‘मुलुकभर सङ्कटकाल र कफ्र्यु’ भनेर सार्वजनिक भएको सूचना निराधार

काठमाडौँ – गृह मन्त्रालयले सामाजिक सञ्जाल तथा सर्ट म्यासेज सर्भिस (एसएमएस) मार्फत सरकारले मुलुकभर सङ्कटकाल र कफ्र्यु लगाउँदै भनेर सोमबार सार्वजनिक भएको सूचना गलत र भ्रामक भएको स्पष्ट पारेको छ ।
कोरोना सङ्क्रमण (कोभिड–१९) महामारी नियन्त्रण तथा रोकथाम र अन्य कुनै कारण देखाई सङ्कटकाल तथा कफ्र्यु लगाउनेसम्बन्धी सरकारको कुनै योजना नभएको स्पष्ट गर्दै गृह प्रवक्ता चक्रबहादुर बुढाले तथ्यहीन, भ्रामक, निराधार र गलत सूचनाप्रति विश्वास नगर्न आग्रह गरेका छन् ।
सुरक्षाजस्तो संवेदनशील विषय जोडेर सामाजिक सञ्जाल, मोबाइल र अन्य विद्युतीय सञ्चार माध्यमबाट बिहान एकाएक फैलिएको भ्रामक सूचनाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण हुनका साथै यस घटनाका विषयमा आवश्यक अनुसन्धान अगाडि बढाइएको जानकारी प्रवक्ता बुढाले दिए ।
सरकारले कुनै पनि बहानामा चाडपर्वको मुखमा सङ्कटकाल तथा कफ्र्यु लगाउने सोच राखेको छैन भन्दै प्रवक्ता बुढाले भने, “सामाजिक सञ्जालमा आएको भ्रामक सूचना निराधार र तथ्यहीन हो । यसप्रति विश्वास नगरी सबैलाई सूचित हुन आग्रह गर्दछाँै ।”
यस विषयमा काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले पनि केही साताअघि स्पष्ट पारिसकेका छन् । कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि नै भनेर अब निषेधाज्ञा जारी नगर्ने भनाइ काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको छ ।
तीनवटै जिल्ला प्रशासन कार्यालयबाट गत भदौमा जारी निषेधाज्ञाको केही बुँदा उपत्यकामा जारी नै छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङमा च्याङ्ग्रा जोन : ७८ फार्म सूचीकृत
-
तरुण दलले दियो अधिवेशनको मिति तोक्न तल्ला समितिलाई निर्देशन
-
तिनकुने घटनाका विषयमा सरकारसँग जवाफ माग्ने राज्य व्यवस्था समितिको निर्णय
-
नेपालमा हवाई र पर्यटन क्षेत्रमा लगानी बढाउन सकारात्मक छौँ : थाइ प्रधानमन्त्री शिनावात्रा
-
गाजा आक्रमण विस्तार गर्ने इजरायली रक्षामन्त्रीको भनाइ
-
आईपीएलमा धोनीले अब ६ खेलमात्र खेल्ने