शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हारालुछ भयो खाद्य संस्थानका खसीबोका, भीडबाट ग्राहक कराए- ‘घरमा खसी लाने कि कोरोना ?’(भिडियो)

सोमबार, ०३ कात्तिक २०७७, १९ : ०६
सोमबार, ०३ कात्तिक २०७७

काठमाडौं । सोमबार दिउँसो १ बजे, थापाथलीस्थित खाद्य संस्थानको ठूलो टहरोभित्र खसीबोका खाँदेर राखिएको थियो । दशैंका लागि खसीबोका किन्न गएका ग्राहक पनि खसीबोकासँगै खाँदिएर लाइनमा उभिएका थिए । उनीहरुमध्ये धेरैजसो ४ घण्टादेखि लाइनमा थिए ।

खाद्य संस्थानसँग रहेको परम्परागत तुलोकाँटाबाट खसी जोख्न निकै समय लागिरहेको थियो । भीडमा खाँदिएर बसेका ग्राहकहरु आफ्नो पालो नआएकोमा हैरान देखिन्थे भने कोही बिहानै आएकाले खाना खान नपाउँदा चाउचाउ पानी खाइरहेका थिए । 

बिहान ७ बजे नै खसी किन्न माइतीघर आएका काठमाडौं भीमढुङ्गाका रामचन्द्र कँडेल चाउचाउ र पानी खाइरहेका थिए ।  धादिङसँग सिमाना जोडिएपनि आफु बसेको ठाउँमा खसी पाउन मुस्किल भएकोले टाढाबाट खसी किन्न आएको उनले बताए । काठमाडौं उपत्यकामा कोरोना संक्रमण अत्यधिक बढिरहेको बेला सामाजिक दुरी कामय गरेर किनबेच गर्नुपर्नेमा खाद्य संस्थानको व्यवस्थापन फितलो भएका कारण संक्रमणको जोखिम बढेको उनले बताए । 
कोटेश्वरबाट खसी किन्न गएका कृष्ण गिरी भनिरहेका थिए– ‘दशैंमा खसी खाने हो कि कोरोना लागेर हस्पिटल जाने हो ?’ उनी पनि बिहान ९ बजे खसी किन्न खाद्य संस्थान पुगेका थिए तर उनी भीडको अन्तिमतिर लाइन बसेर पालो कुरिरहेका थिए । 

खाद्य संस्थानमा अब्यवस्थित रुपमा खसीबोकाको व्यापार गरेर कोरोना संक्रमणको जोखिम बढाएको उनको गुनासो थियो । अन्यत्र भन्दा केही सस्तो पाइने भएपछि संस्थानमा मान्छे धेरै आउने गर्छन् भन्ने थाहा हुँदा हुँदैपनि किन व्यवस्थित नगरेको भन्दै उनले प्रश्न गरे । 

अनामनगरबाट खसी किन्न गएका प्रशय दाहालले पनि कोरोना संक्रमणका बेला ब्यक्तिगत दुरी कायम नगरी अब्यवस्थित ढंगले खसीबोका बिक्री गरेकोमा आक्रोस पोखे । दशैंका लागि खाद्य संस्थानले सोमबारबाट सहुलियत दरमा खसीबोका बिक्री सुरु गरेपछि काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट ग्राहकहरु माइतीघर पुगेका थिए ।

संस्थानले जिउँदो खसीबोकाको मूल्य प्रतिकिलो ५ सय ५० राखेको छ, जुन बाहिर बजारमा भन्दा प्रतिकिलो १ सय हाराहारी कम पर्छ । जसका कारण पनि उपभोक्ताहरुको ठूलो भीड लागेको थियो । मकवानपुर, दाङ लगायतका क्षेत्रबाट ल्याइएका झन्डै १ हजार वटा खसीबोका संस्थानले बिक्री गरिरहेको छ । 

न सेनिटाइटर न ब्यक्तिगत दुरी : संक्रमण बढ्ने जोखिम

खाद्य संस्थानको कार्यालय छिर्ने गेटमा एक पटकमा २० जना मात्र प्रवेश पाउने सूचना टाँसिएको थियो । त्यसको कार्यान्वयन भने भएको थिएन । न गेटमा भित्र छिर्नेहरुलाई सेनिटाइजर लगाउने वा हात धुने नै व्यवस्था थियो । अधिकांश सरकारी कार्यालयहरुमा प्रवेश गर्दा ज्वरो नापेर भित्र पठाउने गरेपनि त्यसको पनि व्यवस्था थिएन ।

भित्र प्रवेश गरेर खसीबोका छानेर बसेका उपभोक्ताले सहजै खरिद गर्ने अवस्था थिएन, जसका कारण पनि बाक्लो भीड थियो । संस्थानका प्रादेशिक प्रमुख पवित्र गौतमले सोचेभन्दा धेरै ग्राहक आएका कारण व्यवस्थापनमा समस्या परेको उल्लेख गरे । बिहान गेटबाट २० जनाका दरले प्रवेश गराउँदा ग्राहकको भीडले गेट नै भत्काउन खोजेपछि सबैलाई भित्र प्रवेश दिएको उनल बताए ।

सोचेभन्दा धेरै ग्राहक आए : पवित्र गौतम, प्रादेशिक प्रमुख, खाद्य संस्थान 

हरेक वर्षको दशैमा झै यस वर्ष पनि खाद्य संस्थानले सहुलियत दरमा खसीबोका बिक्री थालेको हो । कोरोना महामारीका कारण यसवर्ष ग्राहक कम आउँछन् कि भन्ने अपेक्षा गरे पनि उल्लेख्य मात्रामा आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड काठमाडौं प्रादेशिक कार्यालय प्रमुख पवित्र गौतमले रातोपाटीलाई बताए । 

उनले भने–‘कोरोना संक्रमणका कारण ग्राहकहरु कम आउने हुन कि भन्ने चिन्ता थियो तर हामीले सोचेभन्दा धेरै आउँदा आश्र्चय लागेको छ ।’ अघिल्लो वर्ष च्याङ्ग्रा ल्याए पनि यो वर्ष भने नल्याइएको उनले बताए । मुस्ताङमा यो वर्ष च्याङ्ग्रा नपाएका कारण खरिद गर्न नसकिएको उनको भनाई छ । तत्कालका लागि १ हजार संख्याका खसीबोका बिक्री गर्ने लक्ष्य राखिएको र उपभोक्ताको माग बढ्यो भने थप गर्ने गौतमले बताए । 

उनले सोचेअनुसार व्यवस्थित ढंगले खसीबोका व्यापार गर्न नसकेको बताए । जम्मा ४ जना मात्र प्रहरी भएका कारण ठूलो भीडलाई व्यवस्थित गर्न नसकेको उनको भनाई छ । संस्थानले स्वास्थ्य परीक्षण गरिएको खसीबोका मात्र बिक्री गरेको गौतमले बताए । 


हेर्नुहोस् भिडियो : 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप