मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

मठ–मन्दिर दर्शनमा रोक लगाएकोमा विश्व हिन्दू परिषद् नेपालको आपत्ति

सोमबार, ०३ कात्तिक २०७७, १२ : ३६
सोमबार, ०३ कात्तिक २०७७

काठमाडौं । सरकारले कोरोना संक्रमण नियन्त्रण गर्ने बहानामा हिन्दूहरुको महान पर्व दसैँमा समेत मठ–मन्दिर दर्शनमा रोक लगाएको भन्दै विश्व हिन्दू परिषद् नेपालले आपत्ति जनाएको छ ।
परिषदका महासचिव जितेन्द्र कुमार सिंहले सोमबार विज्ञप्ति जारी गर्दै दलहरुले पार्टी प्रवेश कार्यक्रम आयोजना गर्न हुने तर धार्मिक आस्था राख्नेले मन्दिर दर्शन गर्न जान नहुने अवस्था आफैमा अनौठो देखिएको टिप्पणी गरेका छन् ।

उनले प्रश्न गरेका छन्, ‘पार्टी प्रवेश, शुभकामना आदान–प्रदान एवं भवन लोकार्पण कार्यक्रमको नाममा मन्त्रीसहितको उपस्थितिमा हजारौको भीड एकत्रित गर्दा कोरोना संक्रमण नहुने तर हिन्दूहरुको पर्वमा मात्र संक्रमण हुने ?’
नेशनल मेडिकल कलेजको उद्घाटनका क्रममा प्रमुख जिल्ला अधिकारी तथा सेनासमेतको उपस्थितिमा हजारौंको भिड एकत्रित गरी सरकारद्वारा स्वयं नियमको धज्जी उडाउनु गम्भीर विषय भएको उनको भनाइ छ । त्यस्तै भन्सार, कर तथा यातायात कार्यालयमा सयौँको भीड नियन्त्रण गर्न कुनै नियम कार्यान्वयन गरिनु सरकारको चरित्रमाथि प्रश्नचिन्ह खडा गरेको उनले जनाएका छन् ।

‘राजनैतिक लाभका लागि सरकारद्वारा एक बिशेष समुहलाई भीड–भाडका साथ सभा सम्मेलन गर्न छुट दिईनु र बहुसंख्यक हिन्दू समुदायको आस्थालाई बेवास्ता गर्दै मन्दिर दर्शनमा निषेधाज्ञा जारी गरिनु दुर्भाग्यपूर्ण एवं निन्दनीय रहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सरकारले प्रदर्शन गरेको यस प्रकारको गैर–जिम्मेवारीपूर्ण दोहोरो मापदण्डले बहुसंख्यक हिन्दू समुदायको मन–मस्तिष्कमा चोट पु¥याएको छ ।’
सरकारको यस्तै रवैया रहेमा सरकारविरुद्ध विश्व हिन्दू परिषद नेपाल  सडकमा उत्रन बाध्य हुने चेतावनी पनि उनले दिएका छन् ।

हिन्दुहरुको आस्थालाई ख्याल गर्दै निश्चित स्वास्थ्य सुरक्षा सम्बन्धी प्रोटोकल बनाएर देशैभर मठ–मन्दिरहरुमा नियमित दर्शन खुला गर्न एवं आउदै गरेको दिपावली तथा छठ पर्वको सहजताका लागि आवश्यक व्यवस्था मिलाउन सरकारसमक्ष परिषदले आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप