केन्द्रीय संस्करण

बलात्कार रोक्न मृत्युदण्ड नै अन्तिम अस्त्र होइन

person explore access_timeकात्तिक ३, २०७७ chat_bubble_outline0

जनमुखी राजनीति गर्दा हामीले राजनीति थाल्दा नै जनतन्त्र घरबाट सुरु हुनुपर्ने नारा अगाडि सारेका थियौँ । आधा हिस्साको नारी जगतको उत्थान नभई सिङ्गो समाजको विकास हुन सक्दैन । समाज अपाङ्ग हुन जान्छ । त्यसैले जनतन्त्र आफ्नो घरबाटै थाल्नुपर्छ भन्ने उद्देश्य थियो । हाम्रा जनमुखी नारा ०३७÷३८ सालतिर यस्तो थियो ः

“बिहान सबेर नारी उठ्ने, बेलुका अबेर नारी सुत्ने,

घरको एकपछि अर्को, अर्कोपछि अर्को साङ््ले काम नारीले गर्ने ।  

सम्पत्तिमा मालिक चाहिँ पुरुष मात्र हुने, घरमा यस्तो व्यवस्था चलाउने गरेर आधा समाज होच्चियो । होच्चिएका आमा जातिको गर्भमा बसेर, काखमा हुर्केर, दूध चुसेर हुर्किएका सन्तान हामी होच्चिएका नै भयौँ । त्यसैले आमा जातिलाई सम्मान गर्ने, सबल बनाउने, सक्षम पार्ने काम आजबाटै थालौँ । वीर सहासी सन्तान बनौँ ।” यही सिद्धान्तका आधारमा नारा लगायौँ, गाउँ गाउँमा– ‘नारी शिक्षा मातृ शिक्षा हुनेछ ।’ ‘छोराछोरी पढाउने जिन्दावाद, छोराछोरी नपढाउने मूर्दावाद !’ ‘दिउँसो नभ्याउनेले बिहान पढाऔँ !’ ‘छोरी नपढाउने बाबुआमा मूर्दावाद !’ । यही नाराका बीज आज विस्तारै फैलिएर हुर्केर यहाँ आइपुगेका छौँ । नारी उत्थानका काम सुरु भएको छ । प्रगतितर्फ नै छ । अझै नारी उत्थानका निम्ति शिक्षामा, रोजगारीमा, सम्पतिमा पर्याप्त ध्यान जान सकेको छैन । राज्यको ध्यान त्यता जाँदा बलात्कार जस्तो जघन्य अपराध पनि घट्दै जान्छ ।

एकाथरि मान्छेका तर्क छ बलात्कार अपराधमा कडा सजाय गरेमा अपराध घट्छ । झ्वाट्ट हेर्दा हो कि जस्तो लाग्छ । तर सजाय कठोर भएको कारण सजाय घटेको अनुभूति संसारको घटनाक्रम हेर्दा देखिँदैन । जस्तै भ्रष्टाचारमा चीनमा मृत्युदण्ड छ तर त्यहाँ मृत्युदण्ड भोगेका भोग्यै छन् । कैयौँ देशमा बलात्कारमा मृत्युदण्ड छ । जस्तै भारत नै हो तर त्यहाँ बलात्कार बढेको बढ्यै छ । बलात्कार घटाउने उपायमध्ये नारी सबल बनाउने, शिक्षित बनाउने, सक्रिय बनाउने अनि समाजलाई कर्तव्यमुखी बनाउने, आदर्शमुखी बनाउने, यौन शिक्षा व्यापक बनाउने, कानुन कडाइका साथ पालना गर्ने, भ्रष्टाचार रोक्ने गर्नुपर्छ । हाम्रो देशमा कानुन बलात्कार मुद्दामा कडा नै छ । तर बलात्कार रोकिएन बढ्दो छ । धार्र्मिक संस्था, विद्यालय, अस्पताल, कार्यलयमा पनि असह्य बलात्कारको घटना देखिन्छ । यी घटना स्वेत रङमा मिसिएको अपराध हो । यी अबुझ भएर हैन शिक्षा नपुगेर पनि हैन अपराध भएको । तर शिक्षा, ज्ञानको अभावमा पनि बलात्कार भएका छन् । गरिबी, पुरातन संस्कृतिबाट पनि बलात्कार भएका छन् ।

यसलाई हटाउन मृत्युदण्ड नै उपाय होइन । कडा सजाय मात्र उपाए होइन । जस्तालाई त्यस्तै सजाय गर्ने जङ्गली युगमा फर्केर मात्र उपाय हैन । हाम्रो जस्तो अनुसन्धान फितलो भएको मुलुकमा मृत्युदण्ड अभिशाप पनि हुन सक्छ । न्यायकर्ताले हतपत मृत्युदण्ड तोक्न सजिलो नभएर सफाइतिर जाने डर हुुन्छ । उमेर पुगेका, सहमतिमा समागम भएकाहरूले दिने झुठा मुद्दामा पनि अनुसन्धानको कमीका कारण मृत्यु दण्ड भएमा, त्यो मारिएको व्यक्तिलाई क्षतिपूर्ति गर्न सकिन्छ ? अपराध शास्त्रको सर्वमान्य सिद्धान्त बमोजिम निरपराधीलाई सजाय गर्नु असह्य अपराध हो । यसरी गम्भीर प्रश्न खडा भएको छ । आजकल के भनेको सुनिन्छ भने कसैलाई तारेखमा नछाड्ने गरी थुन्नु परेमा लागू औषध अलिकति हालेर मुद्दा चलाउन अनि थुनामा पर्छ भन्ने कुरा गरिन्छ । किनकि लागूऔषध मुद्दामा प्रायः थुनामा रहन्छ । किनकि कडा कानुन छ, प्रमाण कानुन पनि फौजदारी न्यायको सिद्धान्त विपरीत छ । त्यस्तै बलात्कारमा मृत्यु दण्ड तोकिँदा बलात्कार मुद्दामा यसै गरिए के गर्ने ? बलात्कार मुद्दा दिने प्रपञ्च मिलाउने अनि मृत्युदण्ड दिने । राजनीतिक, इविका मान्छे तथा सत्तासँग लडाइँ गर्ने इमानदारलाई तानाशाहाहरूले  भ्रष्टाचारमा हाल्छन । अनि मृत्यु दण्ड दिन्छन् ।

बलात्कार शब्दले नै के जनाउँछ भने मञ्जुरी बेगर यौनसम्बन्धी क्रिया कसैैले कसैमाथि गर्छ भने त्यो बलात्कार हो । यौनजन्य क्रिया पवित्रताका साथ गर्नुपर्ने संसारको रीत नै हो । यो पवित्र मार्ग पनि हो । तर बलियाले निर्धालाई मञ्जुरी बेगर गरिने यौनजन्य कार्यलाइ अक्षम्य अपराध मानिन्छ । संसारमा नै अति मर्यादित तरिकाले अति पवित्रताका साथ गरिने सहबास वा समागमलाई दुष्टहरूले अपवित्र पारिदिएका छन् । सहवास वा समागम दुवै पक्षको हार्दिकतामा हुन्छ । त्यसमा पनि समाजले केही सर्त बन्देज लगाएको छ । राज्यले कानुन नै बनाएको छ । यी सर्त वा मर्यादामा बसेर समागम हुनु नराम्रो हैन तर अपराधी मनोवृत्ति भएका, दुष्टहरूले यस्तो पवित्र कार्यलाई अपराधमा परिणत गराइदिने गरेका छन् । बलात्कार संसारको कुनै पनि कुनामा अक्षम्य अपराधको कोटिमा पर्दछ । कैयौँ देशमा त यसलाई मृत्यु दण्डको सजाय तोकेको छ भने कैयौँ देशमा आजीवन वा जन्मकैदको रूपमा राखिएको छ । यस प्रसङ्गमा सहमति भनेको के हो ? न्याय निरूपण गर्न यसको प्रयोग बढो सतर्कताका साथ गर्नुपर्छ । नाबालक जसको शारीरिक, मानसिक तथा कानुनी आधारमा समेत यौनबारेमा अञ्जान छ भनेर उसको सहमतिलाई पनि सहमति मानिँदैन । जस्तै शारीरिक, मानसिक अपाङ्ग भएको व्यक्ति जसको सहमतिलाई पनि सहमति मानिन्न, वृद्ध तथा रोगीको सहमतिलाई पनि सहमति मानिन्न । सामूहिक रूपमा वा धेरै जना मिलेर गरिने यौनक्रियालाई पनि सहमति थियो भन्न पाइँदैन । अर्थात नाबालक, मानसिक तथा शारीरिक अपाङ्गता भएको व्यक्ति, उमेरको कारण यौन इच्छा नभएको व्यक्ति वा वृद्धको सहमति भए पनि सहमति मानिँदैन । उपरोक्त व्यक्तिहरूको हकमा बलात्कार प्रमाणित गर्न असजिलो छैन । यसैगरी हाडनाताको कुनै पनि सहमतिलाई सहमति मानिदैन ।

यसकारण उल्लेखित बलात्कार मुद्दाबाहेकमा बढो होसियारपूर्वक  हेरेर बलात्कार हो, हैन यकिन गर्नु पर्ने हुन्छ । यसमा लैगिङ्क दृष्टिले मात्र हेरेर न्याय गर्न मिल्दैन । अक्षम्य रूपको बलात्कार भएको हुनाले सहमतिको बारेमा लिएको जिकिर सामान्यतः स्वीकार्य हुँदैन । माथि उल्लेख गरिएनुुसार नाबालक, वृद्ध, अपाङ्ग, हाडनाता व्यक्तिहरूमा भएको बलात्कार र सामूहिक बलात्कारमा सहमतिको खास अर्थ हुँदैन । यसमा सजाय नै हुन्छ, उन्मुक्ति हुँदैन । कैयौँ कुरा यौन दुराचारमा पर्छ । यौन दुराचार र बलात्कार छुट्याउनु न्यायकर्ता निष्पक्षतामा भर पर्दछ । यौन दुराचार बलात्कार होइन तर यो सामाजिक कलङ्क हो । सामाजिक मर्यादाविरुद्धको कुरा हो । यो संस्कृतिको विरुद्धको कुरा हो । कहिलेकाहीँ यौन दुराचार दण्डनीय पनि हुन्छ । कहिलेकाहीँ नहुन सक्छ । सजाय नभए पनि यो दुराचार समाजको कलङ्क हो । तसर्थ यौन जन्य क्रियाकलाप अनिवार्य दुष्कृति पनि हो । यौन सम्पर्कमा सहमति जाच्ने कसी अलि असजिलो हुन्छ । सहमतीय यौन मित्रता वा बलात्कार यो छुट्याउने कार्य न्यायालयको होे । अनुसन्धानकर्ताको पनि यसमा ठूलो हात हुन्छ । अनुसन्धानको कारणले नै न्यायालय सहमति वा बलात्कारमा अलमलिएको देखिन्छ । सहमति भए पनि माथि उल्लेख गरिएका व्यक्तिहरूमाथिको यौन सम्पर्क वा समागम बलात्कार नै हो । अब सहमति वा बलात्कारको विषयमा अदालत पनि अलमलिएको छ कि उमेर पुगेका धेरै वर्षदेखि यौन सम्पर्कमा रहेका र स्वस्थ्य व्यक्ति बीचको समागमलाई बलात्कारमा सजाय गर्न संवेदनशील तरिकाले हेर्नुपर्छ । हुन त हाम्रो कानुनी व्यवस्था लोग्ने स्वास्नी बीचको यौन सम्पर्क पनि सहमति बेगर भएमा बलात्कार हुन सक्ने व्यवस्था गरिएको छ । यो आवश्यक पनि थियो र छ । तर कडा सजाय गर्ने कुरामा यस विषयमा सतर्कता अपनाउन आवश्यक छ ।

लोग्ने स्वास्नी बीचको आपसी सम्बन्ध र सम्बन्ध विच्छेदको अवस्थामा यो चर्को रूपमा उठन सक्छ । यसैगरी लामो समय यौनसम्पर्कमा रहेका र सँगै यौन सम्पर्कसहित बसेका उमेर पुगेका र स्वस्थ्यहरूको बीचको बलात्कार मुद्दा विचारणीय हुन्छ । यो यौन दुराचार हुन सजिलो छ । सामाजिक राजनीतिक कलङ्क पनि हुन सक्छ तर बलात्कार बारेमा संवेदनशील तरिकाबाट हेरिनुपर्छ । हुनसक्छ त्यो पनि बलात्कार हो किनकि त्यस दिन त्यो ठाउँमा सहमति नहुन सक्छ । त्यसैले त ती मुद्दामा जान्छन् । यस्ता मुद्दा अधिकांश न्यायालयबाट सफाइ पाएका पनि देखिन्छ । लामो समय कानुनी अभ्यास गर्नेहरूबाट यसको धेरै अनुभूति पाउँछन् । माथि उल्लेख गरिएका नारीहरू नाबालक जस्तै हुन यिनमाथि हुने यौनजन्य कार्य सबै बलात्कार वा बलात्कार प्रयास वा उद्योग नै हुन् । बलात्कार उद्योग वा बालयौन दुराचारबाट एक पक्षलाई यौन हिंसा हुन जान्छ । यौनहिंसा पनि अपराध हो । यसकै कारण घरेलु हिंसा हुन जान्छ । यौन हिंसा, घरलु हिंसाका बढीभन्दा बढी नारीमाथि परेको देखिन्छ । अझ खासगरी ग्रामीण नारी, सहरका पनि श्रमिक नारीमा देखिन्छ । निर्दयी र पासविक बलात्कार देखिन्छ । बलात्कारको पनि वर्गीकरण गरेर सजायमा फेर बदल गर्नुपर्ने भएको छ ।

सबै कुरा विश्लेषण गरेर नेपालसहितका दर्जनौँ दर्जन मुलुकले मृत्युदण्डरहित देश बनाउने प्रतिबद्धताअनुसार महासन्धिमा संलग्न भएर संविधानबाट नै मृत्यु दण्ड हटाए । यस्तोमा कसरी बलात्कार अपराध न्यून गर्न वा नियन्त्रण गर्न वा निर्मूल पार्न सकिन्छ ? यो बहसको विषय भएको छ । अब बहस सुरु गरौँ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.