शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

दशैँमा शिक्षक–विद्यार्थीलाई ‘कोरोना–चेतना’को जिम्मेवारी

सोमबार, ०३ कात्तिक २०७७, ०७ : ४६
सोमबार, ०३ कात्तिक २०७७

घर–समुदायमा कोरोना भाइरस र स्वास्थ्य–सुरक्षाबारे जनचेतना फैलाउनुपर्ने सर्तसहित काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाले शिक्षक–विद्यार्थीलाई दशैँ बिदा दिएको छ । नगरले गत बिहीबार उक्त सर्तसहित कात्तिक २ देखि १५ गतेसम्म विद्यालयमा बिदा दिने निर्णय गरेको थियो ।

दशैँमा समुदायमा धेरै व्यक्तिको आउजाउ हुने भएकाले स्वास्थ्य सुरक्षाबारे जनचेतना फैलाउन सहज हुने ठानेर विद्यार्थी–शिक्षकलाई निर्देशन दिइएको नगरप्रमुख महेश खरेलले बताए । “दशैँका अवसरमा १५ दिनको बिदामा शिक्षक–विद्यार्थीले आफ्नो घर तथा व्यक्तिगत सरसफाइ, समुदायस्तरमा जनचेतनामूलक कार्यक्रम र समूहमा भेटघाट नगर्ने वातावरण बनाउन सहजीकरण गर्ने अपेक्षा गरेका छौँ”, उनले भने।

उक्त अवधिमा विद्यार्थीले कोरोनाबाट बच्नका लागि खोल्नुपर्ने भूमिकाबारे सचेत गराउनेछन् भने शिक्षकले विद्यार्थीको निगरानी गर्ने नगर शिक्षा शाखाले जनाएको छ । शाखाप्रमुख दीनानाथ पन्थीले दिन प्रतिदिन कोरोना भाइरस सङ्क्रमण बढ्दै गएकाले दशैँको बिदा अवधिमा नगरका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थी–शिक्षकले आफ्नो घर र समुदायमा जनचेतना फैलाउन निर्देशन दिइएको बताए ।

कोरोना भाइरसको जोखिम बढ्दै गएपछि गत वैशाखदेखि बन्द विद्यालयमा नगरले नै शिक्षक–विद्यार्थीलाई स्वास्थ्य सामग्री उपलब्ध गराई असोज ४ गतेदेखि स्वास्थ्य–सुरक्षा अपनाई प्रत्यक्ष विधिबाट विद्यालय सञ्चालनमा ल्याइएको थियो । नगरमा ५० सामुदायिक र निजी विद्यालय छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप