी खाद्यान्नको अभाव हुने र विविध समस्या झेल्नुपर्ने विकट हिमाली क्षेत्रमा समेत यसपालि खाद्यले पहुँच विस्तार गरेको मन्त्रालयको भनाइ छ । उच्च हिमाली क्षेत्र एवं विकट क्षेत्रमा समेत कुल १५ हजार मेट्रिक टन चामल मौज्दात रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बताएको छ । आवश्यक ठाउँमा हेलिकप्टरबाट समेत खाद्यान्न ढुवानी गरिने सरकारको भनाइ छ ।

दैनिक उपभोग्य वस्तुहरुको कति मौज्दात ?

नुनः १ लाख ४५ हजार मेट्रिक टन

सरकारी निकायकै अर्को व्यावसायिक कम्पनी साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले नुनको मौज्दात १ लाख ४५ हजार मेट्रिक टन रहेको जनाएको छ । यो मौज्दातले कम्तीमा अबको ९ देखि १० महिनाको माग धान्ने जनाइएको छ ।

चिनीः तत्काल ३० हजार मेट्रिक टन आयात हुँदै

हालका लागि सरकारी निकायसँग सामान्य खुद्रा व्यपारका लागिमात्र चिनी उपलब्ध रहे पनि दुई सरकारी व्यावसायिक निकाय खाद्य कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनले छिट्टै ३० हजार मेट्रिक टन चिनी आयात गर्ने तयारी गरेका छन् । दसैँ–तिहारकै समयलाई लक्षित गर्दै साल्टले २० हजार मेट्रिक टन चिनी तत्काल आयात गर्ने प्रक्रिया अघि बढाइसकेको छ भने खाद्यले पहिलो पटक १० हजार मेट्रिक टन चिनी आयात गरी व्यापार गर्ने योजना बनाएको छ ।

तर पहिलो चरणमा चिनी आयतका लागि खाद्यले गरेको टेन्डर रद्द भएकाले पुनः टेन्डरमा जानुपर्ने अवस्था आएको खाद्यका प्रवक्ता सर्मिला न्यौपाने अधिकारीले बताइन् । जसले गर्दा दसैँ अघि खाद्यको चिनी बजारमा आउने सम्भावना नरहेको उनको भनाइ छ ।

यता साल्टले भने आगामी बुधबारसम्ममा २० हजार मेट्रिक टन चिनी नेपाल भित्र्याइसक्ने बताएको छ । साल्टका लागि चिनी खरिद भएर भारतको कोलकाता आइसकेको र बुधबारसम्म नेपाल भित्रिसक्ने साल्ट कर्पोरेशनका डिभिजन म्यानेजर ब्रिजेशकुमार झाले रातोपाटीलाई बताए ।

यता निजी क्षेत्रतर्फ भने आर्थिक वर्ष २०७६/७७ मा चिनीको उत्पादन नै कम भएकाले आपूर्तिमा समस्या भएको र अहिले सो क्षेत्रले समेत केही परिमाणमा चिनी आयात गरी विक्री वितरण गर्न थालेकाले बजारमा सहज भएको मन्त्रालयको भनाइ छ ।

फलफूल तथा तरकारीः पूर्ण रुपमा आयातमा भर पर्नुपर्दा मूल्य वृद्धि

सरकारले फलफूल तथा तरकारीको आपूर्ति व्यवस्था सामान्य नै रहे पनि चालु आर्थिक वर्षमा स्वदेशी उत्पादन कम भई पूर्ण रुपमा आयातमा भर पर्नुपर्दा मूल्यवृद्धि सहनु परेको बताएको छ । चालु आर्थिक वर्षको असोज महिनामा मात्र दैनिक औसत १ हजार ९ सय मेट्रिक टन फलफूल तथा तरकारी आयात गर्नु परेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको भनाइ छ ।

पछिल्लो समय भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्धले बजारमा प्याजको मूल्य आकासिन पुगेको मन्त्रालयको भनाइ छ ।

मन्त्रालयले असोज महिनामा मात्र प्रतिदिन औसत ३७० मेट्रिक टनका दरले झण्डै १२ हजार मेट्रिक टन बराबरको फलफूल आयात भएको बताएको छ । स्वदेशी उत्पादन नगन्य रहे पनि आयात सहज रहेकाले आसन्न चाडपर्वमा फलफूल तथा तरकारीको आपूर्ति सामान्य नै रहने मन्त्रालयले जनाएको छ ।

मासुजन्य पदार्थः आत्मनिर्भरतर्फ उन्मुख

नेपाल सरकारले मासुजन्य पदार्थको उत्पादन वृद्धि गर्न केही वर्ष अगाडि शुरु गरेको कार्यक्रमको प्रतिफल देखिन थालेको बताएको छ । जसका कारण अहिले खसी, बोकाको उत्पादनमा वृद्धि भएकाले मुलुक मासुजन्य पदार्थमा आत्मनिर्भरतर्फ उन्मुख भएको बताएको छ ।

पशु सेवा विभागको तथ्याङ्क अनुसार स्वदेशी उत्पादनले नै करिब ९५ प्रतिशत माग धानेको छ ।

त्यसो त चालु आर्थिक वर्षको अन्त्यसम्ममा सतप्रतिशत नै माग धान्ने अवस्था रहेको मन्त्रालयको भनाइ छ ।

हाल काठमाडौं उपत्यकामा दैनिक सरदर एक हजारदेखि एक हजार २ सय खसीबोका र २०० राँगा÷भैँसीको माग रहेकोमा दसैँको समयमा करिब ४० हजार खसीबोका तथा २ हजार राँगा÷भैँसी आवश्यक पर्ने मन्त्रालयले जनाएको छ । स्वदेशी उत्पादनले नै उक्त माग धान्ने अवस्था रहेको मन्त्रालय बताउँछ ।

मासुजन्य पदार्थमध्ये माछा, अण्डा, कुखुरा र बंगुरको आपूर्तिमा समस्या नदेखिएको पनि मन्त्रालयले प्रस्ट पारेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप