शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

खसीबोका बिक्री गर्दा मारमा परेको व्यापारीहरुको गुनासो, उपभोक्ता पनि मारमा

सोमबार, ०३ कात्तिक २०७७, १६ : ०९
सोमबार, ०३ कात्तिक २०७७

काठमाडौं । सरकारले बजार भाउभन्दा कम मूल्यमा खसी बोका बिक्री गर्दा आफुहरु मारमा परेको खसीबोका व्यापारीहरुले बताएका छन् । तर सरकारले बजार नियन्त्रणका लागि भन्दै जम्मा एक हजार खसी बोेका ल्याएको छ । यो संख्या बजार नियन्त्रणका लागि न्यून हो । त्यसैले दशैंको बेला उपभोक्ताहरु फेरि पनि महँगो मूल्यमा खसीबोका खरिद गर्न बाध्य हुने देखिएको छ । 

काठमाडौंको कलंकीस्थित खसी बजारमा खसी बोका व्यापार गर्दै आएका व्यपारीहरुले दशैंको बेला मूल्य नियन्त्रणका लागि भन्दै सरकारले खरिद मूल्य भन्दा कम मूल्यमा खसीबोका विक्री गरिदिँदा आफुहरु मारमा परेको गुनासो गरेका छन् । आफुहरुले किसानबाट खरिद गर्ने मूल्यभन्दा कम मूल्यमा सरकारले बिक्री गर्दा समस्या पर्ने गरेको काठमाडौं चौपाया खरिद बिक्री प्रालिका अध्यक्ष जनककुमार खड्काले बताए । बजार मूल्य नियन्त्रणका लागि भन्दै सरकारले अत्यन्तै कम मूल्य कायम गरिदिँदा आफुहरु र उपभोक्ताबीच द्वन्द्व सिर्जना हुने अवस्था रहेको पनि खड्काले बताए ।

त्यस्तै अर्का व्यापारी कुमार थापाले सरकारले तोक्ने मूल्य र आफुहरुले बिक्री गर्ने मूल्यमा पहिला देखि नै फरक पर्ने गरेको बताए । आफुहरुले ५ सय ५० रुपैयाँदेखि ६ सय रुपैयाँसम्म किसानबाट खरिद गरी ल्याएकाले सरकारले तोकेको मूल्यमा बिक्री गर्न नसकिने पनि व्यापारीहरुले बताएका छन् ।

व्यापारीहरुले खसीबोकाको मूल्यमा अत्याधिक फरक पार्न सक्ने भन्दै काठमाडौं महानगरपालिकाले भने नियमित अनुगमन गर्दै आएको छ । महानगरपालिका वडा नंं. १४ का वडा अध्यक्ष शोभा सापकोटाले कस्तो खसी विक्री गर्ने कस्तो नगर्ने भन्ने सम्बन्धमा लगातार अनुगमन गरिरहेको बताइन् । उचित मूल्य निर्धारण गरेर मापदण्ड अनुसार नै बिक्री वितरण गर्न समेत सचेत गराइएको पनि उनले बताइन् ।

बजार हस्तक्षेप गरी मूल्य नियन्त्रण गर्नका लागि भन्दै सरकारले एक हजार खसीबोका ल्याई आजदेखि बिक्री शुरु गरेको छ । जुन बजारको मूल्य नियन्त्रणका लागि अप्रयाप्त हो । व्यापारीहरुले सरकारले कम मूल्य निर्धारण गरी बजारमा विवाद उत्पन्न गराउन खोजेको आरोप लगाए पनि फेरि एकदुई दिनमै मूल्यमा चलखेल हुनसक्ने सम्भावना देखिएको छ । यसबाट उपभोक्ताले अधिक मूल्य तिरेर खसीबोका किन्नुपर्ने अवस्था आउनसक्ने देखिएको छ ।

अहिले सरकारले खसी बोकाको मूल्य प्रतिकेजी ५ सय ६० रुपैयाँ तोकेर १० रुपैयाँ सहुलियत दिई ५ सय ५० रुपैयाँमा बिक्री गरिरहेको छ । तर खसी बजारमा जिउँदो खसीको मूल्य प्रति केजी ६ सय रुपैयाँदेखि ६ सय ५० रुपैयाँ, जिउदो बोकाको मूल्य प्रति केजी ६ सय ५० रुपैयाँ देखि ६ सय ८० रुपैयाँ र च्याङ्ग्राको प्रतिकेजी ९ सय रुपैयाँदेखि ९ सय ८० रुपैयाँसम्म बिक्री वितरण भइराखेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप