मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

राजु सदा मृत्यु प्रकरण: मन्त्रालय र अस्पतालको लापर्वाहीले ज्यान गयो

सोमबार, ०३ कात्तिक २०७७, २३ : ०१
सोमबार, ०३ कात्तिक २०७७

जनकपुर । राजु सदाको मृत्युसम्बन्धी अध्ययन विशेष समितिले प्रदेशसभालाई प्रतिवेदन बुझाएको छ । सोमबार बुझाइएको सो प्रतिवेदनमा प्रादेशिक अस्पताल जनकपुरधाम, क्वारेन्टाइनस्थल र सामाजिक विकास मन्त्रालयको लापरवाहीका कारण सदाको मृत्यु भएको ठहर गरिएको छ । साथै प्रयोगशालाले बेलैमा पिसिआर रिपोर्ट उपलब्ध गराएको भए बिरामीको स्वास्थ्य उपचार थप प्रभावकारी हुनसक्ने ठहर प्रतिवेदनले गरेको छ । झाडापखाला लागेका बिरामीलाई समयमै औषधोपचार गराउनुपर्नेमा सो नभएको समेत प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै,कोभिड १९ का बिरामीलाई लक्षित गरी बनाइएको अस्पतालमा बिरामीका लागि प्रयोगशाला, एक्सरे, सिटी स्क्यान, भेन्टिलेटरको व्यवस्था नरहेको र समाजिक विकास मन्त्रालयले सो सम्बन्धमा आवश्यक पहल नगरेकोले व्यवस्थापकीय पक्ष कमजोर देखिएको प्रतिवेदनमा औंल्याइएको छ ।

प्रतिवेदनमा कोरोना महामारीबाट प्रभावित मुलुकबाट आउने व्यक्तिहरुलाई यथोचित वासस्थानको व्यवस्था हुनुपर्नेमा सो सन्दर्भमा समेत व्यवस्थापकीय पक्षको कमजोरी देखिएको जनाइएको छ । बिरामी आइसोलेसन शैय्याबाट झरेको घण्टौ बितेपछि मात्र स्वास्थ्यकर्मी त्यहाँ पुगेको तर त्यो घटनाबारे थप एकिन गर्न सिसिटिभी क्यामेरा खराब भएकोले नसकिएको प्रतिवेदनमा उल्लेख छ । 

प्रदेशसभाको गत असार १४ गतेको बैठकले प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारको क्रममा मृत्यु भएका धनुषा, हंसपुर नगरपालिका–७ का राजु सदाको मृत्युको सम्बन्धमा घटना अध्ययन गरि प्रतिवेदन पेस गर्नका लागि अध्ययन विशेष समितिको गठन गरेकोे थियो ।

प्रदेशसभा कार्य सञ्चालन नियमावली २०७५ को नियम १५२ को उपनियम २ बमोजिम प्रदेशसभाले प्रदेशसभा सदस्य रविन्द्र बैठा धोबीको संयोजकत्वमा अध्ययन विशेष समिति गठन गरेको थियो । सो समितिको सदस्यहरुमा प्रदेशसभा सदस्यहरु चमेलीदेवी दास, सुरिताकुमारी साह, नरेश यादव र सावित्रीदेवी साह रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप